विचार

राजनीतिको चीरहरण र सामूहिक असफलता

1596789572khanalsir.jpg

पाण्डव र कौरवबीच सत्ता विवादले द्वापर युगमा महाभारत युद्ध भएको थियो। तर, महाभारत युद्धकालीन राजनीतिका बाछिटाले अहिलेको युगलाई झन् बढी प्रभावित बनाइरहेको छ।

राजनीतिलाई समाज, अर्थ र नीतिका माध्यमबाट बुझ्न अध्ययन, मेहनत र त्याग चाहिन्छ। महाभारतको अध्ययन र मनन पनि त्यति सजिलो छैन।
त्यसैले अध्ययन र चिन्तनको लेठो गर्नुभन्दा महाभारतको दाउपेच राजनीति सिक्न भारतीय टेलिभिजन सिरियलले सजिलो बनाइदिएको छ।

महाभारतका मन लागेका पात्रहरूमा आफ्नो र विरोधीको चरित्र प्रतिस्थापन गरेर व्याख्या गर्न सक्ने खुबी विकास गरे आजको राजनीति हाँक्न मनग्गे हुन्छ।

द्वापर युगमा कौरव र पाण्डवको राजनीति जुवाको खालसम्म तानिएपछि द्रौपदीसमेत दाउमा परिन्। कौरवले भारी सभामा जुवामा जितिएकी द्रौपदीको चीरहरण गरे। राजनीतिको जुवामा पराजय भोग्नेको चीरहरण नौलो कुरा होइन। युगौं युगदेखि चलिआएको सनातनी यो खेलमा अचम्म मानिरहनु पर्दैन।

अचम्म मान्नुपर्ने कुरा त अर्कै छ। त्यो हो नेपालको राजनीतिमा कोही विजयी र पराजयी छैनन्। अनेकौं रुप र रंगमा राजनीति गर्नेहरु सबै एकै ठाउँमा भेला भएका छन्। व्यक्तिवादी महत्त्वाकांक्षाको एउटै वस्त्र लगाएका छन्। सबै मिलेर राजनीतिकै चीरहरण गरिरहेका छन्।

राजनीति गर्ने नाममा राजनीतिको चीरहरण गर्ने अनौठो प्रवृत्तिले नेपालको राजनीतिशास्त्र स्वयं लज्जित भएको हुनुपर्छ।

लामो संघर्ष गरेका राजनीतिक दलहरुको अकर्मण्यता, अक्षमता र भ्रष्ट आचरणबारे बोल्न र लेख्न आवश्यक छैन। उनीहरुका बारेमा लेखक र विश्लेषकभन्दा आमनागरिक बढी जानकार छन्।

समस्या पुराना पार्टीका नेताहरुले सकेनन् भन्ने होइन। बरु पुराना पार्टीहरुको विकल्पमा किन नयाँ पार्टीहरु विकास हुन सकेनन् भन्ने हो। अथवा पुराना पार्टीभित्र पुराना नेताहरुको विकल्पमा किन नयाँ नेतृत्व जन्मिन सकेनन् भन्ने हो। अथवा जन्मिएको दाबी गर्नेहरु किन टिक्न सकेनन् भन्ने पनि हो।

राजनीतिक दल वा नेतृत्व समाजको आवश्यकता, उक्त आवश्यकताको पहिचान र समाधानको उपायसहित प्रस्तुत हुने हो भने मात्र त्यसले जन्मिने र हुर्कने जमिन प्राप्त गर्छ। किनकि समाजको आवश्यकताका सर्तहरुले कुनै व्यक्ति विशेषको इच्छा, आग्रह र अनुराग चिन्दैनन्।

समाजको आवश्यकताले उत्पन्न गर्ने संघर्षले मात्र परिवर्तनको ढोका खोल्छ। कुनै दल, समूह वा व्यक्ति उक्त सामाजिक परिघटनाका उत्प्रेरक पात्र मात्र हुन्छन्।

यसको अर्थ कार्ल माक्र्सले भनेजस्तै जसले र जुन बेला चाहँदैमा समाज परिवर्तन भइहाल्दैन। परिवर्तनका लागि स्वयं समाज आफू परिपक्व र तयार हुनुपर्छ। अर्थात् समाज विकासको एउटा निश्चित परिस्थितिले प्रदान गरेको घेराभित्र मात्र थप परिवर्तन गर्न सकिन्छ। कुनै व्यक्तिको निजी लहडले मुलुक परिवर्तन हुँदैन। समाजको चरित्रलाई नबुझीकन समाज बदल्न सकिँदैन। समाज परिवर्तन गर्न नसक्ने समूह राजनीतिक दल बन्दैन। समाजको आवश्यकतालाई अग्रगामी दिशामा बदल्न नसक्ने व्यक्ति नेता पनि बन्दैन।

राजनीति, दल र नेतृत्व भन्ने अवयव एक्लाएक्लै हुँदा जुन अर्थ लाग्छ, तीनवटै अवयव एउटै ठाउँमा मिलाउँदा नितान्त बेग्लै अर्थ लाग्छ।

यसको मतलब के हो भने प्रत्यक्ष राजनीति गर्ने व्यक्तिले बुझ्नुपर्ने ‘राजनीति’ र राजनीति नगर्ने तर जान्न मात्र खोज्ने व्यक्तिले बुझ्नुपर्ने ‘राजनीति’ को अर्थ र आयाम फरकफरक हुन्छ।

कुनैकुनै समयमा त यो अचम्मलाग्दो गरी उल्टोसमेत हुन्छ। किनकि कुनै राजनीतिक घटना र प्रवृत्तिलाई राजनीतिशास्त्रको एउटा प्राध्यापक, दलका नेता, राजनीति नगर्ने कलाकार, अर्को कुनै राजनीतिप्रति चासो मात्र राख्ने व्यक्ति आदिले फरकफरक ढंगले बुझ्छन्।

यहींबाट आरम्भ हुन्छ, राजनीतिको चीरहरण। आजको तातो राजनीतिक घटनाक्रमलाई आधार बनाएर राजनीतिक चीरहरणको चर्चा अझ प्रस्ट पार्न सकिन्छ।

प्रधानमन्त्री तथा नेकपाका एक जना अध्यक्ष केपी ओली ठान्छन्– आफ्नै पार्टीका अन्य शीर्ष नेताहरूले उनको राजीनामा मागेर राजनीतिको चीरहरण गर्दैछन्। अर्कोतिरको स्थिति ठीक विपरीत छ- ओलीले पार्टी र शीर्ष नेताहरुको सल्लाह र सुझावबिना एकलौटी सत्ता चलाएर राजनीतिको चीरहरण गर्दैछन्।

राजनीतिसँग प्रत्यक्ष सरोकार नरहेका तर सरकारको भूमिकासँग मात्र असन्तुष्ट नागरिकको राजनीतिप्रतिको बुझाइ र आलोचनाको अर्थ बेग्लै हुन्छ। राजनीतिसँग प्रत्यक्ष सरोकार नरहे पनि राजनीतिलाई प्रयोग गरेर आफ्नो पेसा वा व्यवसाय गरिरहेका व्यक्तिहरुको राजनीतिप्रतिको आलोचना र असन्तोषको अर्थ बेग्लै हुन्छ।

यसको मतलब पहिलो समूहले जतिसुकै आलोचना वा असन्तोष व्यक्त गरे पनि उसले राजनीतिको चीरहरण गर्दैन। बरु आलोचना र असन्तोषमार्फत दल वा नेताप्रतिको आफ्नो समर्थनमा परिवर्तन गर्छ। यस प्रकारको नागरिक असन्तोष लोकतन्त्रमा सकारात्मक कुरा हो।

तर दोस्रो समूह राजनीति नगरे पनि राजनीतिको निरपेक्ष समर्थक वा विरोधी हुन्छ। उसको समर्थन वा विरोध कुनै अमुक दल वा नेताले गर्दा आफ्नो पेसा र व्यवसायको नाफा-घाटाका आधारमा राजनीति र राजनीतिक नेतृत्वप्रतिको अवधारणा बनाउँछ। यस्तो नागरिक समूहले राजनीतिक दल तथा त्यसको नेतृत्वलाई प्रभावित तुल्याएर राजनीतिको चीरहरण गर्छ। यसलाई अचेल बिचौलिया भन्ने शब्दले बुझ्न सकिन्छ।

राजनीतिको चीरहरणमा उत्प्रेरकको भूमिकामा नेता, कर्मचारी, उद्योगी व्यवसायी, नागरिक अगुवा, बुद्धिजीवी, अधिकारर्मी, प्राध्यापक, पत्रकार आदि जुनसुकै व्यक्ति पनि हुन सक्छन्। उसले राजनीतिक दलका प्रभावशाली नेताहरूलाई साथमा लिएर राज्यदोहन प्रक्रियामा मुख्य संयोजनकारी भूमिका खेल्छ। नेता, व्यापारी र कर्मचारीको त्रिकोणात्मक सम्बन्ध स्थापित भएपछि राजनीतिको चीरहरण सहज रुपमा हुन्छ।

नेकपाका केही शीर्ष नेताहरुको मुख्य संघर्ष यही बिचौलिया वर्गको सहयोगमा राज्यदोहनको भागबण्डामा केन्द्रित छ। आजको राजनीतिले निर्वाचनलाई जति महँगो बनाउँदै छ, त्यति नै बिचौलियाका माध्यमबाट आर्थिक अनियमितता गर्नैपर्ने हुन्छ। आर्थिक अनियमितताका लागि सबैभन्दा सजिलो माध्यम हो, राज्यदोहन। यसका लागि पार्टी र सरकारको नेतृत्वमा पुग्नैपर्ने हुन्छ। यो सवाल नेकपाको विवादमा मात्र सीमित छैन, नेपाली कांंग्रेस लगायतका दलका हकमा पनि लागू हुन्छ।

प्रमुख दलहरुको दलीय संरचना र त्यसको नेतृत्वलाई हेर्ने हो भने वर्षौंदेखि एउटै व्यक्ति नेतृत्वमा रहिरहनु व्यक्तिवादमा आधारित राजनीतिक संरचनामार्फत सम्भव भएको हो। त्यति मात्र होइन, वर्षौंसम्म एउटै नेतृत्व, उसकै नजिकका नेता र आफन्तले मात्र लाभका पदहरुमा रहिरहने मौका पाउन राजनीतिको चीरहरणबाटै सम्भव हुन्छ।

अहिलेको सत्ताधारी र प्रतिपक्षी दलका केही निश्चित नेताहरु केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाले मात्र पार्टी नेतृत्व गर्न सक्नु भनेको राजनीतिक सत्ता र शक्तिको अतिरिक्त केन्द्रीकरणले सम्भव तुल्याएको हो।

शक्ति र सत्ताको अतिरिक्त केन्द्रीकरणले नागरिक र दलका सदस्यहरुको अधिकार कमजोर तुल्याएर केही व्यक्तिलाई प्राधिकारको तहमा उभ्याइदिन्छ।

हालै चलिरहेको तर शीर्ष नेताहरुको भागबण्डा नमिलेर स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठकलाई राजनीतिक चीरहरणको एउटा सजीव उदाहरणका रुपमा लिन सकिन्छ।

नेपालका परम्परागत राजनीतिक पार्टीहरुले राजनीतिको चीरहरण गरेका अनगिन्ती उदाहरण छन्। यसको विस्तृत चर्चा गर्ने हो भने ठूलाठूला ठेली नै बन्छन्। उनीहरूले बुझेको र गरेको राजनीतिप्रति आमनागरिकको वितृष्णालाई विचार, संरचना र सन्दर्भको आलोकमा नयाँ दिशा दिने गतिलो प्रयत्न हुन नसक्नु अर्को विडम्बना छ।

यसको अर्थ आजको राजनीतिप्रति नागरिकमा जतिसुकै अप्रिय र आक्रोश भए पनि परम्परागत दलका शीर्ष नेतालाई कुनै चुनौतीको अनभूति छैन। मुलुक निरन्तर असफलतातिर डोरिइरहेका बेला परम्परागत राजनीतिक नेतृत्वले आमनागरिकलाई यो हदसम्म हेप्न सक्नु स्वाभाविकै हो।

जुनसुकै वृत्तबाट दल र नेतृत्वलाई प्रश्न सोधे पनि स्वयं प्रश्नकर्तासमेत असफलताको घेराभित्रै परिसकेको छ। मुलुकको कुनै यस्तो क्षेत्र बाँकी छैन जसले आफू सफल भएको र अरू असफल भएको आरोप लगाउन सकोस्।

एकले अर्कोलाई लगाएका हरेक आरोप स्वयं आफ्नै लागि समेत लागू हुने अवस्था उत्पन्नु हुनु भनेकै सामूहिक असफलताको संकेत हो। त्यसैले आज मुलुक यस्तो निरीह अवस्थामा पुगेको छ, कसैको कुरा कसैले सुन्दैन। यही तथ्यको राजनीतिक कथ्य आजको यथार्थ हो।

मुलुक तीव्र गतिमा सामूहिक असफलतातिर लम्किँदै छ। जसलाई देखाएर पुराना दलहरुले राजनीतिक राहतको फाइदा लिइरहेका छन्। पुराना दल र नेताहरु मात्र असफल भएका तर मुलुकका अन्य अवयव सफल हुन्थे भने आत्तिनुपर्ने कुनै कुरा थिएन। तर आज मुलुकका कुनै क्षेत्र पनि सफल छैनन्। एकले अर्कोलाई असफल भन्दै र मान्दै गर्दा उसको पनि असफलता सँगसँगै उजागर भइरहेको छ।

न त केपी ओलीलाई असफल मान्दै गर्दा प्रचण्ड वा माधव नेपाललाई सफल मान्न सकिने स्थिति छ, न नेकपालाई असफल पार्टी मान्दा अर्को कुनै पार्टीलाई सफल मान्न सकिने अवस्था छ। सत्तापक्षलाई असफल भन्दै गर्दा प्रतिपक्षीको अवस्था पनि उस्तै छ। अर्कोतिर न कुनै लोकतान्त्रिक संस्थाहरु सफल छन् न कुनै संवैधानिक र कूटनीतिक क्षेत्र। नागरिक समाज, मिडिया र अन्य गैरसरकारी क्षेत्र सफल रहेको भए यो हदसम्मको राजनीतिक असफलता र चीरहरणलाई कुनै न कुनै प्रकारको चुनौती दिन सक्थ्यो होला। यस्तो मुर्दाशान्ति हुँदैनथ्यो होला।

त्यसकारण मुलुकको वर्तमान सामूहिक असफलताका लागि राजनीतिक चीरहरणको भूमिका मुख्य होला। तर राजनीतिको चीरहरणलाई देखाएर अरू कुनै पनि क्षेत्र उम्किन सक्ने स्थिति छैन।

त्यसैले आजको सामूहिक असफलताको उपचार पनि सामूहिक रूपमै खोजिनुपर्छ। आजको नेपालमा कुनै एउटा असफल क्षेत्रलाई सफल पारेर बाँकी सबै क्षेत्र सफल हुने स्थिति किमार्थ छैन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट