जनकपुरधाम – प्रदेश २ मा बिहीबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को विभिन्न जिल्लाहरुमा पछिल्लो २४ घण्टामा २९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
पुष्टि भएकामा रौतहटमा १८, बारामा ७ र महोत्तरीमा ४ जना रहेका छन्। रौतहटको पौराहा र गढीमाई नगरपालिका, बाराको सिम्रौनगढ नगरपालिका र महोत्तरीको गौशाला तथा मनरा सिसवा नगरपालिकाका क्वारेन्टिनमा रहेकाहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
पछिल्लो २४ घण्टामा उपचारपछि ८२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको झाले बताए।
बिहीबार २९ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ६०२ पुगेको छ। प्रदेश २ मा सबैभन्दा बढी कोरोना संक्रमितको संख्या रौतहटमा देखिएको छ । रौतहटमा ४९४ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी सप्तरीमा १११, सिरहामा ६२, धनुषामा १४४, महोत्तरीमा १७१, बारामा ८४ र पर्सामा ११९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
प्रदेशभर ३० हजार ५४३ जनाको स्वाब संकलन भएकोमा १५ हजार ९९ जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले बताएको छ।