विहीबार, साउन २२, २०७७

संवाद मनोरञ्जन

गीतको भावमाथि भिडियोले सिन्डिकेट लगाउँछ : राजनराज शिवाकोटी (अन्तर्वार्ता)

1594387546rajanraj.jpg

हालसम्म युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीत ‘कुटुमा कुटु...’ का गीतकार, संगीतकार तथा गायक हुन्– राजनराज शिवाकोटी। चलचित्र संगीतमा लोकलयको पुनरागमन गराएका शिवाकोटी ‘ट्रेन्ड सेटर’ स्रष्टा मानिन्छन्। उनले नै सिर्जना गरेको ‘सुर्के थैली खै...’ (चलचित्र वडा नम्बर ६) ले सफलता पाएपछि चलचित्रमा एउटा लोकलयको गीत अनिवार्यजस्तै बनेको छ। शिवाकोटीले भर्खरै ‘तिमी उता म यता...’ बोलको गीत सार्वजनिक गरेका छन्। दर्जनौं ‘हिट’ गीतका गीतकार/संगीतकार तथा गायक सिवाकोटीसँग नेपाल समयका लागि मस्त केसीले गरेको कुराकानी: 

१. एउटा सर्जक/कलाकारको बुझाइमा गीत/संगीत के हो ?

हरेक मानिसको जीवनमा भइरहने क्रियाकलाप, उसको भावना, संवेग, आशा, निराशा र खुसीयालीको अभिव्यक्ति हो।

२. केही समयपहिले गीत सुनिन्थ्यो मात्रै, प्रविधिको विस्तारसँगै ‘हेरिने’ भएको छ। ‘भिजुअल’ ले गीतलाई थप सशक्त बनाउँछ ?

पहिलापहिला गीत सुन्दा हाम्रो मष्तिस्कमा बेग्लै तरंग उत्पन्न हुन्थ्यो। केही दशकअघिसम्म भिडियो बनाएर देखाउन सक्ने अवस्था पनि थिएन। नारायण गोपाल, भक्तराज आचार्य, गोपाल योञ्जनलगायतले गाएका कालजयी गीतका कहाँ भिडियो छन् र ? ती गीत अहिले सुन्दा हाम्रो मष्तिस्कमा आफ्नै तरिकाको भिडियो बन्छ।

अहिलेको पुस्ताले सुन्दै हेर्न पनि थालेको छ। त्यसैले भिडियो अनिवार्य भइसकेको छ। यो परिवर्तनलाई स्वीकार्नुपर्छ। तर गीतको भावमाथि भिडियोले सिन्डिकेट लगाउँछ। भिडियोमा जे देखियो त्यसैलाई सत्य मान्नुपर्ने हुन्छ। आफूले सोचेको जस्तो भिडियो बनिदियो भने त्यो सिर्जना अत्यन्तै सुन्दर बन्छ। कहिलेकाहीं कल्पनाबाहिर गएर तयार भयो भने त्यसले गीतलाई ‘डिस्ट्र्याक’ गरिदिन्छ। खासमा गीत भनेको सुन्नकै लागि हो।

३. पछिल्लो समय भिडियोसँगै बीचमा ‘डायलग’ पनि राखेर कथालाई पूर्ण बनाउने गरेको पाइन्छ। यो चलनलाई कसरी हेर्नुभएको छ ?

दर्शक/श्रोताले गीतमा कथा पनि खोज्न थाले। मेरो भर्खरै सार्वजनिक ‘तिमी उता म यता...’ गीतमा पनि ‘डायलग’ प्रयोग गरिएको छ। दर्शक/श्रोताले आफ्नै तरिकाले गीतको कथा बुझ्न छोडे। सबै कुरा भिडियोमार्फत भन्नुपर्ने भयो। भाषागत रुपमा पनि केही अभिव्यक्ति राखिएपछि दर्शक/श्रोताको ‘मुड’ तानिने भयो। बुझाउन सजिलो हुने भएकाले यो राम्रो पनि हो। तर अनावश्यक ठाउँमा राख्दा गीतको मर्म बिग्रिन सक्छ।

४. हाम्रो सामाजिक संरचना, धरातलीय यथार्थ, आर्थिक अवस्थाको अनुपातमा गीत/संगीतको बजारलाई व्यावसायिक मान्नुपर्छ कि अझै सन्तोष मान्ने बिन्दुसम्म पुगेको छैन ?

देशविदेशमा आयोजना हुने मेला–महोत्सवमा नयाँनयाँ गीत गाउनुपर्ने कारणले पनि हाम्रोमा संख्यात्मक रुपमा गीत बढेका हुन्। मेला–महोत्सव आम्दानीको प्रमुख स्रोत हो। पछिल्लो समय युट्युबलगायत अन्य डिजिटल प्लेटफर्मबाट पनि आम्दानी हुन थालेको छ। तर पूर्ण व्यावसायिक भइनसकेको अर्थात् व्यावसायिकतातर्फ उन्मुख क्षेत्र हो।

अन्य मुलुकमा गीतको आम्दानी पारदर्शी र अफिसियल छ। राम्रो चलेको गीतको रोयल्टीले पुस्तौंसम्म आम्दानी हुन्छ। तर हामीकहाँ थुप्रै ‘हिट’ गीतका सर्जक/कलाकारलाई पनि समस्या छ। विभिन्न क्षेत्रमा प्रयोग हुने गीतको रोयल्टी नआउनु हाम्रो समस्या हो। नेपालमा वार्षिक हजारौं गीत रेकर्ड हुन्छन्। त्यसमा एकाध गीत मात्रै चल्छन् र लगानी उठाउँछन्। तर बिस्तारै राम्रो चाहिँ हुँदै छ।

५. गायक वा गायिकाले मेला–महोत्सवबाट हजारौं रुपैयाँ लिन्छन्। तर गीतकार र संगीतकारसम्म त्यसको रोयल्टी किन पुग्दैन ?

यही त दुःख लाग्दो कुरा छ। म आफैं गीतकार पनि भएकाले मलाई थाहा छ, एउटा शब्दको महत्त्व कति हुन्छ। गीतको मूल्य कति हुनुपर्छ। शब्द राम्रो नभए गीत राम्रो हुँदै हुँदैन। गीतको जग भनेकै शब्द हो। ओजपूर्ण शब्दले प्रभावशाली संगीत निस्कन्छ।

त्यसैले शब्द र संगीतलाई जसरी महत्त्व र मूल्य दिनुपर्ने हो त्यो अझै दिइएको छैन। निश्चित मापदण्ड बनेमा महोत्सवमा गाइने गीतको रोयल्टी गीतकार/संगीतकारसम्म पुग्थ्यो। यसको व्यवस्थापनका लागि रोयल्टी संकलन समाज क्रियाशील छ। व्यवस्था नबनुन्जेल गायक/गायिकाले मन ठूलो बनाएर व्यक्तिगत रुपमा यसलाई अभ्यासमा ल्याउँदा राम्रै हुन्छ।

६. वर्षौं पुराना गीत अहिले पनि उत्तिकै सुनिन्छन्, लोकप्रिय छन्। तर नयाँ गीत ती गीत बराबर सुनिन नसक्नुको कारण के होला ?

मेरै सिर्जनाको कुरा गर्दा ‘सुर्के थैली...’ आएको ५ वर्ष भयो। ‘कुटुमा कुटु...’ आएको तीन वर्ष भयो। यी र यस्ता थुप्रै गीत आज पनि उत्तिकै सुनिन्छन्। यसरी थपिँदै जाने हुन्। यी गीतका बारेमा अहिल्यै आँकलन गर्ने बेला भइसकेको त छैन। तर अबको तीन/चार वर्षपछि पनि उत्तिकै सुनियो भने यी पनि कालजयी गीतको सूचीमा पर्छन्।

७. अधिकांश कालजयी गीत लोकलयमा आधारित छन्। अन्य गीतको तुलनामा लोकशैलीकै गीत बढी रुचाइनुको कारण के हो ?

यस्तो सुन्दा मेरो छाती गर्वले ढक्क फुलेर आउँछ। हुनुपर्ने नै यही हो। गर्नुपर्ने नै यही हो। हामी कहाँ छौं? कुन ठाउँमा छौं? हाम्रो संस्कार के हो? हाम्रो धरातल के हो? लोकगीतले हाम्रो संस्कार, संस्कृति र माटोको सुगन्ध बोकेको हुन्छ।

त्यसैले सबैको मनमा बस्छ। आफ्नो चिज निमिट्यान्न हुँदा पनि अत्तोपत्तो नहुने, अरुको चिजमा हाईहाई गरेर बस्नुपर्ने बाध्यताभन्दा बाहिर जानुपर्छ। अर्को कुरा, हाम्रो भाषा, संस्कार चिनाउने त लोकगीत नै हो।

८. तपाईंले लोकगीतदेखि आधुनिक, पप सबैखाले सिर्जना गर्नुभयो। तर स्वतन्त्र भएर सिर्जना गरिएकाभन्दा चलचित्रको पटकथाको ‘सिक्वेन्स’ भित्र बाँधिएका गीतले स्थापित गरायो। यसको कारण के हो ?

