पोखरा- गण्डकी प्रदेशका चार जिल्लामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा १४ जना, कास्कीमा ६ जना र स्याङ्जा तथा पूर्वी नवलपरासीका दुई-दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबैजना भारतबाट फर्किएका हुन् । सबै सम्बन्धित गाउँपालिका/नगरपालिकाको क्वारेन्टाइनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
शुक्रबार बिहान थपिएका २४ संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ । बिहीबार ७७ जनामा संक्रमण पुष्टि भएको थियो ।