विहीबार, साउन २२, २०७७

विचार विशेष

बालबालिकालाई उनीहरूकै स्वभावमा सिक्न दिऊँ

1593831441Sajeena_dhungana_.jpg

बच्चा र अभिभावकको सोचाइ मिल्दैन। त्यसैले अभिभावकले आफूअनुकुल होइन, बच्चाहरुकै उमेर र स्वभावमा सिक्न र हुर्किन दिनुपर्छ।

लकडाउनका कारण लामो समयदेखि बालबालिका विद्यालय जान पाएका छैनन्। उनीहरुको दैनिकी फेरिएको छ। बिहानै उठ्ने, गृहकार्य गर्ने, खाना खाएर विद्यालय जाने, बेलुका आएर खाजा खाने, खेल्ने, पढ्ने, बिदामा अभिभावकसँग घुम्न जाने सबै कार्यतालिका अवरुद्ध भए। अभिभावक र बालबच्चा दुवै फुर्सदमा रहँदा उनीहरू घरभित्रै सीमित रहे। बालबालिका गेम खेल्ने, टीभी हेर्ने, घरपरिवारमै रमाउने बाहेक अन्य काममा संलग्न भएनन्।

विद्यालयले अनलाइन पढाइ सुरु गरेपछि लामो समय फुर्सदमा रहेका बालबालिका केही समय व्यस्त हुन थाले। उनीहरूलाई त्यो कुरा मन परेन। विद्यालयको तनावबाट मुक्ति पाएका उनीहरु फेरि पढ्न थालेपछि व्यवहारमा परिवर्तन आउन सक्छ। तर त्यो सबैले व्यक्त गर्न सक्दैनन्।

चिडचिडाहट हुने, झनक्क रिसाउने, भनेको नमान्ने, चर्को स्वरमा बोल्नेलगायतका व्यवहार देखाउँछन्। यस्ता लक्षणलाई सामान्य मान्नुपर्छ। नयाँ दैनिकीमा बानी परिसके भने केही समयपछि आफैं ठिक हुन्छ। बढ्दै गयो भने चाहिँ समस्या निम्तिन सक्छ।

हाम्रा लागि अनलाइन कक्षा नौलो हो। अनलाइन सामग्रीदेखि, मोडालिटीको अभाव हुँदा कामचलाउ रुपमा विद्यालयले कक्षा चलाइरहेका छन्। अनलाइन एप्लिकेसन्सहरु कक्षामैत्री नहुँदा पनि विद्यालयहरु पढाउनैपर्ने बाध्यतामा पुगे। यसका फाइदा र बेफाइदा दुवै छन्।

भर्चुअल कक्षाका फाइदा – मोबाइल, कम्प्युटर, ल्यापटपलाई गेम खेल्ने र मनोरञ्जनात्मक काममा प्रयोग हुने सामग्री ठान्ने बालबालिकाले पढाइका लागि पनि प्रयोग हुने साधनको रुपमा बुझे। घरपरिवारमा सीमित उनीहरुलाई भर्चुअल माध्यमबाटै भए पनि शिक्षक र सहपाठीसँग घुलमिल हुने अवसर मिल्यो। जस्तो बेला पनि पढाइ अपरिहार्य रहेछ भन्ने बुझ्ने अवसर दियो। साथीलाई ‘मिस’ नगर्ने भए। अनलाइनबाटै शिक्षकसँग घुलमिल हुन पाए। यसले गर्दा भोलि विद्यालय जाँदा पनि उनीहरुलाई शिक्षक र साथी नौला हुँदैनन्।

भर्चुअल कक्षाका केही बेफाइदा पनि छन्। उनीहरुले लामो समय अनलाइनमै पढाइ गरे भने कक्षाकोठाको पढाइ बोझिलो बन्न सक्छ। विद्यालय जान मन नगर्न सक्छन्। बिहानै उठेर झोला बोकेर दिनभर विद्यालय जानुपर्दा दिक्क लाग्न सक्छ। अनलाइन पढाइ बालमैत्री नहुँदा समस्या हुन सक्छ। लामा ‘असाइनमेन्ट’, गृहकार्य दिँदा बालबालिकाले अनलाइन कक्षाप्रति अरुचि देखाउन सक्छन्।

शिक्षकले एकोहोरो बोल्नुको साटो उनीहरुलाई पनि बोल्न दिने र साथी–साथीबीच अन्तक्र्रिया गर्ने अवसर दिनुपर्छ। शिक्षकले सिकाइ गतिविधिसँगै रमाइला क्रियाकलाप गराउँदा अनलाइन कक्षामा रुचि बढ्न सक्छ।

पढाइका साथै गेम, गीतसंगीत आदिका लागि मोबाइल, ल्यापटपमा निर्भर रहँदा ‘स्क्रिन डिपेन्डेन्सी’ बढाउँछ। यसको लत हानिकारक हुन सक्छ। खाँदा पनि मोबाइल चाहिने र कार्टुन हेर्नुपर्ने कारण यही हो। त्यसैले अभिभावक सचेत हुनुपर्छ। उनीहरुलाई स्क्रिन नचलाऊ भनेर मात्रै हुँदैन, के कारणले नचलाउने बुझाउनुपर्छ।

बच्चालाई नचलाऊ भन्ने तर, आफूले काम छ भनेर चलाइरहँदा उनीहरूले बुझ्दैनन्। आफूले गर्ने व्यवहार नै बच्चाहरुले सिक्ने हुन्। त्यसैले सकभर अभिभावकले पनि स्क्रिनको प्रयोग कम गरेकै राम्रो। बालबालिकालाई स्क्रिनभन्दा बाहिरका क्रियाकलापमा सहभागी गराउनु उचित हुन्छ।

बालबालिकाले मोबाइल र ल्यापटमा हेर्ने, खेल्ने सामग्री कति सिर्जनशील छ? कति लाभदायक छ? उमेरअनुसार छ, छैन अभिभावकले ख्याल गर्नुपर्छ। इन्टरनेटका सामग्रीबारे बुझाउनुपर्छ।

बालबालिकाको उमेर र स्वभाव हिँड्नुपर्ने, खेल्नुपर्ने, घुम्नुपर्ने खालको हुन्छ। लकडाउनले त्यो अवसर खोसेको छ। ठूला मान्छेले यो–यो कारणले यस्तो भएको भनेर बुझ्छ, तर बच्चाले बुझ्न सक्दैन। त्यसैले बुझ्ने भाषामा उनीहरुलाई सुनाउनुपर्छ।

तरकारी किन्न जाँदा मात्रै भए पनि घरबाहिर लैजानुपर्छ। डर भने देखाउनु हुँदैन। उमेरअनुसारको सिकाइले बालबालिकामा आत्मविश्वास बढ्छ। उनीहरुले गर्ने ससाना कामको प्रशंसा भने गर्नैपर्छ।

भोलिका दिनमा विद्यालय जानुपर्छ, कक्षा कोठामा पढ्नुपर्छ, साथीभाइलाई भेट्नुपर्छ, यस्तो–यस्तो अवस्था आउँछ भनेर बिस्तारै उनीहरुलाई मानसिक रुपमा तयार पार्नुपर्छ। एकैपटक विद्यालय पठाउँदा उनीहरू खुसी नहुन सक्छन्।

कहिलेकाहीं अभिभावकमा तनाव उत्पन्न हुन्छ। तर त्यस्तो व्यवहार बालबालिकामा पोख्नु हुँदैन। सामाजिक गतिविधि उनीहरुले बुझ्नेगरी भन्नुपर्छ। बच्चाहरुमा मनोसामाजिक प्रभाव नपरोस् भनेर उनीहरुसँग घुलमिल हुनुपर्छ। समय धेरै बिताएर मात्रै हुँदैन कसरी बिताएको छ भन्ने कुराले प्रभाव पार्छ।

