मंगलबार, साउन २७, २०७७

समाचार खेलकुद

खेलकुद पत्रकारिता दिवसमा पुराना खेल पत्रकारहरुले सुनाए आफ्नो अनुभव

1593699820Nsjf.jpg

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले खेल पत्रकारितामा कोभिड–१९ को असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। त्रिपुरेश्वरस्थित मञ्चकै भवनमा सम्पन्न कार्यक्रममा विगत लामो समयबाट खेलकुद पत्रकारिता गरिरहेका पत्रकार, सम्पादक र पत्रकार महासंघका प्रतिनिधिहरुले खेलकुद पत्रकारिताबारे आफ्ना अनुभवहरु सुनाएका छन्।

खेलकुद पत्रकारिता क्षेत्रमा लामो समयदेखि काम गरिरहेका पत्रकारले कोरोना भाइरसको महामारीपछि खेलसहित समग्र पत्रकारिता अप्ठेरो विन्दुमा पुगेको सुनाए।

त्यस्तै कतिपय वक्ताले कोरोना भाइरसविरुद्धको लडाईँमा नायकका रुपमा उभिएका समग्र पत्रकारहरुको हितका लागि कुनै पनि काम गर्न नसकेकोसमेत आरोप लगाए।

कसले के भने ?

राजु सिलवाल, खेलकुद पत्रकार

अहिले नेपालमा खेलकुद पत्रकारिताले धेरै प्रगति गरिसकेको छ। धेरै मिडिया हाउसमा पनि स्थान पाएको छ।
म खेलकुदको क्षेत्रमा २०३८ सालदेखि संलग्न छु। त्यतिबेला म भारतको पत्रिकामा काम गर्थेँ। पछि २०४२ सालमा नेपाल टेलिभिजनबाट काम गर्न थालेँ। त्यतिबेला सम्पादकले खेल समाचार च्यातेर डस्टबिनमा हालेको पनि मेरो अनुभव छ। दिनभरि काम गरेर समाचार नै प्रसारण नहुने अवस्था पनि थियो। समाचारको अन्त्यमा कम महत्व दिएर राख्ने गरिन्थ्यो।
तर त्यही खेलकुदको कार्यक्रममा राजा वा कुनै राजपरिवारको मानिस आएमा एक नम्बरको समाचार बन्थ्यो।

यस्तो अवस्थाबाट गुज्रिएको खेल पत्रकारितामा अहिले धेरै विकास भएको छ। अहिले त सबै समाचारमा खेलकुद अनिवार्य जस्तै छन्।
त्यतिबेला खेल धेरै हुन्थ्यो। अहिलेको भन्दा पनि धेरै। तर लेख्नु चाहिँ भाषण पथ्र्यो। खेल अधिकारीको भाषण। खेलको समाचार भन्दा धेरै खेल अधिकारीको वक्तव्य खेल समाचारको रुपमा लेख्नु पथ्र्यो। एकपटक सदस्य सचिवको वक्तव्यको पत्र माग्दा गाली पनि भेटियो।

उहिले यही दशरथ रंगशालामा खेल हेर्न आउने मानिसलाई हल्ला नगर्न चेतावनी दिइन्थ्यो। धेरै हल्ला गर्नेलाई प्रहरीले समात्थ्यो। त्यसमाथि समाचार छिटो हाल्ने प्रविधि पनि हामीसँग थिएन। २०४४ साल फागुन २९ गतेको हुरीका कारण रंगशालामा धेरै मानिसको मृत्यु भएको समाचार तत्काल हाल्न सकिएन। त्यतिबेला ब्रेकिङ न्युज भन्ने नै थिएन।

बिदेशी समाचार त कहिले २ दिन कहिले ३ दिनपछि हाल्नु पर्ने हुन्थ्यो। हामी विदेश गएर बनाएको समाचार पनि ढिलो प्रसारण हुन्थ्यो। कतिबेला त समयमा रिपोर्टिङ गरिएन भने गलत समाचार प्रसारण भएको उदाहणहरु पनि छन्।
राजनीति र समाज विट हेर्ने मात्र न्युज चिफ हुने, खेल पत्रकार सम्पादक र न्युज चिफ हुदाँ अरुले अलिक खिन्नता महशुस गर्ने गरेको अझै पनि पाइन्छ।

महामारीको सन्दर्भमा अहिले कुनै खेल कार्यक्रम नभएको समयमा पनि पत्रकारले कुनै न कुनै हिसाबले खेल समाचार लेखिरहेका छन्।

श्याम चित्रकार, नेपाल टेलिभिनको पहिलो क्यामेरा मेन (खेलकुदतर्फ)

पहिले खेल समाचार हेर्ने चलनै थिएन। कभरेज पनि कम हुन्थ्यो। मैले विभिन्न टिमबाट फुटबलल खेलेँ। त्यस हिसाबले खेलाडीले ‘आफ्नो खेलप्रति मानिसको धारण के छ ?’ भन्ने धेरै खोजी गर्थे। तर खेलकोभन्दा अन्य विषयकै समाचार धेरै आउँथे। खेलमा पनि गोलको मात्र महत्व हुन्थ्यो।

२०५० सालतिर हामीले खेलकुद कार्यक्रम बनाएका थियौँ। त्यो नेपालमा पहिलो खेलकुद कार्यक्रम थियो।
पहिले समाचार हाल्न धेरै समस्या थियो। अहिले डिजिटल छ तर त्यतिबेला एनालगबाट खिच्नु पर्ने थियो। बिग्रिने डर धेरै हुन्थ्यो।

हामी अष्ट्रेलिया गएको बेलामा पनि समस्या पर्यो। अरुले धेरै पैसा तिरेर भिडियो–फोटो खिच्थे, हामीले त्यत्रो खर्च गरेर खिच्न नसक्ने। अनि क्यामेरा पनि प्राइभेट भनेर रंगशालमा छिराउनु पथ्र्यो। खेल सकिएर विमानिस्थलमा पुगेर समाचार पठाउनु पथ्र्यो।
खेल पत्रकारीता झन्झटिलो छ। तर, भित्रैबाट गर्न सक्यो भने गाह्रो लाग्दैन। एउटा कुरा के चाहिँ विचार गर्नुपर्छ भने ‘खेल पत्राकारले स्पोर्ट्समेनको हितको लागि काम गर्नुपर्छ।’

प्रतिक प्रधान, प्रधान सम्पादक, बाह्रखरी मिडिया प्रालि

काठमाडौं पोस्ट सुरु हुँदा अंग्रेजीमा पत्रकारीता गर्न म पनि त्यता गएँ। पत्रकारिता गर्ने मन थियो तर के काम गर्ने थाहा थिएन। खेलकुदमा मानिस नभएकाले मैले खेलकुद हेर्न थालेँ। पछि सम्पादक भएर स्पोर्ट्सको केही काम गरें।

म एक सम्पादक भएका हिसाले के विचार गरेको छु भने, कुनै पनि फिल्डमा काम गर्दा एक्स्पर्ट भएर काम गर्नुपर्छ। खेलकुदकै क्षेत्रमा हेर्दा पनि खेल पत्रकार हामी धेरै छौँ। तर खेल कमेन्टर खोज्दा हामीलाई गाह्रो परिरहेको छ। साँच्चै भन्ने हो भने नेपालमा कमेन्टेटर भेट्नै गाह्रो छ।

हामीलाई इभेन्ट कभर गर्न गाह्रो भएन तर त्यसको विश्लेषण गर्न गाह्रो छ। हामी ब्रेकिङमा कुद्यौँ गहिराइमा पुग्न अझै सकेका छैनौँ। तर नेपालमा सबै खेल एकै मानिसले गर्नुपर्ने भएकाले गाह्रो पनि छ। र पनि अगाडि बढिरहेका छौँ।

पोस्ट कोभिडको कुरा गर्दा, खेल पत्रकारिता असाध्य गाह्रो बनेको छ। अहिले खेलको मोडालिटी पनि परिवर्तन भएको छ। खेल पनि प्रविधिसँग जोडिन थालेको छ। फिजिकल हो कि इलेक्ट्रिकल खेल हो भन्ने भएको छ।

फिजिकलतर्फ अहिले न इभेन्ट छ, न न्युज छ न हेरिन्छ। तर जस्तो भए पनि पत्रकार जागिरबाट बिमुख भने हुनुभएन। अहिले जसरी मिडिया हाउस बन्द भइरहेको छ यसले पत्रकारलाई गहिरो असर गरेको छ। पछि पनि धेरै पत्रिका, टिभी, अनलाइन मिडिया हाउस बन्द हुने अबस्थामा छन्।

