अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट बनाउन जुटेको छ। अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थ मन्त्रालयका उच्च अधिकारीहरु बजेट निर्माणका लागि खटिइरहेका छन्।
यस वर्षको बजेट कोरोना भाइरसको महामारीका कारण सिर्जित आर्थिक संकट सामना गर्न केन्द्रित हुने अर्थमन्त्री डा. खतिवडाले बताइसकेका छन्। विज्ञहरुले पनि बजेटको प्राथमिकता यही हुनुपर्ने बताएका छन्।
विगतका वर्षमा बजेट तयार गर्नुपूर्व पर्याप्त रुपमा छलफल हुने गरेको भए पनि यस वर्ष भने त्यस्तो देखिएको छैन। आगामी बजेटबारे सत्तारुढ दल नेकपाभित्रै पनि पर्याप्त छलफल नभएको बताइन्छ। विगतका वर्षहरुमा पूर्व अर्थमन्त्रीहरुसँग पनि प्रि–बजेट छलफल हुने गरेको थियो। तर, यस वर्ष त्यो पनि भएको छैन।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे अर्थमन्त्री खतिवडाले पूर्व अर्थमन्त्रीहरुसँग बजेटको बारेमा छुट्टै बसेर छलफल नगरेको बताउँछन् । उनका अनुसार संसदको अर्थ समितिमा रहेका पूर्व अर्थमन्त्रीहरुले समितिको बैठकमा गएका बेलामा सुझाव दिएका छन्। समितिको बैठक अर्थ मन्त्रालका एक कर्मचारी आउने र पूर्व अर्थमन्त्रीहरुले बोलेका कुरा टिपेर लाने गरेको उनले सुनाए।
उनले भने, “कुनै समयमा भने अर्थमन्त्री आफैँ समितिको बैठकमा उपस्थित भएर पूर्वमन्त्रीहरुको बजेटबारे भनाइ सुन्ने बाहेक छुट्टै राखेर सुझावहरु भने लिएका छैनन् ।”
त्यस्तै नेपाली कांग्रेसका पूर्वअर्थमन्त्री डा.रामशरण महतले पनि अर्थमन्त्रीले बजेटबारे पूर्वअर्थमन्त्रीसँग एक पटक पनि सुझाव नमागेको गुनासो गरे । उनले भने, “अहिलेका अर्थमन्त्री डा. खतिवडाले बजेटमा पहिले पनि पूर्व अर्थमन्त्रीहरुको सुझाव लिएका थिएनन् र अहिले पनि लिएका छैनन् ।”
अर्थ समितिमा तीनजना पूर्वमन्त्री छन्– डा.बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्र कार्की । बाँकी पूर्व अर्थमन्त्रीहरु समिति बाहिर रहेको र उनीहरुको भनाइ बजेटमा नसेमिटने गुनासो बाहिर रहेका पूर्वअर्थमन्त्रीहरुले गरेका हुन् ।
अर्थ मन्त्रालयले भने बजेट बनाउनका लागि विभिन्न निकायसँग सल्लाह सुझाव र छलफल गरिरहेको जनाएको छ। अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार विभिन्न डिजिटल प्लेटफर्म मार्फत् पनि अर्थमन्त्रीले आगामी बजेटको लागि छलफल, सल्लाह सुझाव लिइरहेका छन् ।