सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको उहान सहरबाट सुरु भएको कोरोना भाइरस संक्रमण युरोप, अमेरिका हुँदै ल्याटिन अमेरिकी देशहरुमा फैलिन थालेको छ।
संक्रमणको मामलामा ल्याटिन अमेरिकी देशहरूले अमेरिका र युरोपलाई पनि पछि पारेका छन्।
समाचार संस्था रोयटर्सका अनुसार यो साताको सुरुमा थपिएका नयाँ संक्रमितमध्ये एक तिहाइ ल्याटिन अमेरिकी देशका छन्। अब महामारीको नयाँ इपिसेन्टर ल्याटिन अमेरिका हुने चिन्ता व्यक्त गरिएको छ।
ल्याटिन अमेरिकी देशमध्ये सबैभन्दा बढी प्रभावित ब्राजिल छ। संक्रमित संख्यामा उसले युरोपका जर्मनी, फ्रान्स, स्पेन र बेलायतलाई उछिनेको छ। अमेरिका र रसियापछि धेरै कोरोना संक्रमित भएको तेश्रो देश हो अहिले ब्राजिल।
ब्राजिलको दैनिक संक्रमण वृद्धिदर अमेरिकापछि दोश्रो स्थानमा छ। ब्राजिलमा २ लाख ९३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने मृतकको संख्या १९ हजार पुग्न लागेको छ।
ल्याटिन अमेरिकी देश पेरुमा संक्रमितको संख्या १ लाख नाघेको छ भने ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। मेक्सिकोमा ५६ हजार र चिलीमा ५३ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। इक्वेडरमा ३४ हजार र बोलिभियामा ४ हजारभन्दा बढी संक्रमित भइसकेका छन्।
विश्वका सबैजसो देशमा फैलिएको कोरोना महामारीका कारण बिहीबार बिहानसम्ममा ३ लाख २९ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। यसमा सबैभन्दा बढी हिस्सा अमेरिकाको करिब ९५ हजार छ। अमेरिकापछि बढी मृत्यु बेहोर्ने युरोपियन मुलुक छन्।
विश्वभर संक्रमितको संख्या भने ५० लाख ८५ हजार नाघेको छ। यीमध्ये २० लाख २१ हजार निको भएका छन्।