कोरोना भाइरसको आशंकामा सबैभन्दा धेरै प्रदेश ५ मा ५७ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले नेपालमा हाल देशभर १ सय ६४ जना आइसोलेसनमा रहेको जानकारी दिए । आइसोलेसनमा हुनेहरुमध्ये प्रदेश १ मा २३ जना, प्रदेश २ मा ४५ जना, बागमतीमा ३८ जना र प्रदेश ५ मा ५७ जना छन्।
त्यस्तै मोबाइल एपमा स्व¬परीक्षण गरिएकामध्ये अहिलेसम्म ३ सय ४० जना ‘रेड जोन’मा रहेका छन्।
नेपालमा हालसम्म १ सय १० जना संक्रमित छन् । संक्रमितमध्ये प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१ जना, बागमती प्रदेशमा ७ जना, गण्डकीमा २ जना, प्रदेश ५ मा ३० जना र सुदूरपश्चिम प्रदेशका ५ जना रहेका छन् ।
संक्रमितमध्ये ३१ जना उपचारपश्चात् निको भएर घर फर्किएका छन् भने बाँकी ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
नेपालमा अहिलेसम्म १६ हजारभन्दा बढी व्यक्तिहरुमा टिपिसिआर विधिबाट कोरोना भाइरस परीक्षण गरिएको छ। पीसीआर र आरडीटी गरी दुवै विधिबाट अहिलेसम्म ७३ हजार ४ सय ४८ जनाको परीक्षण गरिएको छ।