यसले पत्रकारलाई आर्थिक रुपमा असर पार्ने हुन्छ र पत्रकार कुनै कर्पोरेटमा जाने–पार्टीगत रुपमा जाने सम्भावना हुन्छ। यदि त्यसो भयो भने सबैका लागि राम्रो हुँदैन। पत्रकारको इथिक्समा असर पर्छ। यसो भएको हुँदा पत्रकार र मिडिया हाउसले आपसी समन्वय गरेर अघि बढ्दा नै काम राम्रो हुन्छ।

डा. महेन्द्र विष्ट, पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ

मलाई खेल समाचार गज्जबको लाग्छ। खेल साइन्स र यसको समाचार लेखन धेरै मनपर्छ। नेपालमा खेलकुद पत्रकारको टिम बिल्डिङ पनि राम्रो देखिन्छ छ।

अहिले खेलकुद गतिविधि बन्द हुँदा पनि पत्रकारले जसरी खेल समाचार धानेका छन् त्यो प्रशंसनीय पनि छ। मैले देखेको छु, कोरोनाका कारण पत्रकारितामा समस्या छ। यो क्षेत्रमा समस्या त जहिले पनि हुन्छ। यद्यपि पत्रकार कामबाट बिमुख हुने काम राम्रो भइरहेको छैन।

मिडिया हाउसले मान्छे हटाएर ‘रिस्ट्रक्चर’ गर्नु हुँदैन। अहिले नेपालमा १२ अर्बको बिज्ञापन बजार छ। कोरोनाका कारण ४ अर्ब घटेको छ। जसकारण मिडिया संकटमा छन्।

यसले के पाठ सिकाउँछ भने पत्रकारितामा विकल्प हेर्नू पर्छ। हामीले रिसर्च, फेलोसिप जस्ता काममा पनि फोकस हुन जरुरी देखिन्छ। पत्रकारिताको रंगिन क्षेत्र खेल पत्रकारिता ओइलाउनु हुँदैन।

पहिले खेललाई कम प्राथमिकता दिएर अन्तिममा रखिन्थ्यो तर अहिले यसलाई खेल ‘किलर कन्टेन्ट’ भनेर अन्तिममा राखिन्छ। सबैले मनपराउने खालको भएकाले। खानापछि हामी मिठो खानेकुरा खान्छौं नि त्यस्तै।

रमेश विष्ट, महासचिव, पत्रकार महासंघ

सबै मिडिया हाउसले सबै पत्रकारलाई मिलाएर काम गर्नु पर्ने हुन्छ। हाउसको नियत सही हुने हो भने पत्रकारसँग उचित समन्वय हुन सक्छ। तर अहिले एउटै एन्करले बिहानबाट दिनभरी काम गर्ने देखेको छु। जसले गर्दा मिडिया हाउसले मान्छे घटाउने इन्टेन्सन छ भन्ने बुझिन्छ। तर यसमा सरकारको ध्यान पुगेन। हाउसको पनि पुगेन।

कोरोनाको महामारीका कारण सबैले ‘कन्परमाइज’ भने गर्नु पर्छ। तर यसमा सरकारको उदासिनताले हैरान बनाएको छ। सरकारले कामदार र संचारमाध्यामलाई केही गरेको छैन। सरकारले पनि बन्दै होस् भन्ने भावले मिडियालाई हेरको जस्तो भान भएको छ। सरकारले पत्रकार कोभिडविरुद्धको नायक हो भन्ने पनि भुलेको छ। हामीले सरकारसँग वार्ता गर्न सकेका छैनौँ।

००००००

एनएसजेएफका पूर्व अध्यक्ष निरन्जन राजवंशीले कार्यक्रमको स्वागत गरे भने वर्तमान अध्यक्ष दुर्गा सुवेदी (देवेन्द्र) ले समापन गरे। सुवेदीले कार्यक्रममा बोल्दै संगठनका १० जना पत्रकार कोरोनाको महामारीबीच जागिरबाट निकालिएको र संगठनका सदस्यहरुमध्ये केही पत्रकारकाको तलब काटौती भएको भन्दै गम्भीर आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस्