काठमाडौं- दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लकडाउनको समयमा एक गाउँपालिकाबाट अर्कोमा गएको भन्दै प्रहरीले बाटो देखाउने एकसहित आठ युवालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएकाहरुमा जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दीपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दीपक साउँद र जनकसिंह साउँद छन्।
लेकम गाउँपालिकाका उनीहरुलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पदम विष्टले जानकारी दिए।
विष्टले लकडाउनको उलंघन गर्दै एक ठाउँबाट अर्को ठाउँमा गएकोले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै नियन्त्रणमा लिएको बताए।
नियन्त्रणमा लिएकाहरुलाई सदरमुकाम खलंगा ल्याउँदै गरेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार पक्राउ पर्ने युवाहरु विप्लप समूहसँग आवद्ध रहेको खुलेको छ।