भैरहवा- मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका व्यक्तिको मृत्यु भएको भन्दै बिहान १० बजेतिर केही अनलाइनमा समाचार प्रकाशित भयो।
उक्त समाचार प्रकाशित भएको केहीबेरमा उनी भेन्टिलेटरमा उपचाररत छन् भन्ने अन्य समाचार आयो।
उपचारत व्यक्तिको मृत्यु भइसकेको भनेर प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेको भनाइ राखेर समाचार प्रकाशित भए।
तर प्रदेश ५ स्वास्थ्य सेवा महाशाखा प्रमुख तथा कोभिडका प्रवक्ता डा. उमशंकरप्रसाद चौधरीले अवस्था अचेत छ तर मृत्यु भएको भने घोषणा नगरिएको बताए।
स्वास्थ्य निर्देशानालयका सूचना अधिकारी मानबहादुर वली, प्रदेश सरकारका प्रेस सल्लाहकार शेरबहादुर केसी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहदेव पन्थले बिरामी उपचारमै रहेको बताए।
यतिबेला यो घटनाले रुपन्देहीमा खैलाबैला मच्चिएको छ। कोरोना संक्रमितका भाइले फेसबुकमा 'मान्छेहरु किन संयम बन्न नसकेका होलान्? किन हतार होला नराम्रो समाचार सम्प्रेषण गर्न?' भन्दै प्रश्न गरेका छन्।
मान्छेको मृत्युको विषय सामान्य नभए तापनि यसको पुष्टि नगरी समाचार प्रकाशित गरेको भन्दै समाजिक सञ्जालमा आक्रोश व्यक्त भएको छ। अर्कोतिर कोभिड १९ को संक्रमण फैलिरहँदा आधिकारिक सूचनादाता कसलाई मान्ने भनेर पनि बहस सुरु भएको छ।