एजेन्सी- बेलायतको बर्मिंघम सिटी सेन्टरमा थुप्रै मानिसहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार भएको छ। घटनामा थुप्रै मानिसहरु घाइते भएको अनुमान गरिएको छ।
प्रहरीले यो घटनालाई ‘ठूलो घटना’ का रुपमा विश्लेषण गरेर अनुसन्धान थालेको छ। त्यहाँको प्रहरीले घटनालाई ‘ठूलो घटना’ को संज्ञा दिनुको अर्थ यसले ठूलो क्षति पुर्याएको बुझिन्छ।
वेस्ट मिडल्याण्ड प्रहरीले आइतबार मध्यरातमा उक्त घटना भएको जनाएको छ।
प्रहरीले घटनाबारे विस्तृत अध्ययन भइनसकेको जनाएको छ।
वेस्ट मिडल्याण्ड प्रहरीले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे छानबिन भइरहेको र घटना ठूलो र दुःखद रहेको जनाएको छ।
प्रहरीले त्यस वरपरका मानिसहरुलाई सुरक्षित रहन अपिल गरेको छ। कोरोना भाइरसको महामारीका बीच भएको यस घटनापछि प्रहरीले त्यस क्षेत्रका अधिकांश सडकहरु बन्द गरेर अनुसन्धान सुरु गरेको छ।
घटनामा को संलग्न थिए र कति मानिस घाइते भए, उनीहरुको अवस्था के छ भन्नेबारे स्पष्ट भइनसकेको प्रहरीको भनाइ छ।