काठमाडौ- ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फर्स्यौटमा उल्लेख्य सुधार गरेको छ। गत आर्थिक बर्षमा मन्त्रालयले ९७.७९ प्रतिशत बेरुजु फर्स्यौट गरेको हो।
सोमबार बसेको मन्त्रालयको तेस्रो चौमासिक एवं वार्षिक समीक्षा तथा मन्त्रालयतस्तरीय विकास समस्या समाधान समिति बैठकमा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ऊर्जातर्फ ९९.९९ प्रतशित र जलस्रोत तथा सिंचाईतर्फ ९५.५९ प्रतिशत बेरुजु फर्स्यौट भएको हो ।
ऊर्जातर्फ १ अर्ब ३९ करोड ८२ लाख ८ हजार ५२० रुपैयाँ बेरुजु रहेकामा १ अर्ब ३९ करोड ८० लाख ७ हजार ४७० रुपैयाँ बराबरको बेरुजु फर्स्यौट भएको छ ।
यस्तै जलस्रोत तथा सिंचाइ मन्त्रालयको ९९ लाख ६६ हजार ३७० बेरुजु रहेकामा ९५ लाख २७ हजार ३ सय रुपैयाँको बेरुजु फर्स्यौट भएको छ।
यो दुवै मन्त्रालयअन्तर्गतका विभागीय संरचना बाहेकको तथ्याङ्क रहेको मन्त्रालयले जनाएको छ।
विभिन्न मन्त्रालयको सुशासनको अवस्था मापन गर्नका लागि बेरुजु फर्स्यौट महत्वपूर्ण आधार भएको उर्जा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको वार्षिक प्रगति
ऊर्जा मन्त्रालयको तेस्रो चौमासिकमा वित्तीय प्रगति ७३.२६ प्रतिशत र भौतिक प्रगति ७५।३ प्रतिशत छ। यस्तै जलस्रोत तथा सिंचाई मन्त्रालयतर्फ सोही अवधिमा भौतिक प्रगति ७१.७९ प्रतिशत र वित्तीय प्रगति ७१.६७ प्रतिशत छ।
गत आर्थिक वर्ष ऊर्जातर्फको कुल बजेट ७५ अर्ब ५३ करोड ४० लाख थियो ।
जसमध्ये ४६ अर्ब ३९ करोड ५२ लाख खर्च भएको छ। जलस्रोत तथा सिंचाइतर्फ २४ अर्ब ७८ करोड ७५ लाख बजेटमा १४ अर्ब ५ करोड ४० लाख खर्च भएको छ ।
यसरी हेर्दा ऊर्जातर्फ वार्षिक प्रगति ६१.४२ प्रतिशत र भौतिकतर्फ ७८.३६ प्रतिशत प्रगति भएको देखिन्छ । जलस्रोत तथा सिंचाइतर्फ वार्षिक प्रगति वित्तीयतर्फ ५६.७० प्रतिशत र भौतिकतर्फ ७२.३० प्रतिशत छ।
भौतिक प्रगति ८० प्रतिशत गर्ने आयोजनाको संख्या ८ र ५० प्रतशितभन्दा बढी प्रगति गर्ने आयोजनाको संख्या ११ छ ।
यस्तै जलश्रोत तथा सिंचाइतर्फ भौतिक प्रगति ८० प्रतिशत गर्ने आयोजना संख्या १६ र ५० प्रतिशत प्रगति गर्ने आयोजनाको संख्या १३ छ । कूल ३३ मध्ये ४ वटा आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम छ ।
थप ५,५५९ हेक्टरमा सिंचाइ
गत आर्थिक वर्षमा थप ५ हजार ५५९ हेक्टर जमिनमा सतह सिंचाइमार्फत सिंचाई सुविधा पुगेको छ। योसँगै सतह सिंचाइ हुने कुल जमिनको क्षेत्रफल ९ लाख ९६ हजार ९१७ हेक्टर पुगेको छ ।
यस्तै विभन्नि ठूला नदीमा ९१ किलोमिटर लामो तटबन्ध निर्माण गरिएको छ । तटबन्धसँगै बाढीका कारण बगरमा परिणत भएको ४०९ हेक्टर जमिन जग्गा उकासमार्फत खेतीयोग्य बनाइएको छ।