राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमकाे विमान २८१ विदेशी नागरिक बोकेर अस्ट्रेलिया उडेको छ। लकडाउनका कारण नेपालमा रोकिएका १७ बालबालिकासहित २८१ अस्ट्रेलियन नागरिक बोकेर निगमको वाइड बडी जहाज सिड्नीका लागि उडान भरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
अस्ट्रेलियाले निगमको वाइड बडी जहाज चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश फिर्ता लगेको हो। नेपालस्थित अस्ट्रेलियन दूतावासले चार्टर्ड गरेको यो जहाजमा अस्ट्रेलियन र केही न्युजिल्यान्डका नागरिक रहेको जनाइएको छ। काठमाडौँ विमानस्थलबाट दिउँसो सिड्नी उडेको वाइड बडी जहाजले मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै साढे १२ घण्टाको उडान तय गरी गन्तव्यमा पुग्नेछ। निगमको वाइड बडी जहाज बिहीबार साँझ काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ।
निगमको अस्ट्रेलियामा चार्टर्ड उडान दोस्रो हो। यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडन गरेको थियो। मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको उक्त उडान करिब १३ घण्टाको थियो। निगमको अर्को वाइड बडी जहाजले आजै चीनको राजधानी बेइजिङमा कार्गो उडान गर्दै छ। साँझ ५ः३० बजे बेइजिङ उड्ने जहाज बिहीबार काठमाडौँ फर्कने तालिका छ।-रासस