शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बुटवल, तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना नगरले ल्याए यस्तो बजेट

बुटवल, तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना नगरले ल्याए यस्तो बजेट

संवैधानिक भूमिका पाएर पनि अन्य समयमा छायामा पर्ने उपप्रमुख बुधबार हातमा करोडौंको बजेटको ब्रिफकेस फुकाएर वर्षभरिका योजना सुनाउँदा हलमा सहभागी नगर सभासदहरु ध्यानपूर्वक सुनिरहेका देखिन्थे।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

भैरहवा- दायाँ हातमा ब्रिफकेस बोकेर नगरसभातर्फ लम्किएकी सैनामैना नगरकी उपप्रमुख बिना रानाको आत्मविश्वास बुधबार अन्य दिनभन्दा विशेष देखिन्थ्यो। उनले केही बेरमा ब्रिफकेस खोलेर आगामी वर्षका लागि सैनामैना सरकारको योजना घोषणा गरिन्।

triton college

बुटवलमा नगर प्रहरीलाई छेउमै राखेर बजेट भाषण गर्दै गरेकी गोमादेवी आचार्यले समृद्ध बुटवलको घोषणा गरिन्। राना र आचार्यले झैं तिलोत्तमाका जागेश्वरीदेवी चौधरी र सिद्धार्थनगर भैरहवाकी उमा काफ्लेले पनि नगरसभामा योजना र बजेटको फेहरिस्त सुनाए।

संवैधानिक भूमिका पाएर पनि अन्य समयमा छायामा पर्ने उपप्रमुख बुधबार हातमा करोडौंको बजेटको ब्रिफकेस फुकाएर वर्षभरिका योजना सुनाउँदा हलमा सहभागी नगर सभासदहरु ध्यानपूर्वक सुनिरहेका देखिन्थे।

प्रदेश ५ को मुकाम रुपन्देहीका छ नगरमध्ये चार नगर सरकारले बुधबार नगरसभामा बजेट पेस गरेका छन्। चार नगर सरकारको आगामी योजना के छ त?

बुटवल उपमहानगरपालिका : दुई अर्ब एक करोड

corrent noodles
Metro Mart

जिल्लाको एकमात्र उपमहानगरपालिका बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब एक करोडको बजेट प्रस्ताव गरेको छ।

नगरसभामा नगर उपप्रमुख गोमादेवी आचार्यले चालूतर्फ ९७ करोड ४३ लाख ५७ हजार अर्थात् ४८ प्रतिशत र पुँजीगततर्फ ९९ करोड २० लाख ९६ हजार अर्थात् ४९ प्रतिशत र वित्तीयतर्फ पाँच करोड बजेट विनियोज अर्थात् २.४८ प्रतिशत पेस गरेकी हुन्।

संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने सःसर्त अनुदानसमेत समावेश गर्दै गत वर्षभन्दा करिब ११ करोड बढी रकमको बजेट प्रस्तुत गरिएको हो। बुटवल उपमहानगरले गत आवमा एक अर्ब ९० करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको थियो।

प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा सोमबारदेखि जारी नगरसभाको सातौं अधिवेशनमा नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गोमादेवी आचार्यले आव ०७७/०७८ का लागि दुई अर्ब एक करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन्।

नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र रोजगारीलाई प्राथमिकतामा राखिएको छ।

बुटवलमा सञ्चालनमा रहेका राष्ट्रिय गौरव, प्रदेश गौरव र बुटवलको आफ्नै नगर गौरवका आयोजना र पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राख्दै अधुरा योजनालाई पूरा गरिने भएको छ।

बजेटको मुख्य उद्देश्य सबल आर्थिक केन्द्र समुन्नत बुटवल निर्माण गर्दै ‘समृद्ध बुटवल : खुसी जनता’ रहेको छ। उपमहानगरको नीति तथा कार्यक्रम पारित भएसँगै यो आकारको बजेट प्रस्तुत भएको हो।

नगरसभामा बुधबार बजेट पेस गर्दै सिद्धार्थनगरकी उपप्रमुख उमा काफ्ले।

सिद्धार्थनगर भैरहवा : ९५ करोड ९ लाख

सिद्धार्थनगर भैरहवाले पूर्वाधार विकास, पर्यटन, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रित गरेको छ। नगर उपप्रमुख उमा काफ्लेले बुधबारको नगरसभामा कुल ९५ करोड ९ लाख ६६ हजार बराबरको बजेट सार्वजनिक गरेकी हुन्।

चालुतर्फ ५८ प्रतिशत र पुँजीगततर्फ ४२ प्रतिशत खर्च प्रस्ताव गरेकी छन्। उक्त रकम चालु आर्थिक वर्षको अनुमानित बजेटभन्दा २३ करोड ९८ लाखले कमी हो।

“पर्यटन, उद्योग, व्यापार र शिक्षा, हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा” नगरपालिकाको दीर्घकालीन सोंचलाई आत्मसात् गर्दै नगरको समग्र विकास गर्नेतर्फ केन्द्रित भई बजेट निर्माण गरेको उपप्रमुख काफ्लेले बताइन्।

