काठमाडौं- आज (बिहीबार) बेलुका कपिलवस्तुमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा संक्रमण पाइएको हो। योसँग कोरोना भाइरसबाट संक्रमितको संख्या नेपालमा १०१ पुगेको छ।
उनीहरुको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो। दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ।
कपिलवस्तुमा कोरोना संक्रमित भेटिएको पहिलो पटक हो। यसअघि छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण भेटिएको थियो।
नेपालमा कोरोना संक्रमितमध्ये १९ जना निको भएर घर फर्किसकेका छन्।