काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो एक महिना यता झनै तिब्र गतिमा फैलिएको छ ।
अधिकांश मुलुकहरुले लकडाउन खुकुलो बनाएसँगै कोरोनाको संक्रमणदर ह्वात्तै बढेको हो ।
लकडाउन कायम राख्दासम्म दैनिक एक लाख संक्रमित भेटिने गरेकोमा पछिल्लो एक महिना यता दैनिक १ लाख ५० हजारभन्दा बढि संक्रमित थपिने गरेका छन् ।
छिमेकी मुलुक भारतमा लकडाउन खुकुलो नबनाउदासम्म दैनिक २ देखि ३ हजार ब्यक्ति कोरोना संक्रमित हुने गरेका थिए । अहिले दैनिक १४ देखि १५ हजार नयाँ संक्रमित थपिने गरेका छन् ।
मंगलबार मात्रै एकै दिनमा विश्वभर १ लाख ६२ हजार ९ सयभन्दा बढि व्यक्ति संक्रमित भएका छन् । पाँच दिनअघि जुन १९ मा १ लाख ८२ हजार २ सयभन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको थियो ।
विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारी झनै चिन्ताजनक अवस्थामा पुगेको बताएको छ । उसले सबै मुलुकलाई सचेत हुन आग्रह गर्दै अत्ति प्रभावित देशहरुलाई लकडाउनका विषयमा सोच्न समेत अपिल गरेको छ ।
लकडाउन खुकुलो बनाउदा संक्रमण भयावह रुपमा फैलिएको, सामाजिक दुरी कायम नभएको लगायतका कारणले संक्रमण तिब्र गतिमा फैलिएको विश्व स्वास्थ्य संगठनको ठहर छ ।
पछिल्लो २४ घण्टामा कहाँ कति संक्रमित कतिको मृत्यु
कोरोनाबाट पछिल्लो २४ घण्टामा १ लाख ६२ हजार ९ सयभन्दा बढि व्यक्ति संक्रमित हुँदा ५ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ ।
जसमा सबैभन्दा बढि संक्रमण र मृत्यु ब्राजिलमा भएको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा ४० हजार १ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ ।
अमेरिकामा ३६ हजार १५ व्यक्ति संक्रमित हुँदा ८ सय ६३ जनाको मृत्यु भएको छ । भारतमा १५ हजार ६ सय ६५ जनामा संक्रमण पुष्टि हुँदा ४ सय ६८ जनाको मृत्यु भएको छ ।
मंगलबार मात्रै रुसमा ७ हजार ४ सय २५ जना संक्रमित भएका छन् भने १ सय ५३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ४ हजार ५ सय ७७ जना संक्रमित थपिदा ७ सय ५९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा ४ हजार ५ सय १८ जनामा संक्रमण पुष्टि हुँदा १ सय ११ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ३ हजार ९ सय ४६ जना संक्रमित थपिएका छन् भने १ सय ५ जनाको मृत्यु भएको छ ।
नेपालमा भने पछिल्लो २४ घण्टामा ५ सय ३८ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ भने २४ जनाको मृत्यु भएको छ ।
जोन हपकिन्स विश्वविद्यालयका अनुसार विश्वभर बुधबार बिहानसम्ममा ९२ लाख ३७ हजार ६ सयभन्दा बढि ब्यक्ति संक्रमित भएका छन् भने ४ लाख ७६ हजार ९ सय ११ जनाको मृत्यु भएको छ ।