काठमाडौं- गत वर्ष कोरोना महामारीका कारण दसैंमा नयाँ नोट नदिएको राष्ट्र बैंकले यो वर्ष भने दिने भएको छ। असोज ४ गतेदेखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत नयाँ नोट साट्न पाइनेछ।
उपभोक्ताको धेरै भीड नहोस् भनेर बेलैदेखि नयाँ नोट साट्न थालिएको राष्ट्र बैंकको भनाइ छ।
एकजनाले १८ हजार ५ सय रुपैयाँबराबर नयाँ नोट पाउनेछन्। यसमा ५ देखि १ सय रुपैयाँसम्मका एक एकवटा बन्डल हुन्छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट दिएको छ। उनीहरुले भने दसैं सुरु हुनु १५ दिन अघिदेखि नयाँ नोट साट्न पाउनेछन्।
यस वर्ष घटस्थापना असोज २१ गते परेको छ भने विजयादशमी २९ गते। दसैंमा टीका लगाएर दक्षिणाको रुपमा नयाँ नोट दिने चलन छ।