काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरीको मृत्युको कारण थाहा भइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको मृत्युबारे विवरण लिने काम भइरहेको बताए। उनले भने, ‘यस विषयमा विवरण लिने काम भइरहेको छ, थप परीक्षणहरु भइरहेको छ । थप जानकारी आएपछि कोरोनाको कारण हो वा होइन भन्ने कुराको पुष्टि हुन्छ।’
देवकोटाका अनुसार ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी ती महिला २४ वैशाखमा सुत्केरी भएकी थिइन् र भोलिपल्ट डिस्चार्ज भएर सिन्धुपाल्चोक गएकी थिइन्।
तर, घर पुगेपछि श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको देवकोटाले जानकारी दिए ।
धुलिखेल अस्पतालमा स्रोतले भने उनको शरीरमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ।
उनमा कोरोनाको लक्षण देखिएपछि अस्पतालमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ। पुनः पुष्टिका लागि नमुना राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। साथै पुष्टि गर्नका लागि स्वास्थ्य मन्त्रालयबाट चिकित्सकको टोली धुलिखेल पठाइएको छ।
महिलामा ज्वरो, खोकी देखिएको र सुत्केरी पश्चात धेरै रक्तश्राव भएको उनका आफन्तले जानकारी दिएका छन्।
अहिले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ ।
मृतक महिलाको बच्चा धुलिखेल अस्पतालमै रहेको र उनमा पनि संक्रमण रहे नरहेको एकिन गर्न नमून संकलन गरिएको छ।