रौतहट – मसानघाटमा जलाउन तयारी अवस्थामा राखिएको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित घाघी खोलामा जलाउन लगिएको अवस्थामा २६ वर्षीय सस्मा कुमारीको शव प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी हेमबहादुर शाहीले शंकास्पद अवस्थामा जलाउन लागेको भन्ने सूचनाका आधारमा शव नियन्त्रणमा लिएको जानकारी दिए।
झुण्डिएर आत्महत्या गरेको भनिएकी महिलाको प्रहरी र माईतीपक्षलाई जानकारी नै नदिएर दाहसंस्कार गर्न लागिएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको हो।
माईती पक्षले नै खबर गरेर शव नियन्त्रणमा लिएको शाहीले जानकारी दिए। शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा राखिएको छ।
‘प्रहरी आउँदै छ भन्ने सुनेर शव खोलामै छोडेर पति, सासुससुरा सबै भागेछन्’, शाहीले भने, ‘मृत्यु शंकास्पद देखिएकाले अनुसन्धान भैरहेको छ।’ भागेका मृतकका पति मुकेश पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।