बिहीबार, वैशाख ६, २०८१

कहिले र कसरी सुरु भयो फेन्टासी लिग? कसरी खेल्ने?

युरोपियन व्यावसायिक फुटबलको नयाँ सिजन चाँडै सुरु हुँदैछ। क्रिकेट विश्वकप र आईपीएलको बाँकी सिजनका खेल पनि संघारमा छन्। यस्ता ठूला प्रतियोगिता सुरु हुनुअघि चर्चामा रहन्छ– ‘फेन्टासी लिग।’
 |  शुक्रबार, साउन १५, २०७८

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, साउन १५, २०७८

काठमाडौं– युरोपियन व्यावसायिक फुटबलको नयाँ सिजन चाँडै सुरु हुँदैछ। क्रिकेट विश्वकप र आईपीएलको बाँकी सिजनका खेल पनि संघारमा छन्। यस्ता ठूला प्रतियोगिता सुरु हुनुअघि चर्चामा रहन्छ– ‘फेन्टासी लिग।’

triton college

फेन्टासी लिग खेल्न चाहने फुटबल समर्थकलाई यो सिजनको फेन्टासीमा आफ्नो टिम तय गर्न केही दिनमात्रै बाँकी छ। अभ्यासमा फर्किसकेका खेलाडी, केही दिनमात्र बचेको सरुवा बजार (ट्रान्सफर विन्डो) र खेलाडीको चोटको निर्क्योलपछि अहिले समर्थकले फेन्टासी टिममा धमाधम खेलाडी छान्न थालेका छन्। 

डिजिटल खेलमा रमाउने युवा जमातलाई लक्षित गरिएको फेन्टासी लिगमा विश्वभरका लाखौं मानिसको आबद्धता रहन्छ। त्यति मात्र होइन, वास्तविक फुटबलमा जस्तै राम्रो र नराम्रो प्रदर्शन, खेलाडीको चोट, सरुवा बजार हुँदै टीकाटिप्पणीसम्मका कुराले फेन्टासी लिगलाई रोमाञ्चक पारिरहेको हुन्छ।

अझ भनौँ, टिम बनाउनका लागि छुट्याइएको सय मिलियन रकमले कुन खेलाडीलाई टिममा राख्ने र कसलाई नराख्ने भन्ने चिन्ता रहिरहन्छ। आफूले चयन गरेको खेलाडीले राम्रो गर्न सके खुसी र राम्रो गर्न नसके अर्को चरणमा राम्रो गर्ने अठोटले खेलमा अर्कै प्रकारको रोमाञ्चकता पनि थपिन्छ।

मुख्यतः इन्टरनेटको सहज पहुँचले पनि फेन्टासी लिग युवाहरु माझ लोकप्रिय बन्दैछ। नेपाली युवामा पनि यसप्रतिको प्रेम बढ्दो रुपमा देखिन्छ। फेन्टासी लिग खेल्ने भनिए पनि यो खास खेल भने होइन। यो त आफूलाई उत्कृष्ट लागेका काल्पनिक टिम निर्माण गर्ने एक प्रक्रिया पो हो।

corrent noodles
Metro Mart

त्यसैले यसमा खेल्ने व्यक्ति खेलाडी छनोट गर्ने र राम्रो टिम बनाउने  व्यवस्थापकको भूमिका हो। त्यहाँ हामीले आउँदो खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीहरुको काल्पनिक टिम बनाउन सक्छौं। र, एक चरणको खेल सकिएपछि उनीहरुलाई परिवर्तन गर्न पनि सक्छौं। यसरी खेलाडी परिवर्तन गर्दा त्यसको मानक उसको प्रदर्शनलाई बनाइन्छ। 

आफूले बनाएको टिमका खेलाडीले उक्त लिगमा उत्कृष्ट प्रदर्शन गर्न सके आफूलाई अंक प्राप्त हुन्छ। सो अंकका आधारमा आफू विजेता हुन सके फेन्टासी लिग खेलाउने आयोजकले विभिन्न पुरस्कार दिने गर्छन्। इंग्लिस प्रिमियर लिगको अफिसियल फेन्टासी लिग ‘फेन्टासी फुटबल म्यानेजर’ले विजेतालाई रंगशालामै उपस्थित भएर खेल हेर्ने सुविधा दिने गरेको छ। त्यसैले लिगमा समावेश उत्कृष्ट खेलाडीको टिम जसले राम्रो बनाउन सक्छ, उसले यसमा जित निकाल्न सक्छ।

