सप्तरी- प्रदेश नम्बर २ मा खेतमा काम गर्ने क्रममा चट्याङ्ग लागेर बिहीबार एकै दिनमा ६ जना किसानको मृत्यु भएको छ ।
चट्याङ्गबाट खेतमा काम गरिरहेका ९ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार चट्याङ लागेर बारामा चार जना, सप्तरी र सर्लाहीमा एक÷एक जनाको मृत्यु भएको छ।
त्यस्तै चट्याङ लागेर बारामा सात जना तथा सप्तरी र सर्लाहीमा एक÷एकजना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए ।
खेत जोत्न गएका वृद्धको चट्याङ्ग लागेर मृत्यु
सवर्षासँगै आएको चट्याङ्ग लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका बिहीबार एक वृद्धको मृत्यु भएको छ ।
खेतमा हलो जोत्न गएका ७० वर्षीय धर्मी साहको मृत्यु भएको स्थानीय रामलखन मुखियाले बताए । गम्हरिया प्रवाहा गाविसका पूर्वअध्यक्षसमेत रहेका मुखियाका अनुसार खेतमा हलो जोतिरहेका बेला पानी पर्न थालेपछि साह रुखमुनि ओत लागेका बेलामा बिहीबार चट्याङ् लागेको हो ।
चट्याङ लागि गम्भीर घाइते भएका साहलाई १६ वर्षीया नातिनी कञ्चनाकुमारी साहले उठाउन खोज्दा उनलाई पनि करेन्टको झट्का लागेको थियो । कञ्चनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।