बुधबार, कात्तिक १२, २०७७

Happy Dashain
विशेष स्वास्थ्य/जीवनशैली
1600352611patan_hospital.jpg

काठमाडौं– मैतीदेवी बस्दै आएकी निर्मला पुरीको सातमहिने छोरालाई तीन साताअघि ज्वरोसँगै झाडापखाला लाग्यो। उनले छोरोलाई तीन दिनसम्म घरमै हेरचाह गरिन्। अस्पताल गइनन्। बालक मलीन हुँदै गएपछि आफन्तको सहयोगमा बालरोग विशेषज्ञलाई फोन गरेर जानकारी गराइन्।

‘डाक्टरले भनेअनुसारको परीक्षण रिपोर्ट उनलाई भाइबरबाटै पठायौं,’ उनले भनिन्, ‘इन्फेक्सन रै’छ। डाक्टरले औषधिको नाम पठाइदिनुभयो। त्यो खुवाएपछि सन्चो भयो।’

कैलालीको चुरे गाउँपालिकाकी पुरी अस्पताल नजानुको एउटै कारण थियो– ज्वरो आएको बच्चालाई अस्पतालले हेर्नै मान्दैनन्। हेरिदिए पनि अस्पतालबाट कोरोना सर्ने हो कि भन्ने डर!

कोरोना महामारीको त्रासले निर्मलाजस्ता हजारौं पात्रलाई अस्पताल जानबाट रोकेको छ। कतिपय अस्पताल पुगेकाले पनि उपचार पाएका छैनन्।

‘अस्पतालले बिरामीबाट र बिरामीले अस्पतालबाट कोरोना सर्छ कि’ भन्ने त्रासकै कारण कतिपय बिरामीको ज्यान गएको छ। कतिपयले रोग च्यापेरै बसेका छन्।

गत चैत ११ यताको तथ्यांक हेर्ने हो भने यस अवधिमा देशभर ८५ जना सुत्केरी तथा गर्भवतीको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक भीमसिंह तिंकरीका अनुसार त्यसमध्ये १८ प्रतिशतले अस्पताल पुग्नै नपाएर ज्यान गुमाएका छन्।

अस्पताल पुग्न खोज्नेलाई पनि एउटा अस्पतालले अर्कोमा, अर्कोले अर्कोमा रेफर गरिरहँदा बिरामीको उपचार नै नपाई मृत्यु भएको तिंकरी बताउँछन्।

कतिपय बिरामी भने दुर्गम क्षेत्र, पहाडी र हिमाली जिल्लाबाट समयमै अस्पताल आउने साधन नपाउँदा पनि ज्यान गुमाउन बाध्य भएको उनले बताए।

महाशाखाको तथ्यांक हेर्ने हो भने ज्यान गुमाउने गर्भवती, सुत्केरीमध्ये सात जनाले घरमै, ११ जनाले अस्पताल धाउँदाधाउँदै ज्यान गुमाएका छन्।

मृत्यु भएकामध्ये नौ जनामा कोरोना भाइरस संंक्रमण पुष्टि भएको थियो। जसलाई कारोनाको शंकामा एकबाट अर्को अस्पताल रेफर गर्दागर्दै ज्यान गएको थियो।

अस्पतालले उपचार नगरिदिने ‘सन्देश’, अस्पतालबाट ‘रोग सर्छ’ भन्ने त्रास, आकस्मिक र अत्यावश्यकीय सेवाको उचित प्रबन्ध र यातायातको व्यवस्था नहुनुले पनि उपचारका लागि अस्पताल जाने मानिसको संख्या घटेको हो।

सरकारको निर्णयले झन् त्रास

सरकारले प्रत्येक अस्पतालमा कोरोना उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने निर्णय ग¥यो। त्यसपछि त मानिसहरू अस्पतालको गेट छिर्नै डराउन थालेको बताउँछन् चितवन मेडिकल कलेजका मिर्गाैला रोग विशेषज्ञ डा.अरुण सेढाईं। उनले भने, ‘कोरोना संक्रमित पनि उपचारका लागि आउँछन् भनेर सामान्य बिरामी अस्पतालको गेटभित्र छिर्न डराउन थालेका छन्।

यही डरले होला चितवन मेडिकल कलेजमा मिर्गाैलासम्बन्धी समस्या लिएर पुग्ने बिरामीको संख्यामा कमी आएको छ। ‘सामान्य अवस्थामा दैनिक ३० जनासम्म मिर्गाैलासम्बन्धी बिरामी आइपुग्थे,’ उनले भने, ‘चैतयता दैनिक छ–सातजना बिरामी मात्रै अस्पताल आएका छन्।’

बिरामीहरू सकेसम्म घरमै निको हुन्छ भन्ने मानसिकतामा हुने गरेको र जेनतेन औषधिले निको बनाउन खोज्नेको संख्या बढेको पाइएको डा. सेढाईंले जानकारी दिए।

चैतपछि करिब अढाइ महिना अस्पतालका ओपीडी बन्द पनि भए। त्यति बेला आफूहरूले अनलाइनबाट परामर्श दिएको डा. सेढाईंको दाबी छ।

लकडाउन हुनुअघि त्रिवि शिक्षण अस्पतालमा दैनिक करिब दुई हजार ८०० बिरामी सेवा लिन आउँथे। अचेल दैनिक २०० देखि २५० जना मात्रै नयाँ बिरामी उपचारका लागि पुग्ने गरेको अस्पतालको तथ्यांक छ।

‘यो मौसममा त एक महिनामा कम्तीमा ८४ हजार नयाँ बिरामी आउँथे,’ प्रशासनका एक कर्मचारीले भने, ‘कोरोनापछि महिनामा १० हजार पुग्न पनि मुस्किल छ।’

यो अस्पतालमा कोरोनाका बिरामीको उपचार पनि हुन्छ भन्ने थाहा पाएपछि अन्य बिरामी गेटसम्म आउन पनि डराउने गरेको पाइएको अस्पताल प्रशासनले जनाएको छ।

गंगालालमा पनि घटे बिरामी

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना महामारीयता बिरामीको चाप घटेको छ। मुटुरोगको उपचार हुने काठमाडौं बाँसबारीस्थित केन्द्रमा कोरोना महामारीअघि मासिक ८५ हजारसम्म नयाँ बिरामी उपचारका लागि पुग्ने गरेको अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारी बताउँछन्।

पछिल्ला दिनमा यो संख्या करिब १० हजारमा सीमित छ। दैनिक ओपीडीमा आउने सात सय बिरामीको संख्या कोरोना संक्रमणको महामारीपछि घटेर एक सय हाराहारीमा झरेको डा. अधिकारीले बताए। यद्यपि आकस्मिक सेवाका लागि अस्पताल पुग्ने बिरामीको संख्यामा भने कमी नआएको उनको भनाइ छ। रोग च्यापरेर घरमै बस्दा सामान्य बिरामीलाई पनि दीर्घकालीन असर हुने निर्देशक डा. अधिकारी बताउँछन्।

‘नियमित औषधि सेवन गर्ने वा दीर्घरोगीले क्लिनिकल परीक्षण नगरेर औषधि खानु राम्रो हुन्न,’ उनले भने, ‘कतिपय औषधि फेरबदल गर्नुपर्ने हुन्छ। फलोअपका लागि अस्पताल पुग्नुपर्छ। त्यसो नगरे केही समयपछि ठूलो समस्या देखिन सक्छ।’

स्वास्थ्य मन्त्रालयको सर्वेक्षणअनुसार करिब २६ लाख नेपाली कुनै न कुनै किसिमको मुटुको समस्याबाट पीडित छन्। त्यस्तै ७५ लाख नेपाली उच्च रक्तचापको समस्याबाट ग्रसित छन्।

क्यान्सर अस्पतालमा पनि घटे

भरतपुर क्यान्सर अस्पतालमा बिरामीको चाप निकै घटेको अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर शर्मा बताउँछन्। ‘नियमित फलोअपका लागि आउने बिरामीको संख्यामा पनि कमी आएको छ,’ डा. शर्मा भन्छन्, ‘सुरुमा बिरामी आउने क्रम ठप्पैजस्तो थियो, अहिले भने केही बढेको छ।’

क्यान्सर भइसकेपछि निको हुन गाह्रो हुन्छ। निको हुन पनि लामो समय लाग्छ। यो जटिल प्रकृतिको रोग भएकाले उपचारमा जति ढिलो भयो ज्यानमा उति नै खतरा हुने उनको भनाइ छ।

यातायात असुविधा हुँदा पुराना बिरामी एम्बुलेन्स र अन्य सवारीसाधन रिजर्भ गरेर आउने गरेको उनले बताए। उनी भन्छन्, ‘नयाँ बिरामीको संख्या भने कम भएको छ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा एक लाख क्यान्सरका बिरामी छन्। प्रत्येक वर्ष २६ हजार थपिने गरेका छन् भने करिब १९ हजारको क्यान्सरबाट निको हुने गरेको छ। तर कोरोनाका कारण क्यान्सर रोगको स्क्रिनिङमा समस्या भएको छ।

प्रसूतिमा ठिकठिकै

गाउँगाउँका गर्भवती अस्पताल पुग्न सकिरहेका छैनन्। अस्पताल पुगेकालाई पनि कतिपय अस्पतालले भर्ना लिन नमानेको समाचार आइरहेका छन्।थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भने बिरामीको चाप खासै नघटेको अस्पतालले जनाएको छ।

प्रसूति सेवाका लागि बिरामी आइरहेको अस्पतालकी निर्देशक डा. संगीता मिश्राले बताइन्। यद्यपि यहाँ पनि लकडाउनपछि करिब १० प्रतिशत नयाँ बिरामी आउन नसकेको उनको भनाइ छ। ‘चैतअघिसम्म मासिक १५ हजारको संख्यामा ओपीडीमा सेवाग्राही आउने गर्थे,’ निर्देशक डा. मिश्राले भनिन्, ‘त्यो संख्या अहिले १० हजार हाराहारीमा छ।’

कहाँ छन् बिरामी ?

देशभर सरकारी र निजी गरेर करिब चार हजार ४८५ स्वास्थ्य संस्था छन्। यी संस्थामा ६ महिनाअघिसम्म बिरामीले पालो पाउन लाइन बस्नैपर्ने अवस्था थियो। ती बिरामी किन घटे? मान्छे बिरामी नै भएनन् वा भएर पनि कुन अवस्थामा होलान्? यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै अध्ययन गरेको छैन।

दीर्घरोगीलाई झन् गाह्रो

मन्त्रालयकोे विपन्न औषधि उपचार कार्यक्रमअन्तर्गत २०७६/७७ मा ५४ हजार ८८५ जना दीर्घरोगीले सुविधा लिएका छन्। अहिले उनीहरूले सेवा लिए/नलिएको तथ्यांक मन्त्रालयमा छैन।

अत्यावश्यकबाहेक अन्य सेवा लिन बिरामी अस्पताल पुगेका छैनन्। दीर्घरोगी पनि घरमै बस्न बाध्य भएका छन्। मुटु, मधुमेह, उच्च रक्तचाप, मिर्गाैलाका बिरामी अस्पताल पुग्न नसक्दा उनीहरू थप समस्यामा हुने चिकित्सक बताउँछन्।

स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली शाखाका अनुसार देशमा मिर्गौलाको समस्या भएका ६ हजार ४४७, क्यान्सरका ३४ हजार ६६७, मुटुरोगका पाँच हजार ७६१ बिरामीले सुविधा लिइरहेका थिए। हेड इन्जुरी, स्पाइनल इन्जुरी, पार्किन्सन्स, अल्जाइमर्स र सिकलसेल एनिमियाका ६ हजार ९८० जनाले सुविधा पाएका छन्।

नेपालमा हाल सामान्य र जटिल प्रकृतिका करिब ३० लाख मिर्गाैला रोगी छन्। त्यसमध्ये पाँच हजार नियमित डाइलाइसिस गरिरहेका छन्। महामारी संक्रमणबाट बच्न उनीहरू ‘अन्य उपचार पछि गरौंला’ भन्ने मनस्थितिमा हुन सक्छन्।

‘उपचारमा आउनैपर्नेलाई औषधि र परामर्शले मात्रै हुँदैन। उनीहरूलाई परीक्षण र उपचार आवश्यक हुन्छ’, डा. सेढाईंले भने, ‘मुटु, मिर्गाैला, कलेजोलगायत रोगका बिरामीले नियमित औषधि सेवन गरेर मात्र हुँदैन। क्लिनिकल जाँच गरेर औषधिको मात्रा पनि मिलाउनुपर्ने हुन्छ। त्यसो नगर्दा पछि थप समस्या हुन सक्छ।’

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी पनि शल्यक्रिया गरेका, मुटुसम्बन्धी अन्य समस्या भएका बिरामी डाक्टरले तोकेको समयमा फलोअपका लागि अस्पताल आउनैपर्ने बताउँछन्। ‘शल्यक्रिया गरेका, उच्च रक्तचापको औषधि लिइहरहेका बिरामीको रक्तचाप मापन गरेर औषधि फेरबदल गर्नुपर्ने हुन सक्छ,’ अधिकारीले भने, ‘तर त्यस्ता बिरामी आउन सकेका छैनन्। यसले समस्या थप जटिल बन्न सक्छ।’

नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन्। फोक्सोका सबैभन्दा बढी २३ प्रतिशत छन्। यस्तै, पाठेघर मुखको क्यान्सरका १७, स्तन क्यान्सरका १५, पेटको क्यान्सरका १०, घाँटी, अण्डाशय तथा मूत्रथैलीको क्यान्सरका सातसात, पित्ताशय तथा कलेजोका पाँचपाँच र मलाशयको क्यान्सरका चार प्रतिशत बिरामी छन्।

प्रतिक्रिया दिनुहोस्