शुक्रबार, कात्तिक १४, २०७७

Happy Dashain
विचार

सुदृढ कांग्रेसका लागि आगामी महाधिवेशनमा गर्नैपर्ने संकल्प

1599476964nirp_article_.jpg

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय नेतृत्वको विषयमा बढी बहस भइरहेको छ। मुलुक, कार्यकर्ता र आमजनताको आशा–भरोसा हुने भएकाले केन्द्रीय नेतृत्वका विषयमा बहस हुनु स्वाभाविकै हो। यसबारे आम सरोकारवालाले लेखेर, बोलेर अभिमत प्रकट गरिरहेकै छन्।

यो सँगसँगै तल्लो तहको संगठनको सुदृढीकरणका बारेमा पनि छलफल हुनु आवश्यक छ। कांग्रेस विधानले व्यवस्था गरेको बुथ, वडा, क्षेत्र, जिल्ला र प्रदेशस्तरीय संगठन बलियो नभई नेतृत्व सुदृढ हुन सक्दैन। त्यसैगरी अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने बारेमा तल्लो तहदेखि नै गम्भीर हुनुपर्छ।

महाधिवेशनको आधार तयार गर्न अहिले क्रियाशील सदस्यता वितरण र नवीकरणको प्रारम्भिक कार्य अगाडि बढेको छ।

विधानतः प्रत्येक वर्ष क्रियाशील सदस्यले आफ्नो सदस्यता नवीकरण गर्ने र एक वर्षअगाडि साधारण सदस्यता लिएको व्यक्तिले नयाँ क्रियाशील सदस्यता लिने कुरामा चनाखो हुनुपर्नेछ। यसका लागि तत्लो तहमा जो कांग्रेसमाथि आस्था राख्दछन् तिनलाई स्वस्फूर्त क्रियाशील सदस्यता लिनका लागि उत्प्रेरित गर्न जरुरी छ।

हिजो कांग्रेसका प्रमुख एजेन्डा निरंकुशताविरुद्ध लड्ने, राणा शाासन, पञ्चायती व्यवस्था, राजतन्त्र अन्त्य गर्ने र नागरिक तथा राजनीतिक अधिकार स्थापना गर्ने थिए। आज एजेन्डा परिवर्तन भएका छन्। आमनागरिकको चेतना, आवश्यकता र आकांक्षा फेरिएका छन्।

परम्परागत शैली र व्यवहारले बदलिँदो परिवेशमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सम्भव छैन। व्यक्ति चयनले मात्रै पुग्दैन– उसको चरित्र, पार्टीप्रतिको निष्ठा, संगठन र कांग्रेससँग फाटेका मन जोड्ने, जनसवालमा सक्रिय भई निर्वाचनमा मत पनि जाड्ने दृढ संकल्पसहितको नेतृत्व चयन गरिनुपर्दछ। जसका लागि निम्न पक्षहरुमा विशेष बहस आवश्यक छ।

क्रियाशील सदस्य र शुभेच्छुक संघसंस्थाको रेकर्ड अध्यावधि गर्ने

विधानमा क्रियाशील सदस्यता प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ। तर, निर्वाचनमा मात्रै नवीकरण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ। क्रियाशीलताको रेकर्ड अध्यावधि गरी आगामी कार्ययोजना माग गर्ने परिपाटी आवश्यक छ। साथै शुभेच्छुक संघसंस्थाका नेतृत्व, त्यसमा आबद्ध भएकाहरुको विवरण अद्यावधिक गरिनुपर्छ।

निर्वाचनमा उम्मेदवार नहुने संकल्प 

पार्टीमा केहीलाई ‘लाभै लाभ र केहीलाई विलापै विलाप’ को अवस्था छ। यसर्थ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बुथ, वडा, प्रदेश, संघीय, क्षेत्रीय, जिल्ला र प्रदेश तहका कार्यसमितिमा बस्ने पदाधिकारी र सभापतिले आगामी पाँच वर्षसम्म कुनै पनि लाभको पदमा नबस्ने र कुनै पनि निर्वाचनमा उम्मेदवार नहुने संकल्पसहित सार्वजनिक घोषणा गर्नुपर्छ।

दुई वा तीन पटक उम्मेदवार भई जितेका वा हारेका व्यक्तिले आगामी कुनै पनि निर्वाचनमा प्रत्यक्ष रुपमा चुनाव नलड्ने सार्वजनिक घोषणा गर्नुपर्दछ। त्यस्तै एक पटक समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गरिसकेका नेताले सके प्रत्यक्षमा चुनाव लड्ने नभए पार्टीका लागि बाँकी समय संगठन निर्माणमा लाग्ने घोषणा गर्नुपर्दछ।

क्षमता पहिचान गरी जिम्मेवारी 

कांग्रेसमा गुट र नेतामुखी सीमित मान्छेले मात्र अवसर पाउने अवस्था छ। यसर्थ विशाल सदस्यहरुको समूहमा रहेका नेताकार्यकर्ताको क्षमता पहिचान गरी भूमिकासहितको जिम्मेवारी दिने र प्रत्येक वर्ष आमसदस्यका बीचमा समीक्षा गरी निरन्तरता दिने वा फिर्ता बोलाउने वा क्षमता वृद्धि गरी कार्यमा प्रभावकारिता ल्याउने रणनीति अख्तियार गर्न जरुरी छ।

पाँच वर्षको क्यालेन्डरसहित नेतृत्व 

कांग्रेस महाधिवेशनबाट पाँचवर्षे कार्यकालमा गरिने कार्यहरुको वार्षिक क्यालेन्डरका आधारमा नेतृत्व चयन गर्नुपर्छ। प्रत्येक वर्ष संगठनको तहगत रुपमा संलग्न पार्टीका सदस्यहरुबीच छलफल गरी संगठन सुदृढीकरण मार्गदर्शनसहितको परिपाटी निर्माण गरिनुपर्दछ।

चार वर्ष पूरा हुनेबित्तिकै आमागी नेतृत्वका लागि मार्गप्रशस्त गर्न अधिवेशनका प्राविधिक कार्य अगाडि बढाउने सुनिश्चितता खोजिनुपर्दछ।

मध्यस्थता र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने नेतृत्व 

पार्टीमा गुटगत, स्वार्थगत र अन्य ससाना कुरामा कार्यकर्ता र नेतृत्व तहमा बेमेल छ। महाधिवेशनमा यस्ता क्रियाकलाप देखिनु कतिपयले स्वाभाविक मान्दछन् तर यसको प्रभाव लामो समयसम्म रहनु राम्रो होइन। विगतमा भएका स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा विभिन्न कारणले नेता कार्यकर्ताबीच मतभेद देखियो।

फेरि त्यस्ता मतभेद नदेखिने र देखिहालेमा तिनको सही व्यवस्थापन, निराकरण र संगठनमा गतिशीलता प्रदान गर्ने अठोटसहितको नेतृत्व महाधिवेशनले चयन गर्नु पर्दछ।

नयाँ आशा र उत्साह सञ्चार गर्ने नेतृत्व 

विगत निर्वाचनमा पराजित पार्टीलाई जनतासँग ‘रिकनेक्ट’ गरी आगामी स्थानीय र आमनिर्वाचनमा जाने योजना र कार्यक्रमसहितको नेतृत्व छान्न १४ औं महाधिवेशन सुनौलो अवसर हो।

कैयन् चुनौतीका बावजुद पनि बीपी कोइराला कुनै न कुनै माध्यमबाट निरन्तर रुपमा जनतासँग सम्पर्कमा रहन्थे। फलस्वरुप राणाशासनको अन्त्य गरी २०१५ सालमा पार्टीको दुई तिहाइको सरकार निर्माण भयो। पार्टी संरचनामा सबै वर्ग, जात र भुगोलको प्रतिनिधित्व सम्भव भयो। मन्त्रिमण्डल पनि त्यहीअनुरुप बन्यो।

गणेशमान सिहले कांग्रेसको मात्र नभई बृहत एकताको माध्यमबाट पञ्चायती व्यवस्थाको अन्त्यमा भूमिका खेले। किसुनजीले २०४७ सालको संविधान छोटै समयमा दिन नेतृत्व गरे।

जसरी हिंसाको राजनीतिसहित बन्दुक बोकेको माओवादी र प्रजातन्त्रका लागि खतराको रुपमा रहेको निरंकुश राजतन्त्र अन्त्यका लागि गिरिजाप्रसाद कोइरालाले तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीसमेतको नेतृत्व गरी गणतन्त्रको बाटोसम्म ल्याए। सुशील कोइरालाको नेतृत्वमा कांग्रेसले संविधान दियो।

कांग्रेसले कहिले निर्वाचन हार्यो र कहिले जित्यो पनि। तर आमजनताको आशालाई निराशामा परिणत हुन दिएन। इतिहासले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्यो। यसर्थ पार्टीभित्र निर्वाचन जित्ने जोडघटाउभन्दा माथि उठेर अबको महाधिवेशनमार्फत फेरि एकपटक जनतामा पार्टीलाई रिकनेक्ट हुने गरी स्थानीयदेखि केन्द्रीय तहसम्मको नेतृत्व चयन गरिनुपर्छ।

सहमतिमा नेतृत्व चयन

कोभिड-१९ का कारण नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिकामा केही परिवर्तन हुने निश्चित छ। तर, संविधानतः राजनीतिक दलको वैधताको बाध्यात्मक अवस्था पनि सन्निकट छ।

केन्द्रमा पहिलो पुस्ताका नेताहरुले अभिभावकत्व ग्रहण गरी सहमतिमै नेतृत्व हस्तान्तरण गर्ने र स्थानीय तहमा पनि पार्टीका सबै नेतृत्व चयन प्रक्रिया सहमतिमै गर्ने अवस्था बनाएमा आगामी स्थानीय तहको निर्वाचन पार्टीका पक्षमा पार्न र कार्यकर्तामा एकता कायम गर्न सहज हुनेछ।

अन्तमा, अहिलेको बेथिति, लामो संघर्षपछि स्थापित व्यवस्थामाथि नागरिकको मोह भंग हुने भय र कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरिरहेको अवस्थाबाट मुक्तिका लागि पनि कांग्रेस बैचारिक रुपमा गतिशील र सांगठनिक रुपमा सबल हुन जरुरी छ।

त्यसका लागि आमकार्यकर्ताले मात्रै नभई जनताले पनि पत्याउने र भरोसा गर्ने नीति र नेतृत्व स्थापित गर्न महाधिवेशनको उपयोग गर्न सक्नुपर्दछ। जनतासँग घनिष्ट सम्बन्ध पुनस्र्थापित गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कांग्रेसको छवि थप उँचो बनाउन पनि स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्म आमूल परिवर्तन र रुपान्तरण आवश्यक छ। यसमा आमनेता तथा कार्यकर्ता सजग हुनैपर्छ।

(लेखक तरुण दलका निवर्तमान केन्द्रीय सदस्य हुन्)

 

प्रतिक्रिया दिनुहोस्