बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संक्रमित पत्रकारको भोगाइ- तातोपानी खानु भनेको छ, आइसोलेसनमा चिसो पानीसमेत छैन

संक्रमित पत्रकारको भोगाइ- तातोपानी खानु भनेको छ, आइसोलेसनमा चिसो पानीसमेत छैन

कोरोनाबारे आमनागरिकलाई सुसूचित गराउन अग्रमोर्चामा खटिइरहने जनकपुरका एकजना पत्रकार आफैं संक्रमित भएका छन्।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

जनकपुरधाम- कोरोनाबारे आमनागरिकलाई सुसूचित गराउन अग्रमोर्चामा खटिइरहने जनकपुरका एकजना पत्रकार आफैं संक्रमित भएका छन्।

triton college

कोरोना संक्रमणबाट जोगिन अरुलाई सुसूचित गराइरहँदा स्वयम् संक्रमित भएपछि उनी अहिले ‘आइसोलेसन’ मा छन्। 

जनकपुरस्थित टाइम्स टेलिभिजानमा कार्यरत पत्रकार वीरेन्द्र रमणलाई प्रादेशिक अस्पताल नजिक प्रदेश सरकारले तयार पारेको नर्सिङ क्याम्पस भवनको कोरोना अस्पतालमा राखिएको छ।

२४ वैशाखमा उनीसहित २३ जना पत्रकारले स्वेच्छाले पीसीआर परीक्षण गराएका थिए। नेपाल पत्रकार महासंघ धनुषा शाखाको पहलमा नेपाली सेनाको टोली महासङ्घ कार्यालयमा पुगेर पत्रकारहरुको स्वाब संकलन गरेको थियो।

स्वाब संकलन गरेको तीन दिनपछि सबै पत्रकारको रिपोर्ट नेगेटिभ आयो। नेगेटिभ रिपोर्ट आउँदा सबै पत्रकार ढुक्क भए, कोरोना संक्रमण छैन भनेर। त्यो रिपोर्ट प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालाले दिएको थियो।

corrent noodles
Metro Mart

त्यसको ठीक तीन दिनपछि मंगलबार राति १०ः१५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको अद्यावधिक विवरण सार्वजनिक गर्‍यो। र, धनुषामा दुईजना संक्रमित फेला परेको भन्यो।

धनुषामा दुईजना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयको विवरण हेर्दासम्म  रमणलाई आफू पनि संक्रमित होउँला भन्ने विश्वास थिएन। 

अर्को दिन बिहान महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र र धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले फोन गरेर ‘धनुषामा दुईजना संक्रमितमध्ये एकजना तपाईँ पनि हो’ भनेपछि रमण झसंग भए।

आफूलाई कसरी संक्रमण भएको हो भन्नेबारे रमण स्वयंलाई पत्तो छैन। घरबाट महासङ्घ र टेलिभिजन कार्यालयबाहेक अन्य कहिँ कतै नगएको रमण बताउँछन्।

‘पत्रकार साथीहरु बाहेक अन्य कसैसँग उठबस छैन्, बाहिर कहिँ गएको छैन्,’ टेलिफोनमा कुरा गर्दै रमणले भने, ‘मलाई कहाँबाट संक्रमण भयो, थाहा छैन।’

कोरोना संक्रमित भएपछि पत्रकारलाई गलत दृष्टिकोणले हेर्न थालिएको थाहा पाएर उनलाई खल्लो लागेको छ। ‘पत्रकार संक्रमित भएपछि नकारात्मक दृष्टिकोणले हेर्न थालिएको सुनेको छु,’ उनले भने, ‘म संक्रमित भएर सबैलाई सचेत भएर बस्न खबरदारी गरेको छु, अन्य कोही संक्रमित नहोउन् भन्ने मेरो चाहना छ। सबैजना सचेत भएर बस्न जरुरी छ।’

कोरोना संक्रमण पुष्टि भएपछि पत्रकार रमणका बाबु, आमा, श्रीमती र दुईजना बच्चाहरुलाई जनकपुरधाम–७ स्थित स्वस्तिक अस्पतालको क्वारेन्टिनमा राखिएको छ। बुधबार बिहान परिवारका सदस्यहरुलाई क्वारेन्टिनमा राखिए पनि उनीहरुको परीक्षण भइसकेको छैन। ‘कमसेकम परिवारका सदस्यहरुको चाँडै परीक्षण गरिदिए हुन्थ्यो’ रमण भन्छन्।

नर्सिङ क्याम्पसमा सञ्चालन भइरहेको कोरोना अस्पतालको व्यवस्थापन प्रति समेत उनको चित्त बुझेको छैन। कोरोना उपचारको लागि अस्पताल सञ्चालन गरिएको भनिए पनि आइसोलेसन वार्डमा पिउने पानीको समेत उचित व्यवस्था नरहेको उनले बताए।

‘उपचार त परै जाओस यहाँ पानी खान पनि राम्रो व्यवस्था हुनसकेको छैन,’ उनले भने, ‘तातो पानी खान सुझाव दिइएको छ, तर पानी तातो कसरी गर्ने कुनै व्यवस्था गरिएको छैन।’

आइसोलेसनमा रहेकाहरुलाई खाना पनि बाहिर होटलबाट मगाउने गरिएको उनले सुनाए। ‘कोरोना संक्रमण बढिरहेको बेला छुट्टै खाना पकाउने व्यवस्था हुँदा राम्रो हुन्थ्यो,’ उनले भने, ‘तर, यहाँ नजिककै होटलबाट साँझ बिहान खाना मगाउने गरिन्छ।’

हृदयघात भएर केही साताअघि काठमाडौंको गंगालाल अस्पतालबाट उपचार गराएर फर्किएका रमणलाई दैनिक औषधि सेवन गर्नुपर्दछ।

मुटुको समस्या रहेको उनी आइसोलेसन थुनुवा कोठा जस्तै रहेको बताउँछन्। रमण भन्छन्, ‘आइसोलेसन र क्वारेन्टिनहरुलाई व्यवस्थित बनाउँदै पोजिटिभ देखिएकाहरुलाई हतास हुनबाट जोगाउन मनोवैज्ञानिक परामर्श जरुरी छ, भन्ने लागेको छ।’

प्रकाशित: May 14, 2020| 19:08 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।