काठमाडौं - नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकारले गरिरहेको कोरोना परीक्षणको गतिप्रति असन्तुष्टि जनाएका छन्। अहिलेकै गतिमा कोरोना परीक्षण गरिए ३ करोड जनताको परीक्षण गर्न करिब २ सय ५० वर्ष समय लाग्ने नेता महरले बताए।
कोरोना नियन्त्रण तथा रोकथामका लागि अर्थ मन्त्रालयले स्वास्थ्यलाई ४ अर्ब छुट्टयाएको र कोरोना उपचार कोषमा लगभग साढे दुई अर्ब रकम जम्मा रहेको अवस्थामा सरकारले द्रूत गतिमा काम गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। यस्तो अवस्थामा सरकारी स्रोत, साधन र क्षमताको प्रभावकारीता सिथिल हुन नहुने नेता महरको ठहर छ।
विदेशी भूमिमा अलपत्र रहेका नागरिकलाई नेपाल फर्काउने त कता हो कता, सरकारसँग तथ्यांकसमेत अध्यावधिक नरहेको आरोप लगाउँदै यसतर्फ सरकारले बेलैमा सोचेको भए अहिको स्थिति नआउने महरले बताए। उनले विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले देश धानीरहेको अवस्थामा उनीहरूप्रति सरकार गम्भीर नबन्नु लज्जाको विषय भएको बताए। उनले अहिलेसम्म कोरोनामा खर्च भएको रकम र शीर्षकको बारेमा जनतालाई चाडो जानकारी गराउन पनि माग गरे।
उनले यस्तो अवस्थामा कसरी चाडो परीक्षण होला भन्दै एउटा तथ्यांकसमेत सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्। यस्तो छ नेता महरको मूल्यांकन
लकडाउन गरिएको जम्मा दिन – ४३
हालसम्म भएको पीसीआर परीक्षण – १४,०९६
औसत १ दिनमा भएको पीसीआर परीक्षण – १४,०९६/४३ – ३२७.८१
नेपालको कुल जनसंख्या – ३,००,००,०००
सबै नेपालीको परीक्षण गर्न लाग्ने अवधी – (३,००,००,०००/३२७.८१) – ९१,५१६ दिन
९१,५१६ दिन – २५० वर्ष
आगामी व्यवस्थापिका संसदको निर्वाचनमा बाँकी दिन (लगभग) – ९३९