बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • उखु किसानको भुक्तानी : उद्योगीले दिएनन्, सरकारले दिलाएन

उखु किसानको भुक्तानी : उद्योगीले दिएनन्, सरकारले दिलाएन

सर्लाहीका उखु किसान हरेश्याम रायले ४ वर्षअघिसम्म १० बिघा जमिनमा उखु खेती गर्दै आएका थिए। तर, चिनी उद्योगलाई उखु बेचेको भुक्तानी पाउन वर्षैपिच्छे सास्ती बेहोर्नु परेपछि पछिल्लो समय उनले उखुको उत्पादकत्व घटाएका छन्।
 |  शुक्रबार, साउन १५, २०७८

प्रेम चन्द

प्रेम चन्द

शुक्रबार, साउन १५, २०७८

काठमाडौं- सर्लाहीका उखु किसान हरेश्याम रायले ४ वर्षअघिसम्म १० बिघा जमिनमा उखु खेती गर्दै आएका थिए। तर, चिनी उद्योगलाई उखु बेचेको भुक्तानी पाउन वर्षैपिच्छे सास्ती बेहोर्नु परेपछि पछिल्लो समय उनले उखुको उत्पादकत्व घटाएका छन्।

triton college

पछिल्लो समय ४ बिघा जमिनमा मात्रै उखु खेती गर्दै आएको राय बताउँछन्। ‘बाजेको पालादेखि नै उखु खेती गर्दै आएका हौं। विगतमा १३ बिघामा गर्थ्यौँ। अनि त्यसपछि १० बिघा हुँदै अहिले ४ बिघामा मात्रै उखु खेती गरिन्छ’ उनले भने, ‘पछिल्लो चार/पाँच वर्षयता उखु खेती घट्दै गइरहेको छ।’

सर्लाहीकै रामविलास महतोले पनि पछिल्लो समय उखु खेती घटाउँदै लगेका छन्। तीन वर्षअघि ३ बिघाहामा खेती गर्दै आएका महतोले अहिले डेढ बिघामा उखु खेती गर्दै आएको बताए। ‘पैसाको अभाव हुन थालेपछि डेढ बिघामा मात्रै उखु खेती गरेको’ महतोले भने। आफूहरुले उखु खेतीलाई प्राथमिकता दिएको तर, सरकार र उद्योगीले समयमै भुक्तानी नगर्दा खेती घटाउँदै आएको उनको भनाइ छ। ‘उद्योगीले समयमै पैसा दिन चाहेनन्। सरकारले दिलाउन सकेन’, उनले भने, ‘पैसा नै नहुने भएपछि उखु खेती गर्न सकिने कुरा भएन।’

राय र महतो उखु खेती घटाउँदै आएका दुई जना उदाहरण हुन्। पछिल्लो समय प्राय किसान उखु खेतीबाट पलायन भइरहेका उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली बताउँछन्। ‘यो पेशामा फाइदा भएन’ अध्यक्ष मैनाली भन्छन्, ‘फाइदा नै नहुने भएपछि पलायन हुनु स्वभाविक हो। अहिले ड्रागन फ्रुट्सलगायतका अन्य खेतीतर्फ  लाग्न थालेका छन्।’

उनका अनुसार उखु खेती घटेर उत्पादन घट्दै गएको छ। ‘उत्पादन घटेको साँचो हो’ उनले भने, ‘कति किसान पलायन भए वास्तविकता थाहा पाउनका लागि अध्ययन गरिरहेका छौं।’  

corrent noodles
Metro Mart

तथ्यांकले देखाउँछ उत्पादन घटेको

उद्योगीले भुक्तानी रोक्दा किसान पलायन हुन थालेपछि उखु उत्पादनमा कमी आउन थालेको छ। उखु उत्पादनको पछिल्लो ४ वर्षको तथ्यांकअनुसार उखु उत्पादन निरन्तर ओरालो छ। आर्थिक वर्ष २०७४/०७५ मा ३५ लाख ६ हजार मेट्रिक टन उखु उत्पादन भएको थियो।

त्यसपछिको आर्थिक वर्ष २०७५/०७६ मा पनि ३५ लाख ६ हजार मेट्रिक टन नै उत्पादन भएको उखु किसान महासंघको तथ्यांक छ। त्यसयताका वर्षमा भने उखु उत्पादन निरन्तर ओरालो लागेको देखिन्छ। आर्थिक वर्ष २०७६/०७७ मा ३४ लाख मेट्रिक टन उत्पादन भएको र गत आर्थिक वर्ष २०७७/०७८ मा ३३ लाख मेट्रिक टन उखु उत्पादन भएको महासंघले जानकारी दिएको छ। उद्योगीलाई बिक्री गरिएको परिमाणको आधारमा उक्त तथ्यांक तयार पारिएको महासंघले स्पष्ट पारेको छ।

उखुको उत्पादन घट्दै गएपछि नेपालमा हुने चिनीको उत्पादनमा समेत ह्रास आउन थालेको छ। आर्थिक वर्ष २०७६/०७७ मा १३ लाख ४४ हजार ५८४ क्वीन्टल चिनी उत्पादन भएकोमा गत आर्थिक वर्ष २०७७/०७८मा १० लाख ५७ हजार ८८१ क्वीन्टल चिनी उत्पादन छ।

सरकारलाई ध्यानाकर्षण

आफूहरुको उखु बेचेको पैसा दिलाइदिन सरकारसँग माग गर्दै सर्लाही र नवलपरासीका उखु किसान काठमाडौंमा आएका छन्। उनीहरुले सञ्चारमाध्यममार्फत् सरकारको ध्यानाकर्षण गराउँदै भुक्तानी दिलाइदिन माग गरेका छन्। बिहीबार पत्रकार सम्मेलनमार्फत् आगामी ५ भदौसम्म सरकारले भुक्तानी नदिलाएमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

यद्यपि अहिले सरकारमा रहेको पार्टीले यसअघि आफूहरुको आन्दोलनमा समर्थन जनाएकाले आन्दोलन गर्नुपर्ने अवस्था नआउने विश्वास रहेको किसान रायले नेपालसमयलाई बताए। ‘सरकारले आन्दोलन गर्न बाध्य नबनाओस् भन्ने हाम्रो चाहना हो’ रायले शुक्रबार नेपालसमयसँग भने, ‘यसअघि प्रतिपक्षमा हुँदा हामीहरुको आन्दोलनको समयमा समर्थन जनाएकाले पैसा दिलाउँछ भन्ने आशा छ।’

यसअघि गत हिउँदमा उखुको भुक्तानी दिलाइदिन भन्दै काठमाडौंमा आएर किसानले आन्दोलन गरेका थिए। त्यतिबेला प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसले किसानको आन्दोलनमा समर्थन जनाएको थियो। सोहीप्रति आशा व्यक्त गर्दै किसानले भदौ पाँचपछि आन्दोलन गर्ने अवस्था आउन नदिन सरकारले पहल गर्नुपर्ने बताएका छन्।

प्रकाशित: Jul 30, 2021| 15:58 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्