शनिबार, साउन ३१, २०७७

विशेष कला - साहित्य

लकडाउनमा सिर्जना : विषय फुर्‍यो, कलम चलेन

जीवन सधैं सरल रेखामा हिँड्दैन। सर्जकले त्यही जीवनलाई आफ्ना सिर्जनामार्फत अभिव्यक्त गर्छ।

1594991688kitab_sanibar.jpg

कुनै शान्त र आनन्दको स्थितिमा लेख्नुभन्दा संघर्षका बेला लेख्नु फरक हुन्छ। संघर्षकालको अनुभव सिर्जनामार्फत अभिव्यक्त हुँदा त्योे झन् रोचक बन्न सक्छ।

लकडाउन सुरु हुँदै गर्दा सबैको मनमा गहिरो त्रास थियो। संसारै ध्वस्त हुने हो कि जस्तो भीषण असुरक्षाको परिवेशमा मानिसहरु परिवारभित्रै सीमित भए।

असुरक्षा र अनिश्चितताको प्रभावका कारण दिमाग स्वतन्त्र हुन सकेन। त्यसको असर सिर्जनामा पनि पर्‍यो। वरिष्ठ आख्यानकार ध्रुवचन्द्र गौतम भन्छन्, ‘लेखापढी गर्न समय त भयो तर मनमा त्रास हटेन। जाँगर चलेन। संकटमा घरपरिवार र आफ्नो चिन्ता धेरै हुँदो रहेछ।’

तर, यो अवस्था लामो समय रहेन। कोरोना नामसँग अभ्यस्त हुँदै गर्दा त्रासको ग्राफ ओर्लियो। लकडाउनको फुर्सदले सिर्जनामा रमाउनेहरुलाई थप अवसर र विषयवस्तु पनि दियो।

साहित्यकार अमर न्यौपाने लकडाउनका बेला सिर्जनात्मक कामभन्दा पठनतर्फ केन्द्रित भए। उनी भन्छन्, ‘सुरुमा धेरै डर लाग्यो। केही गर्नै सकिएन। डरको पनि आयु हुँदो रहेछ। संक्रमण एउटा चुचुरोमा पुगेपछि डर कम हुन थाल्यो। अनि बिस्तारै जीवन सामान्यतर्फ उन्मुख हुन थाल्यो।’

कुनै शान्त र समरस स्थितिमा लेख्नुभन्दा संघर्षका बेला लेख्नु फरक हुन्छ। संघर्षकालको अनुभव सिर्जनामार्फत अभिव्यक्त हुँदा त्योे झन् रोचक बन्न सक्छ।

पहिलो विश्वयुद्धपछि युरोपमा फैलिएको प्लेग महामारीमा करिब पाँच करोड मानिसको ज्यान गयो। त्यस विषयमा धेरै पछिसम्म साहित्य लेखिए।

कोरोना एउटा उथलपुथलको जारी घटना हो। संसारमा बेलाबेलामा यस्ता घटना भएका छन्, भइरहनेछन्। जीवन सधैं सरल रेखामा हिँड्दैन। सर्जकले त्यही जीवनलाई आफ्ना सिर्जनामार्फत अभिव्यक्त गर्छ।

वरिष्ठ समालोचक कृष्ण गौतम भन्छन्, ‘अहिलेको महामारीमा स्रष्टाले धेरै विषय पाएका छन्। त्यसलाई कसले कसरी अभिव्यक्त गर्छन् भविष्यले देखाउनेछ।’

आख्यानकार उमा सुवेदी पनि गौतमसँग सहमत छिन्। भन्छिन्, ‘कोरोना भाइरस आउँदनथ्यो भने लेखनका कतिपय विषय बाहिरिने थिएनन्।’

कोरोना संकटले कयौंको जागिर गुमेको छ। श्रमिकको घरमा चुलो बाल्न कठिन भएको छ। व्यवसाय ठप्प छ। विस्थापनको घाउ लागेको छ। कोही विदेशमा अलपत्र छन्। क्वारेन्टिन, आइसोलसन र अस्पतालले दिएका दुःख अथाह छन्। यो महामारीले ल्याएको मानसिक संकटका कुरा भर्खर बाहिर आउँदै छन्। यसको दीर्घकालीन प्रभाव कहाँ कति हुने हो लेखाजोखा हुन बाँकी नै छ।

‘भारतबाट स्वदेश फर्कन लागेका नागरिकले सीमामा पाएको सास्ती, क्वारेन्टिन व्यवस्थित नहुँदाको पीडा, नदी र जंगल हुँदै लुकेर घर फर्केका मजदुर, गर्भवती महिला, बालबालिकाको पीडाले छोएको छ,’ नयाँँ उपन्यासको तयारीमा रहेकी लेखक सुवेदी भन्छिन्, ‘मानिसले क्वारेन्टिनमा भोगेको दुर्दशा देखेकी छु। नयाँ सिर्जनाका लागि यी विषयवस्तु पर्याप्त छन्।’

लेखक सरिता तिवारी लकडाउनका बेला नेपाल–भारतका राज्य व्यवस्थाले सामाजिक आर्थिक प्रणालीमाथि गरेको विद्रुप प्रहार छर्लंग भएको बताउँछिन्। उनी भन्छिन्, ‘बाँच्नकै लागि मानिसले कठोर संघर्ष गरिरहनुपरेको यो अवस्था साहित्य सिर्जनाका लागि विषयवस्तु हुन सक्छ।’

तिवारीकाे भनाइमा कोरोना संकटका बेला कवि–लेखकले संवेदनशील भएर गहन कृति लेख्न भने गाह्रो छ। केही–कोहीले लेख्लान् तर, कोरोनाको प्रभाव र यसको आयामले सिर्जनाका लागि पृष्ठभूमिचाहिँ तयार पारिदिएको छ।

उनी यसबीच सिर्जनात्मक लेखनमा भन्दा नियमित स्तम्भमा मात्र ध्यान दिएको बताउँछिन्। भन्छिन्, ‘सुरुमा निकै डर लाग्यो। स्थिति सामान्य हुँदै गएपछि पढ्न र फिल्म हेर्न थालें। बिदा भएकाले केटीकेटीसँग घरमै बस्दा उनीहरूको व्यवस्थापन, कलेजमा अनलाइन कक्षा, साथीभाइ र विभिन्न संघसंस्थाले आयोजना गर्ने जुम बैठकले बढी नै व्यस्त बनायो।’

उसो त लकडाउनकै बीचमा केही कृति बजारमा नआएका होइनन्। तर ती पहिल्यै लेखिएका वा प्रकाशन हुन बाँकी थिए।

नयाँ प्रवृत्ति जन्मिन सक्छ

अहिले महामारीकै बीचमा खुकुलो पारिएको लकडाउनबाट बाहिर निस्किएर जीवन मूल्यको खोजी सुरु भएको छ।

विज्ञान, प्रविधि र विकासको चरममा पुगेका शक्तिशाली मुलुक घाइते अवस्थामा छन्। उनीहरुले स्थापना गरेको मानववाद क्षयोन्मुख छ। त्यताबाट पनि साहित्य लेखनमा नयाँ प्रवृत्ति जन्मिन सक्ने पर्याप्त सम्भावना छ।

शक्तिशाली देशले आणविक हतियार बनाएर विश्वमा शक्तिको दम्भ देखाए। तर नदेखिने सेना त बम र आणविक हतियारले भन्दा पनि बढी घातक हुँदोरहेछ भन्ने पुष्टि भयो। विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई बिरामीका लागि भेन्टिलेटरको व्यवस्था गर्न हम्मे हम्मे पर्‍यो।

शक्तिको होडबाजीमा सरकारहरुले नागरिकको स्वास्थ्यमाथि कति खेलवाड गरिरहेका छन्, देखियो। यी विषय अबको साहित्यमा आउन सक्ने साहित्यकार न्यौपानेको भनाइ छ।

विगतमा युरोपको पुनर्जागरण, विश्वयुद्ध, प्लेग महामारी, उदारीकरण, सोभियत संघको विघटन, नवउदारवादको विस्तार, लोकतन्त्रमाथिको आक्रमण आदिको प्रभाव साहित्यमा प्रशस्त परेको छ।

नेपालमा पनि राणा शासन, पञ्चायत, माओवादी हिंसाको सेरोफेरोमा धेरै साहित्य सिर्जना भए। साहित्यमा परिवर्तन स्वयं साहित्य आफ्नै कारणले कम हुन्छ, बाहिरी कारणले ज्यादा हुन्छ।

त्यसैले अबको सिर्जनात्मक लेखनमा नयाँ प्रवृत्ति आउन सक्ने बताउँछन् आख्यानकार ध्रुवचन्द्र गौतम। उनी भन्छन्, 'यसमा नयाँ पुस्ता बढी गम्भीर हुनुपर्छ। एउटाले नयाँ प्रवृत्ति भित्र्याउने होइन। जम्मै मिलेर गर्ने हो।' 

लेखक एवम् पत्रकार कनकमणि दीक्षित लकडाउनका सुरुका दिनमा त्रास रहे पनि मानिस बिस्तारै सिर्जनमा केन्द्रित हुन थालेको बताउँछन्।

उनी भन्छन्, ‘पुराना कागजपत्र हेर्नु डायरी पल्टाएर विगतमा रमाउनु, पारिवारिक जीवनका विगत खोतल्नु पनि त सिर्जनातर्फको यात्रा हो नि।’ त्यसैले लकडाउन सिर्जनाको समय बनेको उनको अनुभव छ।

अखबारी लेखनमा व्यस्त दीक्षित लकडाउनका बेला पत्रकारितामा बढी समय दिएको बताउँछन्। उनी भन्छन्, ‘ट्विटरमै पनि बढी नै संलग्न भएको छु।’

व्यस्त प्रकाशक

पुस्तक प्रकाशनका लागि लकडाउन अवधिमा पनि अनुरोध आउन नछाडेको प्रकाशकहरु बताउँछन्। ‘तर, बढीजसो पुस्तक लकडाउनअगाडि नै तयार पारिएका हुन्,’ प्रकाशक संंस्था नेपालयकी व्यवस्थापक स्वैजन मास्के भन्छिन्।

मास्केका अनुसार पुस्तक प्रकाशनका लागि लकडाउनले खासै प्रभाव पारेको छैन। हरेक विधाका पुस्तक आइरहेका छन्। नेपालयले यस अवधिमा भुवन ढुंगानाको ‘परित्यक्ता’, सरला गौतमको ‘डुमेरो’ प्रकाशन गरेको छ।

बुक हिल पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्का छापिदिनुपर्‍यो भनेर १३/१४ वटा पुस्तकको प्रस्ताव आएको बताउँछन्। तीमध्ये खगेन्द्र संग्रौलाको अनुवाद र कुमार नगरकोटीको पुस्तक प्रकाशनको तयारीमा छन्।

आख्यानकार गौतमको नयाँ उपन्यास ‘चकमन्नतामा एकान्त’ रत्न पुस्तक भण्डारले प्रकाशन गरेको छ। यस्तै समालोचक कृष्ण गौतमको निबन्ध संग्रह सांग्रिला बुक्सबाट प्रकाशित हुँदै छ भने अर्थशास्त्री विश्वम्भर प्याकुरेलको ‘आफैंलाई खोज्दा : केही छापिएका, केही उघारिएका’ लकडाउनकै बेला बजारमा आएको छ।

कोरोना संकटका बेला सिर्जनात्मक लेखन नभएपछि प्रकाशन गृहमा यसको असर देखिन्छ वा देखिँदैन त्यसका लागि भने केही समय कुर्नैपर्छ।

प्रतिक्रिया दिनुहोस्