झापा- झापा जिल्लामा एकै गाउँका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कचनकवल गाउँपालिकास्थित पथरिया माविको क्वारेन्टाइनमा बसेका दस युवामा कोरोना संक्रमण पुष्टि भएको हो।
उनीहरूको कोसी कोभिड अस्पताल विराटनगरमा स्वाब परीक्षण भएको थियो । सबैजना कचनकवलस्थित एकै टोलका हुन्। उनीहरूलाई कोसी कोभिड अस्पताल विराटनगर पठाइएको छ।
संक्रमित सबै १८ देखि २५ वर्ष उमेर समूहका छन् । ११ जनाको टोली गत शनिबार भारतको मुबाईबाट दिल्ली हुँदै लुकिछिपी कचनकवल नाकाबाट नेपाल प्रवेश गरेको थियो।
रोजगारीको सिलसिलामा भारत गएका उनीहरू लामो समय लकडाउन भएपछि पैदलै स्वदेश फर्किएका थिए। संक्रमित समूहमा आएका एकजनामा भने कोरोना संक्रमण देखिएको छैन।
मकैबारीबाट नेपाल प्रवेश गरेका उनीहरूलाई सीधै ट्र्याक्टरमा हालेर कचनकवल–३ स्थित पथरिया माविमा रहेको क्वारेन्टाइनमा राखिएको कचनकवल गाउँपालिकाको क्वारेन्टाइन संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष विजय राजवंशीले बताए ।
भारतसँग सीमा जोडिएको कचनकवलमा एकैपटक १० जनामा संक्रमण देखिएपछि गाउँपालिका नै सिल गर्ने तयारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले आज (बुधबार) बैठक बसेर गाउँ सिलको निर्णय गर्ने जानकारी दिए।