लकडाउन केही खुकुलो भएपछि नेपाली राइड सेयरिङ सर्भिसको रुपमा लुजुम नामक नयाँ सेवा नेपालमा उपलब्ध भएको छ । 'लौ जाऔं' अर्थात् 'लु जुम' भन्ने अर्थमा यसको नाम लुजुम राखिएको हो ।
लुजुम सहज र सुविधाजनक भएको कम्पनीले दाबी गरेको छ। अनलाइन र अफलाइन बुकिङ सेवा दिई इन्टरनेट वा स्मार्टफोन नभएका यात्रीका लागि पनि सहुलियत सवारी सेवा प्रदान गर्ने मुख्य ध्येय लुजुमको रहेको बताइएको छ। विशेष गरी अलि प्रौढ उमेरका व्यक्तिहरुले समेत यसबाट फाइदा लिन सक्ने धारणा लुजुमको छ ।
लुजुम कम्युट सर्भिसेस प्रालिले निर्माण गरेको लुजुमको मुख्य उद्देश्य नेपालको सवारी प्रणाली सहज र सुलभ बनाउने रहेको कम्पनीले बताएको छ । यसका लागि लुजुमले मोटरसाइकल, तीन पांग्रे (उपत्यका बाहिरका लागि टेम्पो र सफारी), चार पांग्रे (ट्याक्सी) र रिजर्भ गाडी )बोलेरो र स्करपियो) जस्ता वृहत सेवाहरू लुजुमले प्रदान गर्ने भएको छ । लकडाउन लगत्तै काठमाडौंमा र आगामी दिनमा विराटनगर, पोखरा, धरान, इटहरी, चितवन जस्ता मुख्य शहरहरूमा लुजुमको सवारी सुचारू हुने भएको छ ।
डेनमार्क र अष्ट्रेलियामा अध्ययन गरेर फर्केका युवाहरु प्रतीक सुब्बा र डेनिस कार्की तथा सूचना प्रविधि कन्सल्टेन्ट गुन्जा सुनुवारको समूहले फरक पहिचानका साथ यो सेवा शुरु गरेका हुन् । लुजुमका कार्यकारी निर्देशक प्रतीक सुब्बाले डेनमार्कको अलबोर्ग विश्वविधालयबाट अपरेसन एण्ड इन्नोभेसनमा एमएससी गरेका छन् भने गुन्जा सुनुवारले पनि सोही विश्वविधालयबाट ए मससी इन इन्नोभेटिभ कम्युनिकेशन टेक्नोलोजी एण्ड अन्टरप्रेनरसीप गरेका छन्।
यात्री र पार्टनरको सुरक्षाका लागि लुजुमले सम्पूर्ण सवारीको सुरक्षा कोषको व्यवस्था गरेको छ । केही दुर्घटना घटेको खण्डमा यात्री र पार्टनरको उपचारको केही भाग लुजुमका सहकर्मी स्वास्थ्य केन्द्रहरू मार्फत भरिनेछ ।
महिला यात्रीको थप सुरक्षाको निमित्त सवारी निश्चित गर्नुअघि पार्टनरको लिंग चयन गर्न सकिनेछ। सो छनोट गर्दा महिला यात्रीलाई सम्भव भएसम्म महिला पार्टनर नै प्रेषण गर्ने प्रतिबद्धता लुजुमले व्यक्त गरेको छ।
लुजुमले पहिलो ५५ यात्रीलाई ५ वर्षका लागि मासिक रूपमा केही निःशुल्क सवारी प्रदान गर्ने बताएको छ। त्यसैगरी लुजुमको सवारी सेवा प्रयोग गरी विश्वव्यापी पर्यटकीय गन्तव्यहरू भ्रमण गर्ने अवसर प्रत्येक महिना एक यात्री वा पार्टनरले पाउनेछन् ।
लुजुममार्फत सवारी गर्दा विशेष कोड प्राप्त गर्ने र त्यसको सहायताले विश्वभरका विभिन्न पर्यटकीय गन्तव्यहरूको लागि दोहोरो टिकट जित्न सक्नेछन्।