बच्चाहरुले आफ्नो समस्या पोख्न नसक्ने हुँदा उनीहरुलाई किन त्यो भयो भनेर सोध्नुपर्छ। यो नगर त्यो नगर भन्नुभन्दा किन नगर्ने भनेर बुझाउने प्रयास गर्नुपर्छ। उमेरअनुसारको व्यावहारिक कुरा सिकाउँदै/बुझाउँदै जानुपर्छ। बच्चालाई हाम्रो स्वभावअनुसार होइन उनीहरुकै स्वभावमा हुर्कन र सिक्न दिनुपर्छ।

बच्चाले स्वभावैले आमाबुबाको साथ खोज्छ। ठूलो भइसकेका मानिसले समेत आमाबुबाबाट धेरै कुराको आस गर्छ। यो प्राकृतिक प्रक्रिया हो। त्यसैले उमेरअनुसार बालबालिकालाई मद्दत गर्नुपर्छ। सबै कुरा आफैंले गरेर उनीहरुलाई पूर्ण निर्भर बनाउनु हुँदैन। सँगै बसेर सहयोग गर्ने, काम गर्न लगाउने, प्रशंसा गर्ने गर्नुपर्छ।

बच्चाहरुले गल्ती गर्नु र काम बिगार्नु स्वाभाविक हो। त्यस्तो बेला उनीहरुलाई गाली गर्नुभन्दा किन त्यस्तो भयो? अब के गर्दा त्यस्तो हुँदैन भनेर सम्झाउनुपर्छ। बच्चाको स्वभाव जिज्ञासु हुन्छ, अभिभावकले त्यसलाई मर्न दिनु हुँदैन।

बच्चाहरुले आफूलाई मन नपरेको कुरा बाहिर व्यक्त नगरेर व्यवहारमा देखाउँछन्। झर्किने, भनेको नमान्ने, घुर्की लगाउने, खाना नखाने, धम्की दिने आदि। यस्तो व्यवहारलाई चिन्ता मान्नुपर्ने केही छैन। तर, लगातार दोहा¥याइरहे पनि समस्याका रुपमा बुझ्नुपर्छ।

यति हुँदैमा मनोपरामर्शविद्कहाँ जानुपर्छ भन्ने छैन। अभिभावक र विद्यालयको परामर्शले ठिक हुन सक्छ। उनीहरुलाई किन त्यस्तो भइरहेको छ भन्ने चाहिँ बुझ्नुपर्छ। हामीले बच्चाको केही काम गर्दिन्छु भनेर आस देखाउने तर समयमै नगर्दा पनि यस्तो व्यवहार देखाउन सक्छन्। त्यसैले अभिभावक निकै सचेत हुनुपर्छ।

हाम्रो समाजमा बच्चा हुर्काइको दुई तरिका छन्। एउटा, आफू जसरी हुर्कियौं बच्चालाई त्यसरी हुर्काउन खोज्छौं। अर्को, मैले यति दुःख पाएको थिएँ, बच्चाले त्यस्तो केही नपाओस् भनेर सारा चिज पु¥याएर हुर्काउन खोज्ने। हामीले ‘मिस’ गरेको वा भनौं जिउन नपाएको जिन्दगी उनीहरुमा पूरा गर्ने प्रयास गर्छौं। त्यस्तो गर्नु हुँदैन। उनीहरुलाई समयअनुसार अगाडि बढ्न दिनुपर्छ।

(मनोविमर्शविद् ढुंगानासँग गरिएको कुराकानीमा आधारित)

पढ्नुस्ः

बन्धकमा बाल मन

अनलाइन पढाइ साना नानीका लागि हुँदै होइन

बालबालिका: महामारीको छायाले पछिसम्म सताउला ?

 

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप