बिहीबार, वैशाख १३, २०८१

खाली हुँदै कोभिड बेड, विज्ञ भन्छन्- जोखिम घटेको छैन

'अहिले कम भएपनि अब चाडबाडका कारण मानिसको चहलपहलका कारण फेरि संक्रमण फैलन सक्छ,' उनले भने, 'संक्रमणदर कम भएपनि जोखिम भने कम भएको छैन।'
 |  बिहीबार, भदौ ३१, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं- दोस्रो लहरमा ५० प्रतिशतसम्म पुगेको कोभिड संक्रमण दर यतिबेला १० प्रतिशत आसपास छ। बुधबार १६ हजार ८४४ जनाको परीक्षण हुँदा १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ। यो कुल परीक्षणको १०.४५ प्रतिशत हो। 

triton college

साउनमा ९८ हजार ४८० जना कोरोना संक्रमित भए। भदौ महिनाको ३० गतेसम्ममा ५४ हजार ५३८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनपछि नेपालमा कोरोना संक्रमण क्रमशः घट्दै जाने प्रक्षेपण गरेको थियो। मन्त्रालयको प्रक्षेपणभन्दा झन्डै दोब्बर संक्रमित देखिइरहेका छन्। 

मन्त्रालयले साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७ सय २६, असोज महिनामा ३८ हजार ५ सय ९७ र कात्तिकमा ३१ हजार ४४ र मसिंरमा २५ हजार १ सय ८३ संक्रमित थपिने मन्त्रालयको अनुमान थियो। साउन र भदौमा प्रक्षेपितभन्दा बढी संक्रमित भए। साउनमा झन्डै एक लाख संक्रमित भए भने भदौमा ७० हजारको हाराहारीमा संक्रमण पुष्टि भएको छ। 

पछिल्लो समयको भिडभाड र आउँदै गरेको चाडबाडका कारण कोरोना संक्रमण घट्नुको सट्टा बढ्न सक्ने विज्ञहरु आकलन गर्छन्। कोरोना संक्रमण दर कम भएपनि अपेक्षाअनुसार कम हुन सकेको छैन। मानिसले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा पनि सोचेअनुसार संक्रमण कम हुन नसकेको विज्ञहरु बताउँछन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेल कोरोना संक्रमणको दर कम देखिए पनि जोखिम भने कम नभएको बताउँछन्।

जनस्वास्थ्यविज्ञ डा. शरद वन्तका अनुसार झन्डै दुई महिना स्थिर रहेको संक्रमण दर यतिबेला केही घट्न थालेको देखिएपनि जोखिम कम भइहालेको भने होइन। 'अहिले कम भएपनि अब चाडबाडका कारण मानिसको चहलपहलका कारण फेरि संक्रमण फैलन सक्छ,' उनले भने, 'संक्रमणदर कम भएपनि जोखिम भने कम भएको छैन।' 

corrent noodles
Metro Mart

खाली हुँदै कोभिड बेड

कोरोना संक्रमण कम हुँदै गएपछि कोभिड अस्पतालका शय्या खाली हुन थालेका छन्। केन्द्रिय कोभिड युनिफाइड (वीर) अस्पतालमा हाल ८० जना संक्रमित उपचाररत छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि अधिकांश शय्याहरु खाली छन्। अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार अस्पातलको कोभिड क्याबिन खाली छ। आइसियू तथा भेन्टिलेटरमा ३० जनाको हाराहारीमा बिरामी भर्ना भएका छन्। कोरोना संक्रमितको संख्या कम भएपनि आइसियू, भेन्टिलेटरमा रहेका बिरामीको अवस्था भने गम्भीर रहेको उनी बताउँछन्। गौतमका अनुसार हाल अस्पतालमा २/३ जनाका दरले नयाँ बिरामी भर्ना हुन्छन्, अन्य जिल्लाबाट आइपुगेका बिरामीको अवस्था भने सिकिस्त हुन्छ।’

उता त्रिवि शिक्षण अस्पतालमा पनि कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको शय्या खाली छन्। अस्पतालका कोभिड फोकल पर्सन सन्तकुमार दास भन्छन्, ‘हाल अस्पतालमा ५० जना आसपासमा बिरामी रहने गरेका छन्, एक दिनमा जम्मा ३/४ जना नयाँ संक्रमित आउँछन्।’

जोखिम कम भएको छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेल कोरोना संक्रमणको दर कम देखिए पनि जोखिम भने कम नभएको बताउँछन्। 'अहिले परीक्षणको लागि कम पुगेका छन्, बिरामी भएर अस्पताल पुग्ने र काम विषेशले परीक्षण गर्ने मात्रै छन्,' प्रवक्ता डा पौडेल भन्छन्, 'परीक्षण पनि कम भएकाले संक्रमणको संख्या कम भएको हो। साथै सेरो-प्रिभिलेन्स सर्भेलाई आधार मान्दा आधा भन्दा धेरैमा एन्टिबडी बनिसकेको र खोप लगाइसकेकाले पनि संक्रमणको दर कम देखिएको छ।'

