सिन्धुली- सिन्धुलीमा सुनकोसी नदीले बगाउँदा दुईजना बेपत्ता भएका छन्। नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई युवा बेपत्ता भएका हुन्।
आइतबार नदीमा पौडी खेल्न जाने क्रममा जिल्लाको फिक्कल गाउँपालिका–४ कुइभीरबाट दुईजनालाई सुनकोसी नदीले बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
उनका अनुसार पौडी खेल्ने क्रममा सुर्खेत पञ्चकोटी नगरपालिका–७ घर भई हाल फिक्कल गाउँपालिका–४ खाङसाङमा काठको मिस्त्री काम गर्ने १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय जनक बुढाक्षेत्रीलाई सुनकोसी नदीले बगाएकाे हो।
सुनकोसी नदीले मानिस बगाएको भन्ने जानकारी आउनेबित्तिकै प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली उद्धारका लागि परिचालन गरिएको उनको भनाइ छ। बेपत्ताको खोजी कार्यका लागि सात जना प्रहरी र स्थानीयवासी जुटेका छन्। -रासस