विचार

जयपृथ्वी : ओझेलमा पारिएका कानुनी शिक्षाको शिलान्यासकर्ता

1598154260jaya_prithivi.jpg

कानुनी लिखत वा कागजातको लेखाइमा ढाँचागत एकरूपता ल्याउने काम र कानुनी शिक्षाको सुरुआत नेपालमा कहिले भयो ? कानुनी क्षेत्रकै घघडान विद्वानले पनि यो प्रश्नको उत्तरमा २००७ साल वा प्रधान न्यायालय र सर्वोच्च अदालतको स्थापनासँगै भन्ने जवाफ दिन्छन्।

हुन त यसमा किन आश्चर्य नै मान्ने र? नेपालमा काम गर्ने वास्तविक पात्रलाई इतिहासले प्रायः विस्मृतिको गर्तमा धकेल्ने गर्दै आएको हो। शासकको इतिहासलाई नै देशको इतिहास मानिने समाजमा यस्ता उत्तर आउनु अनौठो होइन।

त्यसो भए पनि सम्बन्धित क्षेत्रले वास्तविक कर्ता वा योगदाताको खोजी र पहिचान गरेर तिनलाई सम्झनुपर्ने हो र तिनको गुनका लागि जस पनि दिनुपर्ने हो। कानुनी शिक्षाको इतिहासमा यस्तो ओझेलमा राखिएका र वर्तमान कानुनी शिक्षा क्षेत्रले खासै मतलब नगर्ने यस्तै एक सत्पात्रको नाम हो- बझाङी राजा जयपृथ्वीबहादुर सिंह।

को हुन् जयपृथ्वी?

जयपृथ्वीबहादुर सिंह बाइसीचौबीसी राजामध्येका भनेर चिनिने बझाङका राजकुमार थिए। १९३४ साल भदौ ७ गते जन्मेका जयपृथ्वीको बाल्यकाल बझाङमै बितेको थियो।

उनको मावली थापाथली भएकाले काठमाडौँको सम्पर्कमा आए। शिक्षाका लागि उनी भारतको कोलकाता पुगे। त्यहाँबाट उनले कानुनमा स्नातकसम्मको शिक्षा लिए।

विज्ञान, दर्शन र समाजविज्ञानमा गहिरो अभिरुचि भएकाले उनले विश्वको समकालीन दर्शन र विज्ञानको फाँटमा उपलब्ध वाङ्मयको गहिरो अध्ययन गरे। संस्कृत वाङ्मयमा पनि उनको अवश्य गहिरो अध्ययन थियो भन्ने कुरा उनले लेखेका कतिपय सामग्रीमा उद्धृत गरेका श्लोकहरुबाट अनुमान हुन्छ।

मावली भएकाले उनलाई काठमाडौँको पहुँच सहज भयो। काठमाडौँको नारायण चौरमा उनको आवास थियो। उनको तेजाबी बौद्धिक क्षमताबाट लालायित भएर चन्द्रशमशेरले उनलाई छोरी दिएर ज्वाइँ बनाए।

१९५८ सालमा देवशमशेरलाई धनकुटा धपाएर चन्द्रशमशेरले आफूलाई सत्तासीन गराएपछि पृथ्वीले राज्यको तहमा काम गर्ने अवसर पाए। त्यही उनले पाएको अवसरका कारण नेपालमा नागरिक जागरणका लागि शिक्षाको महत्त्वले स्थान पाएको हो।

अत्यन्त उदार मनोभाव भएका पृथ्वी मानववादी (ह्युम्यानिस्ट) थिए र त्यसैको वकालत उनको प्राथिमकतामा थियो। उनले जातिभेद र छुवाछूतका कट्टर विरोधी भएकाले बझाङी दलितहरूलाई काठमाडौँमा ल्याएर आफ्नै आवासमा राखी पढाउने काम गरे।

दलितलाई ल्याएर सँगै राखेको कुराको भेद खुलेपछि उनका सबै अवसर खोसिए। त्यसपछि उनी भारत निर्वासनमा गए। उनले त्यहाँ मानववादी क्लब खोले र मानववादी सोचको तीव्र प्रचारप्रसारमा जुटे। उनको मानववादी विचारको विश्वभर यश फैलियो।

युरोप र अमेरिकामा उनी मानववादको बारेमा प्रवचन दिन बोलाइए र विभिन्न ठाउँमा उनले मानववादी विचार र व्यवहारका माध्यमबाट मात्र विश्वमा शान्ति स्थापना हुन सक्छ भन्ने ढृढविश्वास प्रकट गरे। विश्वसङ्घ (लिग अफ नेसन) शान्ति कायम गर्न असफल हुनेछ भनेर घोषणा गर्ने कुनै नेपाली थिए भने ती जयपृथ्वी नै हुन्।

के छ त उनको कानुनी फाँटमा योगदान?

भारतमा बसेर कानुन, विज्ञान र दर्शनको गहन अध्ययन गरेर नेपाल फर्केका सिंहले नेपालको शिक्षा र कानुनी फाँटमा सुधारको मार्गचित्र स्पष्ट कोरिसकेका र केही तयारीका काम गरिसकेका थिए।

१९५८ मा उनका ससुरा श्री ३ प्राइममिनिस्टर भएपछि गोरखापत्रको प्रकाशनलगायतका जिम्मेवारी उनलाई प्राप्त भयो। उनले १९५९ मा 'स्रेस्ता दर्पण' नामको पुस्तक लेखिसकेका थिए।

उनका बाबुले राजैले न्यायाधीशका रूपमा 'कचहरी' को नेतृत्व गरेर न्याय गरेका धेरै घटनावली बाल्यकालमै अनुभव गरेका थिए। त्यो अनुभव र कानुन अध्ययनको ज्ञानलाई मिसाएर उनले कानुनी लिखतको ढाँचामा हुनुपर्ने एकरूपता र मुकाम तथा मितिजस्ता लिखतको वस्तुगतता एकिन गर्ने तत्त्व र अङ्कको कुरालाई अक्षरमा पनि अनिवार्य लेख्नुपर्ने र लिखत गर्दा ल्याप्चे सही अनिवार्य हुनेजस्ता कुरा उनले सुझाए।

उनको सुझाउकै आधारमा सरकारी अड्डाका कागजमा छाप लाउनुपर्ने, अड्डाका कागजमा हस्ताक्षरको सही गर्न सकिने र हस्ताक्षर गर्न नजान्नेले ल्याप्चे सही गर्नेजस्ता विविध पक्षहरू समेटेर १९६१ वैशाख १ गतेदेखि लागू हुने गरी मुलुकी ऐनमा कागज जाँचको महलसहितको व्यवस्था कामय गरिएको थियो। मुलुकी ऐनको कागजजाँचको महललाई सिंहको महलै भने हुन्छ।

लेखा, कानुनी कार्यविधि र भाषागत लेखनका आधारभूत नियमको तर्जुमा गर्ने काम गरेका सिंह जीवनोपयोगी शिक्षा प्रणालीका अभियन्ता थिए। त्यसैले उनले 'अक्षराङ्क शिक्षा' जस्तो गणित र भाषाका आधारभूत शिक्षा प्रदान गर्ने सामग्री तयार पारेर दुनियाँलाई उपलब्ध गराएका थिए।

कानुनी शिक्षा कुन चराको नाम हो भन्ने शासक चन्द्रशमशेरलाई उनले स्रेस्ता शिक्षाको कार्ययोजना बनाएर प्रस्तुत गरे। सरकारी काम गर्ने मानिसले स्रेस्ता शिक्षा पढ्नुपर्ने बन्दोबस्त उनैले गराएका हुन्। स्रेस्ता शिक्षामा हिसाब, भाषा र स्रेस्ता तीन विषय अनिवार्य भयो।

त्यस्तो शिक्षा पढेर पास गरेकालाई 'तीन पासे' भनिन्थ्यो र तिनीहरू सरकारी अड्डामा लेखा र प्रशासनिक काम गर्ने कारिन्दा हुन्थे। त्यसमा 'ऐनकानुन' अर्को विषय थपेर पढेकालाई 'चार पासे' भनिन्थ्यो। यो विषय पढ्नेले मात्र अड्डा गौँडा अदालत कचहरीमा काम गर्न सक्थे।

नेपालमा शिक्षा र कानुनी शिक्षाका लागि चन्द्रशमशेरका पालामा जेजस्ता सुधारका काम भएका थिए ती सिंहकै कारणले सम्भव भएका थिए भन्नमा धकाउनुपर्ने अवस्था देखिँदैन। नेपालमा कानुनी शिक्षाको खाँचो पहिचान गर्ने र सूत्रपात गर्ने व्यक्ति सिंह नै हुन्।

सिंहको योगदान ओझेलमा किन?

नेपालमा राणा शासन र भारतमा अङ्ग्रेज शासन सँगसँगै बिदा भए। राणा शासन अन्त्यपछि नेपालको कानुनी प्रणालीको विकासमा विशेषज्ञताका नाममा भारतीय प्रतिनिधिको भूमिका स्वीकार गरियो।

त्यति मात्र हैन, पहिलो प्रधानन्यायाधीश नै भारतबाट ल्याइएका व्यक्ति भए। ती अङ्ग्रेज कानुनी प्रणाली जानेबुझेका मानिस थिए। त्यताको नक्कल गर्दै काम हुन थाल्यो। कतिसम्म भनिन्छ भने अहिले प्रभावमा रहेको कानुन व्याख्यासम्बन्धी ऐन २०१० इन्टरप्रिटेसन एक्ट भनेर अङ्ग्रेजीमा तय भएको थियो र पछि मात्र नेपालीमा अनुवाद गरियो।

मानववादी आन्दोलनले विश्वमा अहिले अपेक्षाकृत उचाइ लिन सकेको छैन। उचाइ लियो र भारतले त्यसबारेमा बोल्नुपरेमा अवश्यै जयपृथ्वीको नाम ठूलो स्वरमा उद्घोष गर्नेछ र भन्नेछ मानववादको सूत्रपात भारतीय भूमि बैङ्लोरबाट भएको हो। त्यो बेला हामी के भनौँला?

प्रधान न्यायालय हुँदै सर्वोच्च अदालतको स्थापना भएर अगाडि बढ्दा नेपालमा भारतीय कानुनी शिक्षादीक्षावालाको वर्चस्व कायम हुँदै गयो र तिनले आफूलाई नै प्रजातन्त्रपछिका कानुनी प्रणालीका विविध पक्षका प्रवर्तकका रूपमा उभ्याउन चाहे।

जयपृथ्वीले सुरु गरेको स्रेस्ता शिक्षाका 'चार पासे' हरू कानुनका सिद्धान्त र विधिरीत नजान्ने गनिँदै उपेक्षित गरिन थालिए। मौलिक कानुनी शिक्षाको पाटो नै अर्थहीन मानेर ओझेलमा गएपछि सिंहको योगदान ओझेल पर्नु कुन नै अनौठो कुरा भयो र?

हुनु के पर्थ्यो, अब हुनुपर्ने के ?

भौतिकवादी र ईश्वरवादी विश्वासप्रणालीबीच टक्कर चलिरहेका बेला सिंह ती दुवैमध्ये कुनै एकको पक्षमा नउभ्भिई विकास भइरहेको प्रक्रियावाद (फङ्सनालिज्म) का अवधारणा र संरचनावादीहरूका केही अवधारणाको संयोजित रूपमा बाह्यान्तरवाद (इक्टोप्लाज्माटिज्म) का चिन्तनकार थिए।

त्यसै आधारमा उनले विश्वसङ्घले शान्ति ल्याउन नसक्ने र विश्वशान्तिका लागि मानववादको वकालत गरेको पाइन्छ। त्यस्ता चिन्तकको पढाइपछि र मानववादी अभियानको पूर्वपीठिकाका रूपमा उनले नेपालको कानुनी शिक्षालाई अगाडि बढाउन चाहेका थिए।

खासमा जयपृथ्वीले सुरु गरेको स्रेस्ता शिक्षा प्रत्यक्षवादी चेतनामा आधारित थियो। उनी कानुन पढेका मात्र व्यक्ति थिएनन् दर्शन र विज्ञानको फाँटमा समकालीन विश्वमा विकसित धार र चेतनासँग परिचित थिए। यसैले उनको स्रेस्ता शिक्षालाई प्रजातन्त्रपछि आवश्यक हेरफेरसाथ अगाडि बढाइनुपर्थ्यो। त्यसो गरेको भए हाम्रो मौलिक कानुनी प्रणालीका राम्रा पक्षहरू बच्दै आउँथे भने नयाँ कुरा पनि थपिन्थ्यो तर हुन सकेन।

अहिले नेपाली प्राज्ञिक फाँटमा पुर्ख्यौली ज्ञानको पुनरुत्थानको खाँचो अनुभव गर्नेको सङ्ख्या बढ्दै छ। नेपालको कानुनी शिक्षामा पनि नेपालको कानुनी इतिहासलाई केवल कानुनका विद्यार्थीले जान्नुपर्ने ऐतिहासिक बृन्दालो बनाइनु हुँदैन।इतिहासको गर्तमा रहेका त्यस्ता मौलिक पुर्ख्यौली न्यायप्रणालीका महत्त्वपूर्ण र सुविचारित मूल्यमान्यता र मानकहरूको खोजी अगाडि बढाउनु जरुरी छ।

कम्तीमा नेपालमा कानुनी शिक्षाको शिलान्यासकर्ता जयपृथ्वी हुन् भन्ने कुरा विश्वविद्यालयका कानुन सङ्काय र विभागहरूले मान्यता दिनुपर्छ। सँगै जयपृथ्वीका नाममा सरकारले विश्वविद्यालयहरूलाई अनुसन्धान लेखनवृत्ति दिलाएर अनुसन्धानकर्ताबाट नेपाली कानुनको मौलिक ऐतिहासिक पक्षको अनुसन्धान प्रवर्द्धन गराउनुपर्छ।

अन्त्यमा,

राजा जयपृथ्वीबहादुर सिंह नेपाली माटोमा जन्मेका लाइट अफ एसिया द्वितीय हुन्। बुद्धपछि नेपाली भूमिमा दार्शनिक चिन्तन गरेर उचाइ प्राप्त गर्ने अर्को कोही भए सिंह नै हुन्।

हो सिंह पनि बुद्धजस्तै नेपालमा जन्मे र केही गर्न चाहेर पनि भनेजस्तो गर्न नपाएर भारत पलायन भएकै हुन्। भारतको भूमिमा बसेर उनले मानववादको प्रचारप्रसार गरे। खासमा मानवअधिकारको विश्वव्यापी घोषणा पढ्दा र उनको 'मानववाद' पढ्दा त्यो घोषणापत्र मानववादकै सारसंक्षेप खिचेको त हैन जस्तो लाग्छ जुन मानववाद उनले १९२८ मै लेखिसकेका थिए।

हामी बुद्धलाई भारतले भारतीय भन्दा रनन्न भएर रन्कन्छौँ। बुद्ध नेपालमा जन्मेका भए पनि ज्ञानप्राप्ति भारतमा भएको नाताले भारतले दाबी गरिरहेको विषय भएको छ। बुद्धबारे बोले पनि हाम्रा दोस्रा गौतम बुद्धको बारेमा हामी झन्डैझन्डै चुपचाप छौँ।

सन् १९४० मा बैङ्लोरमा सिंहको मृत्यु भएपछि त्यहाँको एक पत्रिकाले दोस्रो बुद्धको निधन भनेर समाचारै लेखेको थियो। मानववादी आन्दोलनले विश्वमा अहिले अपेक्षाकृत उचाइ लिन सकेको छैन। उचाइ लियो र भारतले त्यसबारेमा बोल्नुपरेमा अवश्यै जयपृथ्वीको नाम ठूलो स्वरमा उद्घोष गर्नेछ र भन्नेछ मानववादको सूत्रपात भारतीय भूमि बैङ्लोरबाट भएको हो। त्यो बेला हामी के भनौँला?

जयपृथ्वी नेपालका विभूति हुन्। राज्यले नचिने नचिनाए पनि नेपाली जनले तिनको गुन बिर्सन हुँदैन। त्यसैले मानववादी जयपृथ्वीलाई सम्मानस्वरूप कम्तीमा सम्झना गरौँ, विस्मृतमा नधकेलौँ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट