शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमण तेस्रो चरणमा, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो

कोरोना संक्रमण तेस्रो चरणमा, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो

सोमबारसम्मको तथ्यांकअनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ भने मृत्यु हुनेको संख्या १९ छ ।
 |  सोमबार, असार १, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, असार १, २०७७

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छ। सरकारले तयार गरेको ‘कोभिड–१९ हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अनुसार कोरोना तेस्रो चरणमा प्रवेश गरेको हो ।

triton college

प्लानअनुसार ५ हजारभन्दा बढी सक्रिय ‘केस’ भएपछि कोरोनाको तेस्रो चरण घोषणा गरिनेछ । संक्रमणको स्थितिअनुसार स्वास्थ्य संकटकाल घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको पनि थियो। तर, कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले सहमति नजनाएकाले उक्त प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको छैन।

स्वास्थ्य संकटकाल घोषणा गरेपछि लक्षणविहीन कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिने छैन ।

‘कोभिड–१९ हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अनुसार सक्रिय २ हजार केस पुगेपछि संक्रमण दोस्रो चरणमा प्रवेश गरेको मानिन्छ। त्यसपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिने प्लानमा उल्लेख छ।

तर, अहिलेसम्म संकटकाल घोषणा भने भएको छैन। हेल्थ इमरर्जेन्सी घोषणा गरेपछि विश्व स्वास्थ्य संगठनले घोषणा गरेको ग्लोबल इमर्जेन्सी र महामारीका सर्तहरु स्वतः लागू हुन्छन् । त्यसैगरी सरकारले अन्तर्राष्ट्रिय मानवीय सहायताको लागि आह्वान गर्न सक्नेछ । लक्षणविहीन संक्रमितलाई घर या क्वारेन्टिनमै राख्ने र लक्षण भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गरिनेछ।

corrent noodles
Metro Mart

हेल्थ इमर्जेन्सी घोषणा नभए पनि रेस्पोन्स प्लानअनुसार अब निजी अस्पताल र त्यहाँका जनशक्ति सरकारले चाहेअनुसार परिचालन गर्न पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरमणि अधिकारी बताउँछन् । ‘अब सरकारले स्वास्थ्य समस्या भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गर्न पाउँछ । अन्य लक्षण नभएका संक्रमितहरुलाई घरमै क्वारेन्टिन बस्ने र समस्या भएमात्र अस्पताल ल्याइनेछ,’ उनले भने।

उनका अनुसार यसपछि विश्व स्वास्थ्य संगठनले घोषणा गरेको ग्लोबल इमर्जेन्सीका सर्तहरु स्वतः लागू हुनेछन्। प्लान अनुसार ५ हजारदेखि १० हजार संक्रमित पुगेमा तेस्रो चरणको उपचार रणनीति लागू हुनेछ। यसपछि स्वास्थ्य समस्या भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गरिनेछ।

१० हजारभन्दा माथि संक्रमित पुगेको अवस्थामा विपत जोखिम न्यूनीकरण व्यवस्थापन ऐन अनुसार आपतकालिन अवस्था घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ । अन्यलाई भने घरमै क्वारेन्टिनमा राखिने र समस्या भएमा मात्र अस्पताल लगिनेछ।

१० हजार सक्रिय केस रहेको अवस्थामा अधिकतम ८ हजार संक्रमितलाई सामान्य उपचार तथा आइसोलेसनमा राख्नुपर्ने हुन्छ भने १५ सय जनालाई अक्सिजन चाहिने र ५०० लाई आइसियूमा राख्नुपर्ने अवस्था आउँछ । १० हजारभन्दा बढी मानिसमा संक्रमण भएपछि चौथो चरणको रणनीति लागू हुनेछ। त्यसपछि सबै अस्पतालमा कोभिड १९ को बिरामी राख्ने योजना मन्त्रालयको छ।

उक्त प्लान अनुसार दुई हजारभन्दा माथि पाँच हजारसम्म संक्रमित भएको अवस्थामा बढीमा ४ हजारलाई सामान्य उपचार तथा आइसोलेसन बेड, ७५० लाई अक्सिजन र २५० जना संक्रमितलाई आइसियूमा राख्नुपर्ने अवस्था आउन सक्ने बताए पनि नेपालमा यो अवस्था आएको छैन ।

१० हजारभन्दा माथि संक्रमित भएमा देशका सबै अस्पतालमा कोभिडका बिरामीको उपचार गरिनेछ भने १५ सयभन्दा बढीलाई अक्सिजन र पाँच सयभन्दा बढीलाई आईसीयू चाहिने मन्त्रालयको अनुमान छ ।

कति छन् आइसियु र भेन्टिलेटर ?

नेपालमा लकडाउन सुरु हुँदा (चैत ११) जम्मा दुई जना कोरोना संक्रमित थिए । भर्खर कोरोना संक्रमितहरु भेटिन सुरु गरेको अवस्थामा सरकारले १६ हजार क्वारेन्टिन बेड संख्या, १३ सय आइसोलेसन बेड र ७७० भेन्टिलेटर तयार रहेको जनाएको थियो । तर नेपालमा हाल करिब ६ हजारको हाराहारीमा कोरोना संक्रमित पुगिसकेका छन् ।

सुरुवातमा सरकारले १६ हजार क्वारेन्टिन बेड संख्या भएकोमा हाल २ लाख ३५ हजार ५ सय ९६ क्वारेन्टिन संख्या बनाइएको छ । १ हजार ३०० आइसोलेसन बेड संख्यालाई बढाएर ६ हजार ६७१ पुर्याइएको छ भने आइसियूको संख्या हाल देशैभर १ हजार ७०२ छ । त्यस्तै ७७० रहेको भेन्टिलेटर संख्यालाई बढाएर ९०० पुर्याइएको छ ।

‘यो संरचनाले धान्दैन’

संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा अहिलेको संरचनाले धान्न नसक्ने इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन् ।

‘करिब ३ महिनाको अवधिमा कोरोना फोकस अस्पताल बनाउन सकिन्थ्यो,’ उनले भने, ‘सरकारको इच्छाशक्ति नभएको हो कि नबुझेको हो ? नेपालमा महामारीको फैलावटको दर अहिलेसम्म त्यति रफ्तारमा गएको छैन । यो समय महामारीले हामीलाई काम गर्न समय दिएको हो । तर, हामीले समयको सदुपयोग गर्न सकेनौँ । यसले भोलि ठूलो संकट निम्त्याउने खतरा छ ।’

पूर्व स्वास्थ्य सचिव तथा जनस्वास्थ्य विज्ञ डा. सनेन्द्रराज उप्रेतीका अनुसार नेपालमा अहिलेसम्म संक्रमितको अवस्था गम्भिर देखिएको छैन । तर नेपालमा कोरोना संक्रमितको अवस्था गम्भीर हुँदैन वा यहि अनुपातमा संक्रमण हुन्छ, यहि अनुपातमा विरामीको अवस्था रहन्छ भन्ने मानसिकता रहेमा गम्भीर अवस्था आउन सक्छ ।

डा. उप्रेती भन्छन्, ‘अहिलेसम्म सिरियस बिरामीको दर कम छ, त्यसैले नेपालमा कुनै समस्या देखिएको छैन । तर भोलिका दिनमा दर कम हुन्छ भनेर बस्ने अवस्था छैन । अहिले प्रारम्भिक अवस्थामा देखिएको संक्रमण र समुदायमा संक्रमण फैलिइसकेपछिको अवस्था फरक हुन्छ । अहिले हामी प्रारम्भीक चरणमै छौं, यो समयमा थोरै देखियो भनेर बस्ने अवस्था छैन । तर भोलि समुदायमा संक्रमण फैलिएपछि भयावह अवस्था आउन सक्छ ।’

साउन महिना सुरु भएसँगै महामारीले चरम अवस्था आउनसक्ने विज्ञहरुको आंकलन रहेको डा.उप्रेतीले बताए । उनले भने, ‘अहिलेको अवस्था हेर्दा नेपालमा ७० हजारदेखि एक लाख ३० हजारसम्म संक्रमण हुन सक्ने विज्ञहरुले आंकलन छ ।’

अन्य देशको तुलनामा ५ हजारसम्म सक्रिय ‘केस‘ देखिँदा अधिकतम ४ हजारलाई सामान्य उपचारको आवश्यकता पर्ने, ७५० लाई अक्सिजनको आवश्यकता पर्ने र २५० जनालाई अक्सिजनसहितको उपचारको आवश्यकता पर्ने भनिए पनि नेपालमा करिब ६ हजार केस देखिँदा पनि त्यो संख्यामा अक्सिजन तथा क्रिटिकल केयरको आवश्यकता परेको छैन ।

डा.उप्रेती भन्छन्, ‘अन्य देशको तुलनामा नेपालमा मृत्युदर, लक्षण देखिएका बिरामी, गम्भीर प्रकारका विरामीहरु पनि तुलनात्मक रुपमा कम छन् । त्यसैले पनि आपतकाल घोषणा गर्न आवश्यक नमानिएको होला । तर रेस्पोन्स प्लानअनुसार २ हजारदेखि ५ हजार केससम्ममा स्वास्थ्य आपतकाल घोषणा गरिसक्नुपर्ने हुन्छ ।’

स्वास्थ्य आपतकाल घोषणा गरेपछि चिकित्सक परिचालन, स्वास्थ्य सामग्री खरिद, निजी अस्पतालहरुको परिचालनलगायत उपचारमा आवश्यक पर्ने सम्पूर्ण क्रियाकलापहरु एकद्वार प्रणलीबाट गरिने भएकाले सहजताको लागि स्वास्थ्य संकटकाल घोषणा गरिने डा. उप्रेतीले बताए ।

सोमबारसम्मको तथ्यांकअनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ भने मृत्यु हुनेको संख्या १९ छ ।

कुल संक्रमितमध्ये १ हजार ४१ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ५ हजार १७० छ। अन्य रोगका बिरामी बाहेक बाँकी रहेका अन्य धेरैजसो संक्रमितको अवस्था सामान्य रहेको तथा लक्षणविहीन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले बताउँदै आएको छ ।

प्रकाशित: Jun 15, 2020| 19:21 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।