काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको बाँकी काम सम्बन्धित सरकारी निकायलाई नै हस्तान्तरण गरेको छ।
२०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको काम अन्तिम चरणको पुर्याएको प्राधिकरणले निर्देशक समितिको निर्णय अनुसार बुधबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी पुनर्निर्माणको बाँकी काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गरेको जनाएको छ।
गत भदौ ९ गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले भदौ मसान्तभित्र पुनर्निर्माणको बाँकी काम सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार निजी आवास, एकीकृत बस्ती विकास, सहरी भवन पुनर्निर्माणको बाँकी काम सहरी विकास मन्त्रालय, पुरातत्वसँग सम्बन्धित बाँकी काम पुरातत्व विभाग, शैक्षिक क्षेत्रसँग सम्बन्धित काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघ अन्तरगतको पुल, सडक पुनर्निर्माणको बाँकी काम स्थानीय पूर्वाधार विकास विभागलगायतका सरकारी निकायलाई हस्तान्तरण गरिएको प्राधिकरणकी सहसचिव यमुना प्रधानले जानकारी दिइन्।
प्राधिकरणले पुनर्निर्माणको बाँकी कामलाई सम्पन्न गर्न आवश्यक बजेट र जनशक्तिको पनि व्यवस्था गरिएको स्पष्ट पारेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको बाँकी काम गर्न कुनै समस्या हुन्छ कि भनेर प्राधिकरणको म्याद भने आगामी पुस ९ गतेसम्मका लागि तय गरिएको जानकारी पनि दिए।
उनले त्यतिबेलासम्म हस्तान्तरण गरिएको कामहरु सम्पन्न गर्न आवश्यक सहयोग सम्बन्धित निकायलाई गर्ने आफूहरुको जिम्मेवारी रहेको पनि पटकपटक दोहोर्याएका छन्।
प्राधिकरणले सबै पुनर्निर्माणको काम अन्तिम चरणमा पुर्याएको जनाएको छ। हाल निर्माणाधिन अवस्थामा रहेका पुरातात्विक तथा ऐतिहासिक महत्वको धराहरा, रानी पोखरी, सिंहदरबार, नारायणहिटी संग्राहलय अन्तर्गतको रणोद्धिप दरबारको पुनर्निर्माण, विश्व बैंकसँग सम्बन्धित केही कार्यक्रमहरु पनि बाँकी अवधिमा प्राधिकरण आफैंले सम्पन्न गर्नेछ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निर्माणाधिन विशेष खालका आयोजनाहरुको बाँकी काम प्राधिकरण आफैंले पुस ९ गतेभित्र सम्पन्न गर्ने योजना तय गरिएको पनि स्पष्ट पारे।
प्राधिकरणले पुनर्निर्माणको बाँकि काम सम्पन्न गर्न सरकारी निकायहरुलाई आवश्यक पर्ने नीतिगत तथा कानुनी समस्या तत्काल समाधान गर्ने निर्णय निर्देशक समितिको बैठकले गरेको छ। प्राधिकरणले नेपालले पुनर्निर्माणको क्षेत्रमा ऐतिहासिक काम गरेको दाबी गर्दै त्यो अनुभव अन्तर्राष्ट्रिय समुदायसँग पनि पुर्याउने योजनाका साथ आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म ‘नेपालको पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने तयारी पनि गरेको छ।