काठमाडौं- लकडाउनका बेला सैनिक पोसाक लगाएर मोटर साइकल कुदाउँदा काठमाडौंबाट पक्राउ परेका युवा सेनाका भगौडा भएको खुलेको छ।
आइतबार बिहान महाराजगंजबाट सैनिक प्रहरीको टोलीले सैन्य पोषाक दुरुपयोग गरेको आरोपमा २९ वर्षीय सुशील खड्कालाई नियन्त्रणमा लिएको थियो।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेयले पक्राउ पर्ने खड्का नेपाली सेनाका भगौडा रहेको बताए।
उनलाई बाँसबारीतर्फ जाँदै गरेको बेला सेनाले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका खड्कालाई सैनिक प्रहरी गणमा राखेर सेनाले अनुसन्धान सुरु गरेको छ।
प्रवक्ता पाण्डेका अनुसार खड्का २०६८ सालमा नेपाली सेनामा भर्ती भएर तालिमकै क्रममा भागेका थिए ।
दोलखा घर भई काठमाडौं बाँसबारीमा होटल व्यवसाय गर्दै आएका खड्का लकडाउनमा दिनहुँ सैनिक पोसाक लगाएर आवतजावत गर्दै आएका थिए।
सैनिक पोसाकको दुरुपयोग भैरहेको सूचनाका आधारमा सेनाले आइतबारबाट काठमाडौंका चार ठाउँमा चेकजाँच थालेपछि खड्का पक्राउ परेका हुन्।