भैरहवा- कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको दर बढेको छ। भारतसँग सीमा जोडिएको कपिलवस्तुमा शनिबार तीन जना थपिएपछि संक्रमितको संख्या ५ पुगेको छ।
स्थानीय तहको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। उनले भने, ‘जिल्लामा सबै स्थानीय तह सक्रिय छन्। तर सीमापारि आएर बसेका मुख्य चुनौती बनेका छन्।’
कपिलवस्तुको सीमापारि साढे १३ सय जति नेपाली स्वदेश फर्किने पर्खाइमा छन्। उनीहरु सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको आँखा छलेर विभिन्न नाकाबाट नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन। स्वदेश फर्किनेको संख्या दिनानुदिन बढिरहेको छ।
मर्यादपुर नाकामा २९० जना भिल्मीमा २८६ जना, कृष्णनगरमा २५९ जना, हरदौना २०३, कोटरियामा १७० जना र चाकरचौडा ११६ जना हथिहवामा ४७ र विजयनगरको सीमापारि ३० जना नेपाली स्वदेश फर्किने पर्खाइमा छन्।
सरकारले जो जहाँ छ त्यहीं बस्न दिएको निर्देशन कपिलवस्तुमा लागू हुन सकेको छैन। यसैले चोरबाटो प्रयोग गरेर स्वदेश फर्किनेले नै कोरोना संक्रमण फैलाउने त्रास बढेको छ।
के गर्दै छन् स्थानीय तह?
जिल्लामा १० पालिकाले तयार गरेको एक हजार ३६२ क्वारेन्टिनमा ८ सय ८१ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिए। अहिले सम्म १ हजार ११० जनाको र्यापिड टेस्ट भएको छ।
मायादेवी गाउँपालिका जिल्लाको उच्च जोखिममा छ । सुरुमा ३ वटा क्वारेन्टिन सञ्चालन गरेको उक्त पालिकाले शनिबारदेखि १७ पुर्याउने निर्णय गरेको उपाध्यक्ष गीता तिवारीले बताइन्।
कपिलवस्तुमा संक्रमित पाँचै उक्त पालिकामा रहेको क्वारेन्टिनमा थिए। ६५ जनाको स्वाब परीक्षण गर्दा ५ जना पोजिटिभ देखिएको तिवारीले बताइन्।
पालिकाको दक्षिणी क्षेत्र भारत उत्तर प्रदेशको अलिगढवा पर्दछ। साविकको पकडी, फुलिका, अभिराव, डुमरा, विजुवा, पिपरा, हरनामपुर र बलुहवा मिलेर बनेको मायादेवीमा यतिबेला सुरक्षा सतर्कता उच्च बनाइएको छ। तर सीमापारिबाट घर फर्कने क्रम रोकिएको छैन।
उपाध्यक्ष तिवारीले भनिन्, ‘जति जनामा कोरोना देखियो ती सबै भारतबाट रातविरात भागेर आएका हुन्।’
भारतसँग २८ किलोमिटर सीमा जोडिएको विजयनगर गाउँपालिकामा यतिबेला जंगलको बाटो भएर नेपाल प्रवेश गर्नेहरुलाई रोक्न प्रशासनलाई हम्मे हम्मे परेको छ। गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले शनिबार भने, ‘जंगलबाट हिजो र आज फर्किएका ७७ जनालाई त्रिनेत्र आधारभूत विद्यालयको क्वारेन्टिनमा राखेका छौं।’
गाउँपालिकाले दूधधारी मावि, हरिबोध प्रावि, रामशरण प्रावि , लौटनराम दौप्रदि मावि र त्रिनेत्र आधारभूत विद्यालयमा बनाएको क्वारेन्टिनमा शनिबारसम्म १५७ जना छन्। सीमापारिबाट फर्कने कपिलवस्तु र केही प्युठानका छन्।
भारतमा रोजगारीका लागि जानेआउने मुख्य नाकामध्ये हो कृष्णनगर। उक्त नाकाबाट मान्छे आउने क्रम नरोएिको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए।
नगर प्रमुख शाहले भने, ‘हामी अत्यन्तै तनावमा छौं। जसोतसो गरिरहेका छौं। उताबाट आउनेलाई विद्यालयमा पाल टाँगेर राखेका छौं। शाहले कृष्णनगरपारिको बढ्नीमा चौबिसै घन्टा रेल चलिरहेकाले भारतका विभिन्न ठाउँबाट नेपाली आइरहेको बताए।
