काठमाडौं- तानातानमा परेका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई फकाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गौतम निवास भैसेपाटी पुगेका छन् ।
पछिल्लो पटक अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली निकट देखिएका गौतमलाई भेट्न केहीबेरअघि दाहाल उनको निवास पुगेको स्रोतले जानकारी दिएको छ।
पार्टीभित्र देखिएको विवाद जारी रहेकै बेला दाहालले गौतमसँग छलफल गर्न लागेको बुझिएको छ। दाहालसँगै अन्य को–को नेताहरु छन् भन्ने खुलेको छैन।
१३ साउनमा गौतमले पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवै अध्यक्षलाई ६ बुँदे प्रस्ताव पेश गरेका थिए। गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष नै रहने र प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्रीमा नै रहने प्रस्ताव गरेका थिए।
उनले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पूर्ण कार्यकारी अधिकारसहितको भूमिका दिइनुपर्ने प्रस्ताव अघि सारेका थिए। गौतमको ६ बुँदे प्रस्तावले पनि दाहाल–नेपाल समूहभित्र हलचल ल्याएको छ।
गौतमले उक्त प्रस्ताव अघि सारेकै दिन प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपीशर्मा ओली बेलुका भैसेपाटी पुगेर गौतमसँग भेट गरेका थिए।