कुनैबेला राजनीतिक भेलाले खचाखच हुने काठमाडौंको खुला मञ्च यतिबेला भोका मजदुरको शरणस्थल बनेको छ।
बन्दाबन्दी लम्बिंदै गर्दा मजदुरका पीडा पनि तन्किंदै छन्। कोरोनाको कहरसँगै रोजीरोटी खोसिएका मजदुर खुलामञ्चममा गास र बासको आशामा टोलाइरहेका देखिन्छन्।
सरकारी राहत यि ‘निम्छरा’ सम्म पुग्दैन । आफूसँग न वचत छ न त काम नै। जाँगर भए पनि बेकामे भएको छ।
बर्षौंदेखि काठमाडौंका सडक गल्लीमा भारी बोकेर साहुको सेवा गरेका नवीन तामाङ यतिबेला खुलामञ्चको खुलैमा रात बिताउन बाध्य छन् । सानैदेखि टुहुरा उनी काम खोज्दै तनहुँबाट काठमाडौं आएको २३ वर्ष पुगिसक्यो।
यही उपत्यकामा उनले कैयौंका जुठा भाँडा माझे, साहुका भारी बोके। बालुवा चाले । तर, यो २३ वर्षसम्म जति पसिना बगाए पनि न उनीसँग ओत लाग्ने छानो छ, न न्यानो स्नेह दिने कोही।
कोरोना संकटका दुई महिना काम नपाउँदा उनको गोजीमा सुको दाम छैन। खुलामञ्चमा लमतन्न परेका उनी आफ्नै श्रम मिसिएका वरपरका ठूला घर हेर्दै टोलाउँछन्।
तनहुँमा आफन्त होलान, उता गए सुविस्ता हुन्थ्यो कि?
‘फोन गरेको थिएँ, कोरोना सर्छ नआइज भन्छन्,’ नवीनले भने, ‘त्यहाँ आफ्नो सम्पत्ति केही छैन, केही नहुनेका आफन्त पनि आफ्ना नहुने रहेछन्।’
नवीनको छेउमै थिए अर्का मजदुर सागर– उनी पनि एक महिनादेखि खुलामञ्चमै ‘शरणार्थी’ छन्।
‘लकडाउनको एक महिनासम्म बौद्धको कोठामै धानिएको थिएँ,’ सागर भन्छन्, ‘भाडा तिर्ने पैसा, दाल–चामल सबै सकिएपछि खाना खोज्दै यतै आइपुगें।’
काठमाडौंको खुलामञ्चमा रात विताउने मजदुरहरु १५/२० जना छन्। साझा विगत, उस्तै भोगाई र शरणार्थी वर्तमानले उनीहरु एउटै परिवार जस्तो भएका छन्। कोही त बालबालिकासहित छन्।
‘भोको पेटमा ठूला सपना देखिन्न, पेटभरी खान पाए अरु सपना आउँदा हुन्,’ उनीहरुसँगै रहेकी नानीमायाँ भन्छिन्।
उनीहरुले सफा पानी पिउन पाएका छैनन्– नुहाउनु, लुगाधुनु त परको कुरा।
कोही मनकारीले खाना ल्याइदिए भने त्यहीँ खान्छन्, नहुँदा खोज्दै हिंड्नु पर्छ। लकडाउनमा खाना खोज्दै कहाँ जानु ? बाटो प्रहरीले देखे लखेट्छ। कहिले काहीँ ढाडमा लाठी पनि बजारिन्छ।
‘खाना दिनेले पनि पानी दिंदैनन्, हुन त धन्न खाना दिएका छन्, पानी पनि देऊ भन्ने कुरा भएन,’ अर्का मजदुर भन्छन्।
नानीमाया थप्छिन्, ‘जिउ सरसफाई गर्न पानी कतै छैन। छोरा मान्छेलाई त लाज पनि लाग्दैन। ऊ... त्यहीँ ( मञ्च पछाडिको कुना देखाउँदै) चर्पी गर्छन् । हामीलाई सकस छ। नजिकै भएका चर्पीमा पानी छैन।’
महिनादिन भन्दा बढी खुलामञ्चमा दिन काटिरहेका उनीहरुको अनुहारमा अचम्मको निराशा देखिन्छ।
यो त्यही खुला मञ्च हो, जहाँ दशकौंदेखि नेताहरुले गरीबको अनुहारमा खुसी ल्याउने अनेकौं वाचा गरे। समृद्धि र सुखका अनेकौं सपना देखाइए।