काठमाडौं- डडेलधुरा अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।
डोटीको शिखर नगरपालिका–१०, गगनानस्थित सेती नदीमा नुहाउने क्रममा नदीले बगाएर उनीहरु बेपत्ता भएका हुन्। प्रहरीका अनुसार अस्पतालका चार स्वास्थ्यकर्मीहरू शनिबार शैलेश्वरी दर्शन गर्न गएको र फर्कने समयमा सेतीमा नुहाउँदा तीन जनालाई बगाएको थियो।
डडेलधुराको परशुराम नगरपालिका घर भएका हरि जोशी र बझाङ स्थायी घर भएका विनय सिंह बेपता भएका छन् भने एकजनाको उद्धार गरिएको छ।
उनीहरुसँगै नुहाउने क्रममा बगेका खगेन्द्रको प्रेमबहादुर ठगुन्नाले उद्धार गरेको प्रहरीले जनाएको छ। बेपत्ता दुई जनाको प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।
चारैजना डडेलधुरा अस्पतालका कर्मचारी रहेको र अस्पतालको एम्बुलेन्स घटनास्थलतर्फ गएको अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए।