काठमाडौं- गोरखामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले विरोध जनाएका छन्।
कोरोना संक्रमणबाट ज्यान गुमाएका पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको शव गोरखा नगरपालिका-१२ र सहिद लखन गाउँपालिका-१ को सीमा क्षेत्रस्थित लुदी दोभानमा व्यवस्थापन गर्ने तयारी थालिएपछि स्थानीयले विरोध जनाएका हुन्।
स्थानीयले त्यस क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने अडान राखेका छन्।
जिल्ला प्रशासन कार्यालय, दोलखाकी सूचना अधिकारी देवी खत्री पान्डेले शव व्यवस्थापनका लागि स्थानीयसँग छलफल भइरहेको बताइन्। ‘अहिले स्थानीय र सिडियोसाबको छलफल चलिरहेको छ, सहमति होला भन्ने आशा छ,’ उनले भनिन्।
उनले अन्यत्र ठाउँ नभएकाले उक्त ठाउँमा शव व्यवस्थापन गर्न लागिएको बताइन्। ‘स्थानीयसँग सहमति नभए पनि शव व्यवस्थापन गरिने छ,’ उनले भनिन्।
जिल्ला सुरक्षा समितिको बैठकले पालुङटार नगरपालिका ७ का कोरोना संक्रमित पुरुषको शव लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय गरेको हो। ती पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा आज बिहान ५ः०५ मा मृत्यु भएको थियो।