मैले जुनसुकै गीतमा पनि नेपालीपन, हाम्रो भाषा, संस्कार, संस्कृति र माटोको सुगन्धलाई ‘फ्युजन’ गरेको छु। अर्को कुरा, अरुभन्दा चलचित्र संगीतको प्रभाव शक्तिशाली हुन्छ र छिटो प्रचार हुन्छ।

९. गीत सिर्जना गर्दा कुन पक्षलाई बढी जोड दिइन्छ– बजार, दर्शक/श्रोताको मनोभाव, गीतले बोक्ने मर्म वा अन्य केही ?

समग्रमा सबै कुरा हेर्नुपर्छ। दर्शक/श्रोताविना गीतको मूल्य छैन। त्यसैले उहाँहरुको मन छुने खालको गीत बनाउनुपर्‍यो। दर्शक/श्रोताको मन छुने आफ्नै समाजको परिवेश, सामाजिक जीवन र संस्कारले हो। समाजको कुराले आकर्षित गर्छ भन्दैमा जे पायो त्यही प्रयोग पनि राम्रो हुँदैन। सकारात्मक सन्देश दिने खालका भाव र शब्द भएन भने राम्रो हुँदैन। शब्दले समाजमा पार्ने असर, दर्शक/श्रोताको रुचि र ट्रेन्ड पनि हेर्नुप¥यो।

१०. पछिल्लो समय चर्चित पुराना गीतको ‘कभर’ गाउने चलन निकै बढेको छ। यसलाई कसरी हेर्नुभएको छ ?

एउटा फाइदा के छ भने नसुनिएका वा सुन्न छोडिएका गीत अहिलेका दर्शक/श्रोताले पनि सुन्न पाउनुहुन्छ। यसले एक प्रकारको हुलाकीको काम गरेकोमा राम्रै मान्नुपर्छ। तर कभर गाउँदा त्यसको स्रष्टालाई दिनुपर्ने नाम, सम्मान, अधिकार, न्यायबारे विचार गर्नुपर्छ।

११. यस्तो चलनले भोलिको पुस्ताले कभर गाउनेलाई नै वास्तविक गायक/गायिका ठान्ने हुन् कि ?

पक्कै हुन सक्छ। जसले गाए पनि शब्द र संगीत त उही हुन्छ। यो अभ्यासलाई कसरी लिने भन्ने पनि हुन्छ। गर्नै हुँदैन भने नयाँ पुस्ताले गुणस्तरीय गीत सुन्न पनि नपाउने भयो। किनभने पुरानो प्रविधिले कतिपयको गुणस्तर निकै कमजोर छ। तर एउटा समयसीमापछि मात्रै कभर गाउन दिने व्यवस्था गर्दा ठिक होला कि !

१२. अहिले युट्युब भ्युजकै आधारमा गीतको लोकप्रियता मापन गरिन्छ। यो कति न्यायोचित हो ?

अरु विकल्पै छैन। अरु थाहा पाउने ठाउँ पनि छैन। दर्शक/श्रोताको पहुँच युट्युबमै छ। तर धेरै भ्युजकै आधारमा कुनै गीत उत्कृष्ट भन्न मिल्दैन। प्रतिभा र सिर्जना नराम्रो भन्ने त हुँदैन।

१३. नेपालमा विदेशी संगीतको ठूलो बजार छ, तर बाहिर हाम्रो बजारको हिस्सा त छँदै छैन भन्दा हुन्छ ?

यो स्वाभाविक हो। ‘कुटुमा कुटु...’ पाकिस्तानका गायक, अमेरिकी रक गायक/गायिका, भारत, अस्ट्रेलियालगायत मुलुकमा गायक÷गायिकाले लाइभ गाएका छन्। अन्य देशमा पनि यो गीत सुन्ने/गुनगुनाउने थुप्रै छन्। यसले हाम्रो संगीतको सम्भावना देखाएको छ। प्रविधिले विश्व बजारमा पुग्न सहज बनाएको छ। पाइला चाल्दै छ। बिस्तारै राम्रो हुँदै छ।

१४. कोरोना महामारीको चपेटामा परेको सांगीतिक क्षेत्रबाट कलाकार पलायन हुने डर कति छ ?
छैन। यो त आराम गर्न र सिर्जनाका लागि समय जुराए जस्तो लाग्छ मलाई। लगातार काम गरिरहँदा दिक्क लाग्छ। केही महिना काम बन्द हुँदा सिर्जनाका लागि सोच्ने समय पाइँदो रहेछ। यस अवधिमा मैले एक/दुईवटा सिर्जना गरें पनि। रेकडिङलगायत नयाँ कामको दबाब र समयसीमा नहुँदा नयाँ खालको प्रयोग र सोचको अवसर हुँदो रहेछ। सर्जकका लागि यो निकै उपयुक्त समय हो।

प्रतिक्रिया दिनुहोस्