कोरोना भाइरस (कोभिड-१९)का महामारीबीच विस्तारै खेल गतिविधि सुरु हुन थालेका छन्। अस्ट्रियन कप फुटबल प्रतियोगिताको शनिबार फाइनल खेल सम्पन्न भयो।
प्रतियोगितामा रेडबुल साल्जबर्गले सातौं पटक अस्ट्रियन कप फुटबलको उपाधिमा कब्जा जमाएको छ। फाइनलमा साल्जबर्गले लुस्तेनाउलाई ५–० गोलअन्तरले हराउँदै उपाधि कब्जा गरेको हो।
खेलको सुरुबाटै विजेता टोलीले विपक्षीलाई दबाबमा राखेको थियो। नतिजास्वरुप पहिलो हाफमै साल्जबर्गले दुई गोलको अग्रता बनाउन सक्यो। त्यस्तै, उसले दोस्रो हाफमा पनि दबाब कायम गर्दै तीन गोल थपेको थियो।
उपविजेता टोलीले खेलमा फर्कन दह्रो संघर्ष गरे पनि सफल भएन।
प्रतियोगिता सकिएपछि सामाजिक दुरी कायम राखेर विजयोत्सव मनाइएको छ। खेलाडी र अफिसियलले सामाजिक दुरीको नियमको पालना गरेका थिए।
त्यस्तै, उपविजेता टोलीका खेलाडीलाई पनि आयोजकले मेडल लगाइदिएनन्। खेलाडीले आफैं मेडल लगाएका थिए।
एजेन्सी