काठमाडौं- नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुने बताएका छन् ।
शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरुको भविष्य नभएको तर्क गरे ।
उनले एमालेको चरित्र विभाजन र विखण्डन नभई एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताए । विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने उनले बताए । ‘अहिले देखा परेको नकारात्मक धारमा कोको नेता गए, त्यो छोडिदिनुस् । विभाजनको त्यो धार समाप्त हुनेछ । त्यसको भविष्य छैन । विभाजित भएर जानेहरु, चोइटिएर जानेहरु रहने छैनन्,’ उनले भने।
सोही कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले निजामती सेवामा भ्रष्टाचार मौलाएको भन्दै निजामती सेवाभित्र शुद्धिकरण आवश्यक रहेको बताए ।