सुर्खेत- कर्णाली प्रदेशमा आज थप ९ जनामा कोरोना संक्रमण (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज दैलेख, सुर्खेत र जाजरकोटमा गरी ९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
संक्रमितमध्ये दैलेखको भैरवी गाउँपालिका वडा नम्बर २ मा दुई जना, सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ मा दुई जना, वडा नम्बर २, ६, ८ र ११ एक एक जना छन्।
यस्तै, जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ का एक जनामा पनि कोरोना संक्रमण देखिएको छ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणले संक्रमण पुष्टि गरेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
कर्णालीमा थप तीन जना उपचारपछि कोरोनामुक्त भएका छन्। महाशाखाका अनुसार सुर्खेतको मेहलकुना अस्पतालबाट एक र जिल्ला अस्पताल, कालिकोटबाट दुई जना कोरोना संक्रमणमुक्त भएका छन्।
यससँगै कर्णालीमा उपचारपछि निको हुने संक्रमितको संख्या पाँच सय आठ पुगेको छ। त्यहाँ १२ सय ३३ जनामा संक्रमण पुष्टि भइसकेको छ।