धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि साढे १ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ।
धनगढीस्थित ओम प्यालेसमा बुधबार आयोजित पाँचौ नगरसभामा उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्रले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन्।
बजेटमा चालु खर्चतर्फ ८५ करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ ७८ करोड ८२ लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, आयतर्फ आन्तरिक आयबाट १९ करोड ९९ लाख ७३ हजार ६ सय ६० रुपैयाँ, वित्तीय समानीकरणबाट २९ करोड २ लाख, राजस्व बाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदानबाट ५० करोड २६ लाख, प्रदेश सरकार समपुरक कोष अनुदानबाट दुई करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदानबाट १ करोड १४ लाख र अन्य आयबाट ४२ करोड ५० लाख २६ हजार ३ सय ४० रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
बजेटमा कोभिड–१९ बाट सिर्जित संकट व्यवस्थापन, कृषि, पूर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रबिधि तथा संचारमा विकासलाई प्राथमिकता दिइएको छ।