काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ ।
जोन हपकिन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्ममा ४० लाख २४ हजार ९ जनामा संक्रमण पुष्टि भएको छ । २ लाख ७९ हजार ३ सय १३ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या १२ लाख ९ हजार ५ सय ४१ पुगेको छ भने ७८ हजार ७ सय ९४ जनाको मृत्यु भएको छ ।
यस्तै स्पेनमा २ लाख २३ हजार ५ सय ७८ जना कोरोनाबाट संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २६ हजार ४ सय ७८ पुगेको छ । इटालीमा अहिलेसम्म २ लाख १८ हजार २ सय ६८ जना संक्रमित भएका छन् भने ३० हजार ३ सय ९५ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेलायतमा कोरोनाबाट २ लाख १६ हजार ५ सय २५ जना संक्रमित हुँदा ३१ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ ।
तिब्र गतिमा फैलिएको कोरोनाबाट रुसमा १ लाख ९८ हजार ६ सय ७६ पुगेको छ भने १ हजार ८ सय २७ जनाको मृत्यु भएको छ ।
फ्रान्समा संक्रमितको संख्या १ लाख ७६ हजार ७ सय ८२ संक्रमित भएका छन् भने मृतकको संख्या २६ हजार ३ सय १३ पुगेको छ । यस्तै ब्राजिलमा संक्रमितको संख्या १ लाख ५६ हजार ६१ पुगेको छ भने १० हजार ६ सय ५६ जनाको मृत्यु भएको छ ।
कोरोनालाई परास्त गर्न सफलनजिक देखिएको जर्मनीमा १ लाख ७१ हजार ३ सय २४ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ७ हजार ५ सय ४९ रहेको छ ।
छिमेकी मुलुक भारतमा भने कोरोना आक्रामक रुपमा फैलिएको छ । अहिलेसम्म ६२ हजार ८ सय ८ जना संक्रमित भएका छन् भने २ हजार १ सय १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ हजार १ सय १३ जना संक्रमित हुँदा १ सय १६ जनाको मृत्यु भएको छ ।
नेपालमा भने पछिल्लो २४ घण्टामा ८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ११० पुगेको छ ।