जिल्ला सदरमुकाम कपिलवस्तु नगरपालिकामा तीन वटा क्वारेन्टिनमा १ सय २ जना छन्। ती सबै भारतबाट लुकिछिपी आएका हुन्। नगरपालिकाका प्रमुख किरन सिंहका अनुसार तौलिहवास्थित रत्नराज्य मावि, बुद्धपद्म मावि र महेन्द्र प्राविमा बनाइएको क्वारेन्टिनमा राखिएका सबै भारतबाट आएका हुन्।
प्रमुख सिंहले भने, ‘एक सय २ जना त क्वारेन्टिनमा छन्। अरु वडावडामा पनि राखिएको छ। दिनप्रतिदिन भारतबाट मान्छे आइरहेका छन्। व्यवस्थापन गर्न कठिन छ।’
शिवराज नगरपालिकामा बाहिरबाट आएकालाई ३ वटा क्वारेन्टिनमा राखिएको नगर उपप्रमुख शिवकुमारी चौधरीले बताइन्। उनका अनुसार सुन्दरीडाँडा वडा नम्बर ९ को प्रकाश माविमा १०, वडा नम्बर ५ को दुर्गा मन्दिरको धर्मशालामा ७, वडा नम्बर ३ को पुरानो छाला फ्याक्ट्रीमा निर्माणाधीन सुपा देउराली रिसोर्टमा २६ जना छन्।
वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारुका अनुसार सिद्धार्थ क्याम्पसमा पाँच जनालाई राखिएको छ । उनले भने, ‘पहिले वडावडामा राखेका थियौं। अहिले सिद्धार्थ क्याम्पसमा मात्रै राख्न थालेका छौं।’
महाराजगन्ज नगरपालिकामा ७८ जनालाई क्वारेन्टिनमा राखिएको छ। उक्त नगरपालिकामा ११ वटा क्वारेन्टिन बनाएर मानिसहरू राखिएको नगर प्रमुख अब्दुल कलामले बताए। पालिकाको सीमापारि अहिले पनि धेरै नेपाली फर्कन पाउने प्रतीक्षामा छन्।
बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध मावि गोरुसिंगको क्वारेन्टिनमा १७५ जना रहेको नगर प्रमुख केशवकुमार श्रेष्ठले बताए। उनले भने, ‘आज १२५ जनाको स्वाब परीक्षण गर्न पठाइएको छ। सीमावर्ती क्षेत्रबाट मान्छेहरु आइरहेका छन्। सम्हाल्न गाह्रो छ।’
यशोधरा गाउँपालिका अध्यक्ष गिरजेशकुमार पाण्डेले नेपाल भारत सरकारबीच जो जहाँ छ त्यहीं राख्ने सहमति हुँदाहुँदै भारतबाट यत्रो हुल कसरी आइरहेका छन् भन्दै प्रश्न गरे।
उनले भने, ‘हामीलाई धेरै दबाब भएको छ। स्थानीय प्रशासनले एकजना पनि आउन नदिनू भन्छ। प्रहरी प्रशासन खटिएकै छ तर मान्छेहरु कसरी आइरहेका छन्?’
अध्यक्ष पाण्डेले यशोधरा गाउँपालिकामा सुठौली भन्सार नजिकै पशुपति शिक्षा मन्दिरमा, अनिरुद्ध सामुदायिक विद्यालय र वासुदेव जनता माविमा क्वारेन्टिन बनाएर राखिएको बताए। उनले मान्छे आउने क्रम नरोकिएको बताए।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमदका अनुसार भारतमा रेल चल्न थालेपछि सीमावर्ती क्षेत्रमा समस्या बढेको छ। उनले भने,
‘हिजोदेखि धेरै चाप बढेको छ। पहिले ९० जना थिए। भारतमा रेल चल्न थालेपछि मान्छे बढ्न थालेका छन्।’
उक्त पालिकाको पुड्केश मावि वगदी, अनुराग प्रावि ठूलो नन्दनगर, मदारगढ मावि, असुरैनाको प्रावि, रामउजागिर प्रावि, दोहनीमा रहेको सञ्जय ईश्वरचन्द्र निमावि र कर्मा प्राविमा क्वारेन्टिन बनाइएको छ। ‘मान्छे आउने क्रम बढेको बढ्यै छ । कोरोना झनै फैलिने सम्भावना छ’, अध्यक्ष अहमदले भने।
जिल्लाको उत्तरी क्षेत्रमा भने समस्या खासै नरहेको सम्बन्धित पालिकाका प्रमुखहरुले बताएका छन्।