अहिले फुटबलको नयाँ सिजन सुरु हुन लाग्दा फुटबल समर्थक माझ फेन्टासीको खुब चर्चा छ। विश्वका जुनसुकै ठूला लिगमा फेन्टासी लिग खेलाउन थालिएको धेरै वर्ष अघिदेखि हो। 

कसरी सुरु भयो फेन्टासी लिग?

जब फेन्टासी लिग सुरु भयो, यो फेन्टासीकै रुपमा भने सुरु भएको होइन। त्यतिबेला यसलाई ‘रोटिसुरी’ भनेर चिनिन्थ्यो। यसको सुरुआत त दोस्रो विश्वयुद्ध पछिबाटै सुरु भएको मानिन्छ। फुटबलको पहिलो रोटिसुरी लिग १६६२ मा गरिएको प्रमाण भेटिएको छ।

त्यसअघि यसको प्रयोग गल्फ बेसबलमा गरिएको थियो। उतिबेला इन्टरनेटको सुरुआतै भएको थिएन। त्यसैले गल्फका पुराना खेलाडी र अफिसियल मिलेर यो काम सुरु गरेका थिए। बेसबल सेमिनारका रुपमा बेलबलमा पनि रोटिसुरी सुरु भयो। उतिबेला उनीहरुले कागजमा टिम बनाउँथे र ती खेलाडीले गरेको प्रदर्शनअनुसार अंक पाउँथे।

कागजमा खेलिएको फेन्टासी लिगको प्रतीकात्मक तस्बिर

फेन्टासी लिगको विकास त तब भयो, जब रोटिसुरी बेसबल लिग १९८० सँगै फेन्टासी जोडिन पुग्यो। न्युयोर्कको एक रेस्टुरेन्टमा खेलसम्बन्धी छलफलहरु हुन्थे। खेल अधिकारी, समर्थक र खेल पत्रकारहरु खेलबारे बहस र वादविवाद गर्थे। त्यहीँबाट सुरु भएको थियो रोटिसुरी। जहाँ लेखक एकम् सम्पादक ड्यानियल ओक्रेन्ट आफ्ना साथीसँग ‘भेट ला रोटिसुरी फ्रेन्चाइज’ खेल्ने गर्थे।

खेलको आविष्कार यसरी भएको थियो कि रोटिसुरी लिगका मालिकले सक्रिय खेलाडीहरूबाट टिमको मस्यौदा बनाउनु पर्ने हुन्थ्यो। र, सिजनभर उनीहरुको प्रदर्शनको मूल्यांकन र स्कोरको तुलना गनुपर्ने हुन्थ्यो।

अर्थात् बेसबलका व्यवस्थापकले जस्तो उनीहरुले खेलाडीको खेल्ने समय, स्वास्थ्य र भावी प्रदर्शनबारे आँकलन गर्नुपर्ने थियो। सायद ओक्रेन्ट मिडियाका सदस्य भएकाले होला उनका साथीहरु पनि पत्रकारहरू नै थिए। खासगरी खेल पत्रकार। र, उनीहरूले अघिल्लो वर्षको बेसबल लिगमा रोटिसुरीबारे कोलम लेख्न सुरु गरिसकेका थिए।

त्यतिबेला नै मोडर्न फेन्टासी लिगको जग बसेको हो। त्यसैले रोटिसुरी लिगको चर्चा र प्रचार सुरु भयो। खेलाडी र समर्थकले पनि रोटिसुरी लिगबारे चासो दिन थाले। त्यस्तैमा १९८० जुलाई ८ मा न्युयोर्क टाइम्समा प्रकाशित एक लेखले त तुफानै ल्यायो। त्यो तुफानमा अन्य मिडिया पनि हिस्सेदारी बने। अनि त पत्रिका र टेलिभिजनले पनि रोटिसुरीबारे प्रकाशन–प्रसारण नगरी हुँदै भएन।

१९८० मा रोटिसुरी लिगका सुरुवातकर्ताहरु

१९८१ को मार्चमा ओक्रेन्टले इन्साइड स्पोर्टसमा अर्को लेख लेखे– जर्ज फ्रोस्टर ३९ डलरका पनि नभएको त्यो वर्ष। त्यो लेखमा उनले खेलका नियमबारे जानकारी दिएका थिए। त्यसको तीन वर्षपछि रोटिसुरी लिगका सुरुवातकर्ताहरुले किताब नै सार्वजनिक गरे। त्यहाँ लिगको नियम लेखियो, जानकारी दिइयो र खेल्नका लागि सहज बनाइयो।

त्यसमा उर्जा भर्ने काम बेसबल लेखक बिल जेम्सले नै गरे। उनी फेन्टासी खेलाडी त थिएनन् तर उनको लेखले मानिसलाई फेन्टासीमा लोभ्यायो। त्यसको केही वर्षपछि त फेन्टासीलाई ओक्रेन्टले चर्चाको नयाँ शिखरमा पुर्याए। एकातिर फेन्टासीमा विज्ञ र व्यवसायीको शोख बढ्दै गयो, अर्काेतिर ओक्रेन्टले कलेजका युवासँग फेन्टासी सुरु गरे।

त्यही समय पहिलो पटक थियो, जहाँ फेन्टासीका लागि पत्रिका सुरु भयो। त्यो पत्रिकाको नाम थियो– बेसबल साप्ताहिक। जहाँ लिगमा बेस्ट स्कोररको विस्तृत विवरण र तथ्यांक दिइएको हुन्थ्यो। त्यसैको धरातलमा टेकेर १९८९ मा पहिलो फेन्टासी स्पोर्टस म्यागजिन सुरु भयो। जसले एकभन्दा धेरै फेन्टासी खेल समावेश गर्ने गरेको थियो। र, १९९२ मा पहिलोपटक फुटबलको फेन्टासी सुरु भएको थियो।

इटालीमा १९९१,९२ मा तयार गरिएको फेन्टासी टिम

१९८९ मा त्यतिबेला चलेका फेन्टासी लेखक बेन्सनले पुस्तक नै प्रकाशन गरे। १९९० मा उनले बनाएको सफ्टवेयर त अझैसम्म पनि बिक्री हुने गरेको छ।

यता फुटबलमा फेन्टासी खेलको विकास गर्ने मुख्य श्रेय भने इटालियन पत्रिका ला गाज्जेट्टेला डेल्लो स्पोर्टलाई जान्छ। उसले १९९४ मा आफ्नो पत्रिकाको पानामा फेन्टासीको आयोजना गरेको थियो। त्यसका लागि चाहिने खेलाडी वरीयता पनि प्रकाशन हुन्थ्यो। त्यो एकै वर्ष इटालीमा फेन्टासी खेल्नेको संख्या १० हजारबाट ७० हजार पुगेको थियो।

अनि सुरु भयो मोडर्न फेन्टासी

विज्ञान र प्रविधिको विकाससँगै खेलहरूको मोडल परिवर्तन हुँदै जानु नौलो कुरा रहेन। खेललाई थप व्यवस्थित बनाएसँगै फेन्टासी पनि इन्टरनेटमा जोडियो। अब फेन्टासी कागजनको भरमा मात्र चल्न छोड्यो।

१९९५ पछि इन्टरनेटको व्यापकता बढेसँगै फेन्टासी लिग इन्टरनेटमा चलाउन सकिने हुन थाल्यो। इमेल, मेसेजिङ, इन्टरनेट फोन, दोहोरो अन्तरक्रिया र वर्ल्डवाइड वेबको प्रभावसँगै फेन्टासी खेलको सहजता पनि बढ्यो। र, यसको डिजिटल प्रयोग सुरु भयो।

त्यसको फाइदा लिँदै क्यानेडियन कम्पनी मेल्सन ब्रेभरिजले ‘आइएम अनलाइन’ भन्ने लोकप्रिय स्लोगन विकास गर्यो। यो खासगरी संगीत, मनोरञ्जन र हकीमा केन्द्रित फेन्टासी थियो। उसले दर्शकलाई आफ्नो नाम रजिस्टर गराउने र हकीका ९ मध्ये एक अनलाइन टिम बनाउन लगाउने गर्थ्यो। त्यसैले हरेक दर्शक फरक फरक एक टिमका व्यवस्थापक हुन्थे।

उनीहरुले आफ्नो टिम बनाउने र खेलाडी बेच्न सक्थे। त्यसको सूचना उनीहरुलाई इमेलमार्फत प्राप्त हुने गर्थ्यो। सुरु गरेको एक वर्षमै त्यो साइट विश्वको उत्कृष्ट डिजिटल मिडियामा पर्न सफल भयो।

फेन्टासीकै लागि १९९७ मा स्थापना भएको कमिसनर डटकम तीन वर्षमा ३१ मिलियन डलरको भइसकेको थियो भने २००३ मा ११ मिलियन अमेरिकी डलर आम्दानी गर्न सक्ने भइसकेको थियो।

२१ औं शताब्दी सुरु हुनुअघि नै सीबीएस स्पोर्टस, रोटोन्युज, रोटोवायर, फ्यानबल, याहुले फेन्टासी खेलको सुरु गरिसकेका थिए। त्यसको बजार अन्य खेलमा पनि फैलिँदै गयो। त्यसताका अमेरिकी कम्पनीले २९.६ मिलियनको संख्यामा १८ वर्ष वा सोभन्दा माथिको उमेर समूहका मानिसले प्रयोग गरे।

२१ औं शताब्दी सुरु हुँदै गर्दा अमेरिकी बजारको इन्टरनेट मार्केटमा सेयरको उछाल आएको थियो। त्यसले त अन्य व्यवसायसँगै फेन्टासी बजारलाई पनि अर्को चरणमा पुर्याएको थियो। त्यसपछि बजार निकै अस्थिर भए पनि मानिसको फेन्टासी शोख कम भएन। १८ वर्षअघिको समयमा नै एक करोड ५० लाख मानिसले फेन्टासी फुटबल खेलेका थिए।

उनीहरुले हरेक वर्ष १५० अमेरिकी डलर खर्च गर्दथे। त्यसले फेन्टासीलाई डेढ विलियन अमेरिकी डलरको उद्योग बनायो। आठ वर्षअघि सर्वजनिक फोर्ब्सको तथ्यांकलाई विश्वास गर्ने हो भने पनि तीन करोड २० लाख अमेरिकी फेन्टासीमा रमाउँछन् र उनीहरुले वार्षिक औसत ४६७ अमेरिकी डलर लगानी गर्छन्।

त्यसले त यो उद्योगलाई विश्वको उत्कृष्टमध्येमा ल्याएको छ। २००७ मा फेन्टासी स्पोर्टस लाइभ सुरु भएयता दैनिक फेन्टासी सुरु भएको हो। दुई वर्षअघि नै अमेरिकामा ८० करोडभन्दा ठूलो उद्योगको रुपमा उदाइसकेको छ यो। त्यही वर्ष इन्डियामा पनि एक करोड ५० लाख अमेरिकी डलरको प्रोफाइल रेटिङ पाएको छ। २०२२ को अन्त्यसम्ममा यो संख्या एक करोड ४० लाख पुग्ने अनुमान गरिएको छ।

र, अहिले यो सहज रुपमा उपलब्ध हुनुमा उच्च प्रविधियुक्त एन्ड्रोइड फोनको योगदान छ। जसमा ड्राफ्टकिङ, ड्रिम११ र एमपीएलजस्ता कम्पनीले नयाँ एप्लिकेसन बनाएर बिक्री गरिरहेका छन्।

पछिल्लो सिजन ड्रिम११ ले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रायोजन गर्दा यसले फेन्टासी बजारमा आफ्नो पनि ठूलो हिस्सा बनाएको थियो। क्रिकेटमा निकै पछि सुरु भको फेन्टासीले फुटबल, हकी, बेसबल, सकर, बास्केटबल र कार रेसिङमा निकै अघिबाट आफ्नो स्थान बनाएको छ। 

 

(यो सामग्री ग्लोब न्यूज वायर, मार्केटवाच र फेन्टासी इन्डेक्स लगायतको सहयोगमा तयार पारिएको हो)


प्रकाशित: Jul 30, 2021| 12:15 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।