उनका अनुसार विस्तारै संक्रमण दर कम हुँदै आएको मात्र नभएर परीक्षण कम भएको पनि हो। १० प्रतिशत सम्म कोरोना संक्रमण रहनु जोखिमपूर्ण अवस्था हो। 'विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमण ५ प्रतिशतभन्दा तल नभएसम्म नियन्त्रणउन्मुख भन्न मिल्दैन। दोस्रो लहरको मुख्य कारक बनेको डेल्टा भेरियन्ट समुदायमा प्रशस्तै छ, त्यसैले जोखिम हटेको छैन। सजक हुन छोड्नु भएन,’ उनले भने।  

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी तेस्रो चरणको सम्भावना रहेको बताउँछन्। त्यसो त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि असोजको अन्त्यतिरबाट तेस्रो चरणको सम्भावना रहेको अनुमान गरेको छ। 

सरकारले कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई बढी जोखिम हुन सक्ने भन्दै बालबालिकाको लागि प्रत्येक कोभिड वार्डमा २० प्रतिशत बेड छुट्याउन भनेको छ।

‘सडकमा नारा,जुलुस, सभा सम्मेलन, प्रर्दशन बडेको छ। त्यसैले अर्को लहर नआउला भन्न सकिँदैन। नेपाल प्रवेशका सीमाबिन्दुमा सतर्कता छैन। पहिलो लहरको कोरोना संक्रमणको समयमा पनि यस्तै गतिविधिले गर्दा दोस्रो लहर आयो अब पनि तेस्रो लहरको सम्भावना कारण पनि यिनै हुन्,' उनले थपे, 'दसैं, तिहारलगायत चाडपर्वमा हुने गतिविधि तथा आवतजावतले गर्दा तेस्रो लहरको सम्भावना देखिन्छ।’

तेस्रो लहरको न्युनीकरणका लागि खोप व्यवस्थापन, अस्पतालको व्यवस्थापन, व्यवस्थित क्वारेन्टिन, सिमानाकामा व्यवस्थापन लगायतमा सरकारले अझ काम गर्नुपर्ने डा. मरासिनीको सुझाव छ। ‘हामीलाई कोरोनाको पहिलो लहरमा कुनै अनुभव थिएनन्, त्यसैले धेरै ठाउँमा चुक्यौं, तर दोस्रो लहरमा बढी क्षति हुनुमा सरकारको व्यवस्थापन कमजोर भयो, अस्पतालमा अक्सिजनको हाहाकार भयो, बेड पाउन मुस्किल भयो,' उनले भने, 'अब हामीसँग धेरै अनुभव छन् त्यसैलाई सदुपयोग गर्ने हो भने तेस्रो लहरलाई न्यूनीकरण गर्न सकिन्छ।’ 

जनस्वास्थ्यविद् डा. वन्त समुदायमा जति नै कोरोना संक्रमण फैलिएपनि कन्ट्याक ट्रेसिङ गर्ने कामलाई छोड्न नहुने बताउँछन्। सरकारले अहिले कन्ट्याक ट्रेसिङलाई वास्तै नगरेको तर संक्रमण कम भएको दाबी गर्दै मात्र आइरहेको बताए। 

तेस्रो लहरलक्षित सरकारको तयारी

सरकारले कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई बढी जोखिम हुन सक्ने भन्दै बालबालिकाको लागि प्रत्येक कोभिड वार्डमा २० प्रतिशत बेड छुट्याउन भनेको छ। त्यसो त गत साउनमा ५ महिनाको प्रक्षेपण गर्दै तयारी गरेको जनाएको थियो। सरकारले सम्भावित तेस्रो लहरको जोखिमका लागि आइसियू बेड, भेन्टिलेटर थप गर्ने तयारी गरेको दाबी गरेको छ। 

हाल ३ हजार आइसियू बेड रहेकामा ६३० आइसियू बेड थप गर्ने दाबी स्वास्थ्य मन्त्रालयको छ। त्यस्तै ९ सयको संख्यामा रहेका भेन्टिलेटर थप गर्दै १ हजार ८० पुर्‍याउने तयारी गरेको छ। साथै अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन ट्यांक, एचडियू, बालबालिकाका लागि आईसीयू बेड थप गर्ने प्रक्रिया अगाडि बढाइएको मन्त्रालयको भनाइ छ। 


प्रकाशित: Sep 16, 2021| 06:21 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्