विहीबार, साउन २९, २०७७

संवाद

नर्भिक महँगो छैन, ६० प्रतिशत बिरामी निम्नमध्यम वर्गीय छन् : राजेन्द्रबहादुर सिंह (अन्तर्वार्ता)

1595406812Rajendra_singh1.jpg

स्तरीय सेवाका कारण नर्भिक इन्टरनेसनल हस्पिटल उच्च पदस्थ व्यक्तित्वदेखि सर्वसाधारणको रोजाइमा छ। बिरामीको चापले गर्दा हस्पिटलले सेवा विस्तारको तयारी गरिरहेको छ।

नेपालको समग्र स्वास्थ्य सेवाका साथै नर्भिक हस्पिटलको सेवा र योजनाबारे कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहसँग गरिएको कुराकानी :

नर्भिक महँगो अस्पताल भनेर चिनिन्छ। यसमा आमनेपालीले उपचार गर्न सक्ने क्षमता राख्छन् ?

यो बिल्कुल गलत धारणा हो। हामीले सुरु गरेका ‘कार्डियो’ लगायत कतिपय उपचार पद्धति आफैंमा महँगा हुन्। तर नेपालका अन्य निजी अस्पतालभन्दा हाम्रो अस्पताल महँगो छैन। हामीले अस्पताल सुरु गर्दा नेपालमा निजी अस्पतालको संख्या अत्यन्तै कम थियो। सरकारी अस्पतालको तुलनामा निजीमा शुल्क महँगो हुनु स्वाभाविक हो। त्यसैले पनि महँगो भन्ने गलत सोचाइ छ।

हामीले दिने सेवा, बिरामीलाई हेर्ने शैलीको तुलनामा शुल्क महँगो होइन। सबै वर्गलाई सहज हुने किसिमको शुल्क तोकिएको छ। हामीले जे–जति शुल्क लिएका छौं। त्यो सूचनापाटीमा टाँसेर लिने गरेका छौं। हामी यसमा पारदर्शी छौं।

अहिले उपचार गर्न आउने मध्ये ६० प्रतिशत बिरामी निम्न मध्यम वर्गकै छन्। देशभरका बिरामी हामीकहाँ आउनुको कारण पनि गुणस्तरीय सेवा हो। यहाँ पूर्वदेखि पश्चिमसम्मका बिरामी आइरहनुभएको छ।

नर्भिक अस्पतालले विपन्नका लागि छुट्ट्याएको १० प्रतिशत कोटा लक्षित वर्गसम्म पुग्छ त ?

पुग्छ। हामीकहाँ विपन्न वर्ग पनि आइरहनुभएको छ। तर सरकारी मापदण्डअनुसार विपन्न वर्गको पहिचानका लागि स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रमाण चाहिन्छ। उपचार गर्न अस्पताल आइसकेपछि म विपन्न हुँ, शुल्क तिर्न सक्दिनँ भन्ने प्रतिबद्धता जनाउनुपर्छ। फोटोसमेत खिच्नुपर्छ।

सरकारी मापदण्डअनुसार बेडको चार्ज, नर्सिङ चार्ज, वार्ड निःशुल्क भनिएको छ। तर, औषधि, अपरेसनलगायतको शुल्क लाग्छ। सरकारले अपरेसनको चार्ज पनि केही प्रतिशत व्यहोर्ने नीति ल्यायो भने विपन्न वर्ग लाभान्वित हुनेछन्।

नेताका नजिक, माथि पहुँच भएकाहरूले विपन्न बनेर आउने पनि उत्तिकै हुन्छन्। कोही ५/७ दिन अस्पताल बसिसकेपछि विपन्न हुँ भन्दै पत्र ल्याउँछन्। यस्तो प्रवृत्तिले त अस्पताललाई समस्या मात्रै होइन वास्तविक विपन्नलाई पनि अन्याय भइरहेको छ।

निजी अस्पतालको त सेवाभन्दा व्यापारिक उद्देश्य बढी देखिन्छ नि ?

स्वास्थ्य सेवा दिएर व्यापार गर्ने क्षेत्र हो। व्यक्ति वा संस्थाको लगानी भएको अस्पतालले निःशुल्क उपचार गर्न त सक्दैन। अस्पतालबाटै कमाएर स्रोतसाधनको व्यवस्था गरेर बिरामीको उपचार गर्नुपर्ने हुन्छ। कर्मचारी पाल्नुपर्ने हुन्छ। नाफा भएन भने स्रोतसाधन किन्न सकिँदैन। सेवा स्तरीय हुँदैन।

धान्नै नसकिने शुल्क छैन। अझै केही सस्तो बनाउन त सरकारले पनि हेर्नुपर्‍यो। सरकारले गर्नुपर्ने काम त हामीले गरिरहेका छौं। सरकारी सोच र नीति बदलिएर निजी अस्पताल पनि हाम्रो हो भन्ने सोचको विकास हुनुपर्छ। निजी अस्पतालले पनि नेपाली नागरिकको सेवा गरेको भन्ने सरकारले बुझ्नुपर्छ। ठूला र महँगा प्रविधि किन्दा अनुदान दिने, अन्य भौतिक स्रोतसाधनमा अनुदान पाए त शुल्क स्वतः घट्छ।

छिटफुट कोरोना संक्रमित देखिन थालेको समयमा अधिकांश निजी अस्पतालले सामान्य बिरामीलाई समेत हेर्न मानेनन्, सेवाका लागि भनिएका अस्पताल यति गैरजिम्मेवार किन ?

पहिलो कुरा सरकारले कोरोना के हो भनेर बुझाउन सकेन। सर्वसाधारणदेखि सबैतिर अनावश्यक त्रास भयो।

अन्य अस्पतालको जानकारी भएन, नर्भिकले त्यस्तो गरेको छैन। हाम्रो १४ बेडको आइसोलेसन वार्ड छ। अहिले पनि ४ जना आइसोलेसनमा हुनुहुन्छ। हामीले कुनै पनि बिरामीलाई गेटबाट फिर्ता पठाएका छैनौं। त्यस्तो हामीबाट हुन पनि सक्दैन। आइसोलेसनमा राखेर कोरोना पोजेटिभ देखिएपछि हामी सरकारले तोकेको अस्पतालमा रिफर गर्छौं।

आमनागरिक र सरकारमा निजी अस्पतालप्रति सकारात्मक धारणा बन्न नसक्नुको कारण के हो ?

यसको मुख्य कारण नीतिमा समस्या हो। सरकारले निजी अस्पतालमा १० प्रतिशत विपन्नलाई निःशुल्क उपचार मात्रै भन्छ। आमनागरिकले सोहीअनुसार सम्पूर्ण उपचार खर्च निःशुल्क होला भन्ने सोच्छ। वास्तविकता त्यो होइन। सर्वसाधारणले पनि यो कुरा बुझिदिनुपर्‍यो।

सरकारले पनि नीतिगत परिवर्तन ल्याउनुपर्‍यो। हाम्रो उद्देश्य कम शुल्कमा स्तरीय सेवा दिनु हो।

नेपालका सहरी क्षेत्रमा निजी अस्पताल खुलिरहेका छन्। नर्भिकले नै विशेषज्ञ सेवा दिन थालेको लामै समय भइसक्यो। तर पनि भारतलगायत विदेशमा उपचार गराउन जाने प्रचलन कायमै छ। किन होला ?

नेपालका अधिकांश निजी र सरकारी अस्पताल हरेक रोगको उपचार गर्न सक्षम छन्। स्रोतसाधनले सम्पन्न अस्पताल र विशेषज्ञ डाक्टर अभाव छैन। वीर अस्पतालका स्रोतसाधन संसारका कुनै अस्पतालको भन्दा कम छैन। तर पनि एउटा वर्गले विश्वास नगर्नुको दुई कारण छन्। पहिलो, पुरानो मानसिकता अझै हटेको छैन। नेपालमा स्तरीय अस्पताल नखुल्दै विदेश उपचार गर्न जाने चलन थियो। त्यो अहिले पनि जारी छ।

दोस्रो, ठूलो नेताहरू सानो उपचारका लागि पनि विदेश जाने हुँदा हुनेखाने सर्वसाधारणले पनि त्यसको देखासिखी गरेका हुन्। नेताले सरकारी खर्चमा विदेशमा उपचार गर्दा पैसा हुने सर्वसाधारण पनि उतै जाने गरेको देखिन्छ। यो बदल्न नेताहरू नेपालमै उपचार गर्न तयार हुनुपर्छ।

स्वास्थ्यजस्तो आधारभूत र संवेदनशील विषयमा तल्लो र माथिल्लो वर्गबीचको विभेद किन ?

नेपालीको जीवनस्तरमै ठूलो अन्तर छ। हिमाल–पहाडका विकट ठाउँ मात्रै होइन, तराईका जिल्लामा समेत झाडापखालाबाट बिरामी मरिरहेका छन्। कोटा भए पनि डाक्टर छैनन्। स्वास्थ्य संस्थाहरू सहयोगीका भरमा चलाइएका छन्।

काठमाडौंलगायत केही सहरमा ठूला अस्पताल र विशेषज्ञ डाक्टर छन्। यो विभेद त सरकारले गरेको हो। निजी अस्पतालले होइन। काठमाडौंमा ठूला अस्पताल खोल्ने सरकारले हुम्ला, डोल्पा, सर्लाही, सिरहातिर किन खोल्दैन? स्वास्थ्य अधिकार संविधानमै ग्यारेन्टी गरिएको छ। त्यसको पालना गराउने जिम्मेवारी पनि सरकारकै हो। स्वास्थ्यमा विपन्नका लागि बजेट नै छैन। यसमा सरकार जिम्मेवार हुनुपर्‍यो।

नेपालको स्वास्थ्य क्षेत्र विशेष गरी काठमाडौं र अन्य ठूला सहर केन्द्रित छ। नर्भिक जस्तो घरानियाँ लगानी र क्षमतावान् अस्पतालले विकट क्षेत्रमा सेवा विस्तार गर्ने आँट किन नगरेको ?

हामी उपत्यकाबाहिर सेवा विस्तार गर्ने योजनामा छौं। तर लगानी गर्न त्यति सजिलो छैन। सरकारले केही सहयोग गर्‍यो भने हामी सातै प्रदेशमा जाने तयारीमा छौं। लगानीको ग्यारेन्टी हुनुप¥यो। जग्गा खरिदमा सहुलियत हुनुपर्‍यो।

सरकारले भौतिक पूर्वाधार निर्माण, स्रोतसाधन खरिद र आमनागरिकलाई प्रोत्साहन गरिदिनुपर्‍यो। निजी अस्पताल बलियो भयो भने सरकार पनि बलियो हुन्छ। निजी लगानी भए पनि यी अस्पताल त सरकारकै हुन् नि। हाम्रो अस्पतालले स्तरीय सेवा दिनु भनेको राज्यलाई सजिलो हो। सेवा त नेपालीले नै पाउने हुन्।

नर्भिकको उपचार क्षमता कति छ र क्षमता विस्तारको कुनै योजना छ कि ?

नर्भिक १०० बेडको अस्पताल हो। हामी २०० बेडका लागि प्रक्रियामा छौं। हामीले प्रविधिको प्रयोग पनि भरपूर गरेका छौं। बिरामीले घरबाटै डाक्टरको ‘अपोइनमेन्ट’ लिन सक्नुहुन्छ। घरमै बसेर रिपोर्ट हेर्न सकिन्छ। बिरामी भर्ना हुनासाथ सम्बन्धित डाक्टरलाई म्यासेज जान्छ। हामीे बिरामी र आफन्तलाई सहज बनाउने गरी सेवा दिइरहेका छौं।

हामी स्रोतसाधनमा पनि सम्पन्न छौं। उच्चस्तरीय एमआरआई मेसिन छ। ग्यास्ट्रोको लागि पनि नयाँ प्रविधि भित्र्याएका छौं।

नर्भिकले सामाजिक उत्तरदायित्वअन्तर्गत के–के गरिरहेको छ ?

हामी क्यालेन्डर बनाएरै यसमा काम गरिरहेका छौं। यो वर्ष कोरोनाको कारण क्यालेन्डर प्रभावित भएको छ। विकट ठाउँमा हामीले निःशुल्क स्वास्थ्य शिविर राख्दै आइरहेका छौं। यसका लागि हामी देशका विभिन्न ठाउँमा पुगेका छौं। विभिन्न दिवसको अवसर पारेर ठाउँठाउँमा निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण, विशेषज्ञ डाक्टरको सुझावलगायत सेवा दिँदै आइरहेका छौं।

त्यसबाहेक राज्य अप्ठ्यारोमा पर्दा नर्भिक जहिल्यै अगाडि सर्छ। जस्तो, केही वर्षअघि जाजरकोटमा झाडापखालाको महामारी हुँदा नर्भिक अस्पतालको टोली पुग्यो। हामीले बाढीपहिरो पीडित, डुबानलगायत क्षेत्रका प्रभावितको स्थानमै पुगेर निःशुल्क सेवा दिइरहेका छौं।

प्रतिक्रिया दिनुहोस्