आरडीटी पोजेटिभ आएर होम क्वारेन्टिनमै बसेका एक पुरुषको गुल्मीमा मृत्यु भएको छ।
छत्रकोट गाउँपालिकाका ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्यप्रसाद पौडेलले जानकारी दिए।
प्यारालाइसिसको समस्या रहेका उनको क्वारेन्टिनमा छुट्टै व्यवस्थापन गरिएको थियो । उनी जेठ २५ गते भारतबाट आएका थिए। उनको असार ४ गते स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको पौडेलले जानकारी दिए।
मृत्यु भएका पुरूषको आरडीटी पोजेटिभ आएकाले नेपाली सेनाले शव व्यवस्थापन गर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।
छत्रकोट गाउँपालिकामा बिहीबार २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। जिल्लामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ।