शनिबार, साउन ३१, २०७७

विचार

नेपाली कांग्रेस इतिहासमा सीमित नहोस्

1595309159bp-koirala.jpg

आदरणीय बीपी,
जय नेपाल !

आज साउन ६। तपाईंको स्मृति दिवस। नेपाली कांग्रेसका समर्थकहरुले तपाईंलाई महामानवको उपाधि दिएका छन्। तर तिनैले  तपाईंका महान् विचार अनुसरण गर्न कन्जुस्याइँ गरिरहेका छन्।

२०३९ सालमा आजैका दिनमा तपाईंले यस धर्तीबाट सदाका लागि महाप्रस्थान गर्नुभयो। क्यान्सरजस्तो असाध्य रोगबाट पीडित तपाईंका लागि त्याे यात्रा सहयोगी नै बन्यो होला। तर नेपाल र नेपालीका लागि तपाईंको देहत्याग एक किसिमले अभिशाप नै बन्न पुग्यो।  

मधेसलाई उचित सम्बोधन गर्नुपर्ने तपाईंकाे सल्लाह नमान्दा कांग्रेसले आ्फ्नो पकड क्षेत्र गुमायो। तपाईंले सबै नेपालीलाई एक सूत्रमा आबद्ध गर्ने देखेको सपना साकार गर्ने प्रयत्न तपाईंका उत्तराधिकारीबाट नहुँदा आज जहाँ एकातिर नेपालको राष्ट्रियता कमजोर हुने अवस्था छ भने अर्कोतिर नेपाली नागरिक सत्ताबाट भेदभावको सिकार भएका छन्।

यसको जिम्मेवारी लिन आज कोही पनि तयार देखिएका छैनन्। सत्ता देश र जनताको कल्याणका लागि साधन हुनुपर्ने हो। तर आज राजनीतिकर्मीहरु सत्तालाई साध्य मानिरहेका छन्।

नेपाली कांग्रेसका संस्थापक

तपार्ईंले नेपाली कांग्रेसको स्थापनामा सर्वाधिक महत्त्वपूर्ण भूमिका निर्वाह गरेको इतिहास साक्षी छ। यसै पार्टीका माध्यमबाट तपाईंले नेपालको कायापलट गर्ने योजना बनाउनुभयो। कुनै पनि योजना बनाउँदा जनतालाई केन्दमा राख्नुपर्ने यहाँको सल्लाह कसैले मानेको छैन। प्रत्येक नेपालीको पहुँचमा टिनले छाएको घर, एक हल गोरु, एउटा दुहुनो गाई हुुनुपर्ने प्रस्ताव पछिल्ला दिनमा हराएर गयो।

भनिन्छ- शरीर नश्वर हुन्छ, आत्मा मर्दैन। यसो हो भने वर्तमान नेपालको अवस्था हेर्दा निश्चय पनि तपाईको आत्मा दुःखी हुँदो हो। आज कताकता लाग्छ, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मूल नारा र दर्शन रहेको तपाईंको पार्टीले नै यी सबै दर्शन बिर्सिसकेको अवस्थामा अन्य पार्टीलाई यी विषयमा सहमत बनाउने हैसियत कांग्रेसले गुमाएको छ।

क्रान्तिका महानायक

इतिहास साक्षी छ, २००७ सालको क्रान्तिको महानायकका रुपमा नेपाली जनताले तपाईंलाई स्वीकारेका छन्। तपाईंकै नेतृत्वमा भएको राणाविरुद्धको क्रान्तिमा सम्पूर्ण नेपाली होमिएका थिए। क्रान्तिपछि देशमा प्रजातन्त्र स्थापना गर्ने, देशको आर्थिक विकास गर्ने, आमजनताको जीवनस्तरमा आमूल सुधार गर्ने र सामाजिक न्यायको स्थापना गर्ने अपेक्षा नेपालीले राखेका थिए।

क्रान्ति सफल भएपछिका दिनदेखि नै जनअधिकारविरुद्धका षडयन्त्र सुरु भए। क्रान्तिका परिणाम धेरैले मन पराएनन्। जनता शक्तिसम्पन्न भएको राजसंस्थाले पनि मन पराएन। क्रान्तिको महत्त्वपूर्ण उपलब्धिका रुपमा नागरिक स्वतन्त्रतालाई मानिएको थियो तर राजतन्त्र र तिनका आसेपासेले परिवर्तनलाई सहजै स्वीकार गर्न सकेनन्।

तपाईंले नेतृत्व गरेको क्रान्तिविरुद्ध तत्कालीन राजा र यहाँका कम्युनिस्टहरु मिलेको कुरा धेरैले आँकलन गरेका थिए। तपाईं स्वयंले पनि यो तथ्य स्वीकार्नुभएको थियो।

त्यसैले पनि होला तपाईं वामपन्थीसँगको सहकार्यमा लोकतान्त्रिक आन्दोलन सफल हुन सक्दैन भन्ने निष्कर्षमा पुग्नुभएको थियो। तपाईंले भारतका तात्कालीन उपप्रधान र गृहमन्त्री सरदार वल्लभभाई पटेललाई लेखेको पत्रमा पनि वामपन्थीबारे व्यक्त गर्नुभएको दृष्टिकोणले यही कुरा पुष्टि गर्छ।

दुर्भाग्य! तपाईंको पार्टीले २०४६ को जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनका लागि तिनै वामपन्थीको सहयोग लिन पुग्यो। यस अवस्थामा तपाईंले नेपाली कांग्रेसको सिद्धान्तका रुपमा प्रतिपादन गरेका विचार क्रमशः असान्दर्भिक बनाइए। देशले अहिले त्यसैको परिणाम बेहोरिरहेको छ।

जननिर्वाचित प्रथम प्रधानमन्त्री

२०१५ सालमा सम्पन्न प्रथम आमनिर्वाचनबाट जनताले तपाईंको पार्टीलाई दुई तिहाइको विजय प्रदान गरेका थिए र तपाईं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो। तर तपाईको कार्यकाल १८ महिनाको मात्र हुन पुग्यो। नेपालमा लोकतन्त्र हठात समाप्त पारियो।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले तपाईंलाई अपदस्थ गरेर बन्धक बनाएपछि देशमा पञ्चायती व्यवस्थाका नाममा एकतन्त्रीय शासन स्थापना गरे। तीस वर्षसम्म चलेको यो व्यवस्था धेरै हदसम्म वामपन्थी दर्शनबाट प्रभावित थियो। प्रजातान्त्रिक समाजवादसम्बन्धी तपाईंका धारणालाई तत्कालीन विश्वले नै स्वीकार गरेको थियो।

विश्व समाजवादी आन्दोलनको नेतृत्वकर्तामध्ये तपाईंको वैचारिक उचाइ दिनप्रतिदिन बढिरहेको थियो। यो कुरा नेपालभित्र र बाहिर धेरैलाई मन परिरहेको थिएन। तपार्इं अपदस्थ हुनुमा निश्चय पनि देशी विदेशी चलखेल प्रमुख कारक थियो। त्यस बेला निम्तिएको राजनीतिक अस्थिरता कुनै न कुनै रुपमा आजपर्यन्त नेपालमा छ।

तपाईंलाई अपदस्थ गरिएपछिका तीस वर्षसम्म चलाइएको शासनमा लोकतन्त्रका कुनै मूल्य–मान्यताको अनुसरण गरिएन। जनताका अधिकार सुरक्षित हुन सकेनन्। मानवअधिकार सधैं चुनौतीपूर्ण अवस्थामा रह्यो। प्रेसलाई बन्धक बनाएर राखियो। लोकतान्त्रिक संरचना निर्माणलाई अवरुद्ध गरियो।

२०४६ को जनआन्दोलनपछि तपाईंको पार्टीले धेरै समय देशको शासन सञ्चालन त गर्यो तर कांग्रेसको मूल सिद्धान्त बिर्सियो। यही कारण हो, वामपन्थीहरु अहिले लोकतन्त्रका नाममा एकदलीय शासनको अभ्यास गरिरहेका छन्।

देश निर्माणका स्वप्नद्रष्टा

तपाईंले देश निर्माणको जुन सपना देख्नुभएको थियो त्यो विविध कारणले पूूरा हुन सकेनन्। तपाईंको सपना पूरा गर्ने तदारुकता नेपाली कांगे्रसकै नेता तथा कार्यकर्ताले पनि देखाउन सकेनन्। तिनले मौका नै नपाएका त होइनन नि। तर प्राप्त अवसरको सदुपयोग गर्न सकेनन्। नेताहरु गुटबन्दीमा व्यस्त रहे र छन्। गुट र उपगुटका नाममा खुद्रे समूहको उपस्थितिले कांग्रेस अत्यन्त कमजोर बनेको छ।

एकले अर्कोलाई निषेध गर्ने क्रम बढेको छ। तपाईंले त्यही बेला समावेशीकरणको नीति अख्तियार गर्नुभएको हो। देशका सबैथरि पहाडी, मधेसी, हिमाली, जनजाति, महिला, दलितलाई खोजीखोजी अवसर प्रदान गर्नुभएको हो। तर अहिले निषेधको राजनीति झांगिएको छ। नातावाद र कृपावाद मौलाएको छ। अहिले कांगे्रसले देशभित्र मात्र होइन बाहिर पनि साख गुमाएको छ।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय सम्बन्धमा निकै कमजोर बन्न पुगेको कांग्रेसले राष्ट्रियताका मुद्दा विपक्षीलाई सुम्पिएजस्तो देखिएको छ। अधिकांश नेताकार्यकर्ता पार्टीका नाममा कमाउ धन्दामा लागेको आरोप छ। तर ती नेताकार्यकर्ता यस्तो आरोपको खण्डन गर्न सक्ने अवस्थामा छैनन्।

पार्टी सरकारमा हुँदा भए गरेका नियुक्तिका लागि पनि आर्थिक चलखेल हुने गरेको सुनिएको हो। यस्तै निर्वाचनमा उम्मेदवार बनाउन पनि अर्थको निकै ठूलो भूमिका हुने गरेको आरोप सम्बद्धहरुबाटै लाग्ने गरेको छ। यस्तोमा जनताका समस्या समाधान र देश निर्माणबारे सोच्ने फुर्सद कसलाई छ?

अन्त्यमा

नेपाली कांग्रेस आज इतिहासकै सर्वाधिक कठिन मोडमा छ। वैचारिक र सांगठनिक दुवै दृष्टिले कमजोर साबित भइरहेको कांग्रेसका लागि तपाईंको आदर्शको सच्चा अनुशरणले एक नयाँ ऊर्जा प्रदान गर्न सक्छ। तर कांग्रेस त्यसतर्फ खासै गम्भीर रहेको पाइँदैन। कांग्रेस आज विगतमा जनाधार बलियो रहेकै क्षेत्रमा कमजोर बनेको छ।

दोस्रो र तेस्रो पुस्ताका नेपाली जनताबीच कांग्रेस आकर्षणको केन्द्र बन्न सकिरहेको छैन। पार्टी गुट उपगुटमा विभाजित भई निजी र वर्गीय स्वार्थमा चुर्लुम्म डुबेको छ। सैद्धान्तिक धरातल अस्पष्ट रहेको आरोप लागिरहेको छ। यस्तोमा प्रश्न उठ्छ, कांग्रेसले देशमा सबै अटाउने लोकतन्त्रको विकास र संवद्र्धन कसरी गर्न सक्छ?

स्थिति अझै पनि नियन्त्रण बाहिर गइसकेको छैन। कांग्रेसका नेताहरुले वर्तमानको कांग्रेस र देशको भविष्यको लोकतन्त्रबारे गम्भीर देखाएनन् भने देश सधैंका लागि वामपन्थी कब्जामा जाने निश्चित छ। अहिले पार्टी महाधिवेशनको संघारमा छ। हे महामानव! तपाई आफ्ना पार्टीका नेतालाई सद्बुद्धि प्रदान गर्नुस् र पार्टीलाई सुदृढ र सक्षम बनाउन उत्प्रेरित गर्नुस्।

तपाईंको आज्ञाकारी

प्रतिक्रिया दिनुहोस्