काफ्लेले सिद्धार्थनगरको आम्दानीको स्रोतका रुपमा आन्तरिक आयका स्रोतबाट १६ करोड, राजस्व बाँडफाँटबाट १३ करोड ७४ लाख ७७ हजार, लागत सहभागिताबाट २० लाख, संघ प्रदेश र दातृनिकायबाट ५८ करोड ६ लाख १५ हजार, ७ करोड ८ लाख ७४ हजार रहेको बताइन्।

उक्त रकममध्ये सामाजिक विकासतर्फ ३२ प्रतिशत, पूर्वाधार विकासतर्फ ३१ प्रतिशत, सुशासन तथा संस्थागत विकासतर्फ २६ प्रतिशत, आर्थिक विकासतर्फ ७ प्रतिशत, वातवरण तथा विपद् व्यवस्थापनतर्फ ५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ।

सिद्धार्थ नगरपालिकाले वडा तहको विकासमा जोड दिएको छ। आगामी आर्थिक वर्षमा लागू हुने गरी वडा तहको शिक्षा, स्वास्थ्यलगायतको सामाजिक विकास र आर्थिक विकास, पूर्वाधार विकास र अन्यका लागि प्रतिवडा न्यूनतम ४० लाख र जनसंख्या भूगोल र वडागत विकासको अवस्था हेरेर बजेट विनियोजन गरिएको छ। नगरका १३ वडालाई ८ करोड २० लाख बजेट विनियोजन भएको छ।

बजेट सार्वजनिक समाराेहमा तिलाेत्तमा नगरगर उपप्रमुख जागेश्वरीदेवी चौधरी।

तिलोत्तमा नगर : १ अर्ब ८९ करोड

तिलोत्तमा नगर सरकारले आगामी वर्षको बजेट बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रित गरेको छ।

कुल १ अर्ब ८९ करोड २६ लाखको बजेट सार्वजनिक गर्दै नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले चालुतर्फ ५२ करोड १ लाख अर्थात् ३१.६७ प्रतिशत र पुँजीगततर्फ १ अर्ब १२ करोड २५ लाख अर्थात् ६८.३३ प्रतिशत रकम खर्च प्रस्ताव गरेकी छन् ।

तिलोत्तमाले बजेटमा आम्दानीका स्रोतका रुपमा आन्तरिक राजस्व ५७ करोड ९२ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब २३ करोड ३४ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट ३ करोड, गत वर्षको मौज्दातबाट १ करोड, लागत सहभागितामार्फत ४ करोड प्राप्त हुने लक्ष्य निर्धारण गरेको छ।

उपप्रमुख चौधरीले क्रमागत आयोजनाको निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने, कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाई नगरबासीमा परिवर्तनको अनुभूति गराउने विषयलाई बजेटमा प्राथमिकता दिइएको बताइन्।

बजेटमा शिक्षामा ३५ करोड ६८ लाख, स्वास्थ्यमा १३ करोड ६० लाख, कृषि, पशुपालन र सिँचाइमा ९ करोड ७६ लाख विनियोजन गरिएको छ।

उद्योग तथा वाणिज्य क्षेत्रका लागि ६ करोड ७५ लाख, भवन, सहरी विकास र पूर्वाधारका लागि ४४ करोड ५८ लाख, युवा साझेदारी कार्यक्रम तथा खेलकुद मैदान पूर्वाधारका लागि २ करोड २२ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागि २ करोड २२ लाख विनियोजन गरिएको छ।

सैनामैना नगरपालिकाको नगरसभामा बजेट पेस गर्न जाँदै नगर उपप्रमुख बिना राना।

सैनामैना नगर : ७० करोड ८३ लाख

सैनामैना नगरपालिकाको बुधबारको नगरसभामा नगर उपप्रमुख बिना रानाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट सार्वजनिक गरेकी छन्।

उपप्रमुख रानाले कुल विनियोजित बजेटमध्ये चालू खर्चका लागि ४५ करोड ९४ लाख ८७ हजार ५ सय ४६ विनियोजन गरेको बताएकी छन् भने पुँजीगत खर्चतर्फ कुल २४ करोड ८४ लाख ७ हजार विनियोजन गरेकी छन्। उक्त बजेट गत वर्षभन्दा करिब २० करोडले कमी हो।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारबाट प्राप्त अनुदान रु ५६ करोड ९२ लाख ८७ हजार २ रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड ५७ लाख, आन्तरिक स्रोतबाट १३ करोड ३१ लाख ९० हजार ५ सय ४४ आयको अनुमान गरिएको छ।

बजेटमा ८४ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा, भूमि बैंकमार्फत कोरोना भाइरसका कारण वैदेशिक रोजगारीबाट फर्किएका बेरोजगार युवालाई कृषि तथा पशुपक्षी व्यवसायमा आबद्ध गर्न विविध कार्यक्रम ल्याइएको छ।

प्रकाशित: Jun 24, 2020| 20:15 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्