जाजरकोट - जाजरकोटमा एक सुत्केरीको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका पति र ससुरालाई पक्राउ गरेको छ।
जिल्लाको बारेकोट–६ ताँसीकी २२ वर्षीया जेनिसा नेपालीको शंकास्पद मृत्यु भएपछि प्रहरीले २४ वर्षीय पति अविनास र ६० वर्षीय ससुरा दलवीरलाई पक्राउ गरेको हो।
जेनिसाको गत वैशाख २७ गते शंकास्पद मृत्यु भएपछि मृतकका माइतीले हत्याको आरोप लगाउँदै पतिसहित परिवारका पाँच जनाको नाममा किटानी जाहेरी दिएका थिए।
उक्त जाहेरीका आधारका अनुसन्धानका लागि पति र ससुरालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले बताए। परिवारका पाँचै जनाको नाममा जाहेरी दिए पनि सुरुमा पति र ससुराबाट अनुसन्धान गरिने श्रेष्ठले जानकारी दिए।
जाहेरीमा सासु रतनकली, आमाजु दिदी दुर्गा, नन्द विपनाको नाम छ। कुनै बिरामी नभएकी जेनिसाको पेट दुखेर एक्कासी मृत्यु भयो भनिए पनि शरीरमा निलडाम भएको, मुख र नाकबाट रगत बगेको, कन्चटमा निलो दागसमेत रहेकोले घरपरिवारले नै हत्या गरेको मृतकका दाइ प्रविण नेपालीले बताए।
माइती पक्षलाई कुर्दा तीन दिनसम्म शव घरमै रहेको थियो। पछि पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
बुधबार जाहेरी लिन नमानेको प्रहरीले शुक्रबार मात्र जाहेरी दर्ता गरेको थियो। कुशे गाउँपालिका–६ नारे माइती घर भएकी जेनिसाको अविनाससँग २०७२ मंसिरमा बिहे भएको थियो।